२३ बैशाख, २०८१ आइतबार

03:24:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खजुरामा ५३ विद्यालय भवन निर्माण

Nepal Business

१२ जेठ, २०७९

गाउँपालिकाले संघ र प्रदेशको समेत सहयोग लिएर भवन बनाएको

खजुरामा ५३ विद्यालय भवन निर्माण

राँझा । बाँकेको खजुरा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन भौतिक पूर्वाधारमा जोड दिएको छ । गाउँपालिकामा जनप्रतिनिधि आएपछि शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएका कारण विद्यालयका संरचना तयार भएको गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो । 

उहाँका अनुसार बितेको पाँच वर्षमा खजुरा गाउँपालिकामा ५३ विद्यालय भवन बनेका छन् । गाउँपालिकाले संघ र प्रदेशको समेत सहयोग लिएर भवन बनाएको हो । 

भौतिक पूर्वाधारको क्षेत्रमा आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्म आइपुग्दा करिब १२० कक्षाकोठा, नमूना विद्यालयको नियमित कार्यक्रम र सङ्घीय सशर्त अनुदानका दुईकोठ र चारकोठे भवन, प्रदेश सरकार, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, गाउँपालिकास्तरबाट र विद्यालयको आन्तरिक स्रोत परिचालन गरेर भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय सुधार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताउनुभयो ।

‘जहाँ विद्यार्थी, त्यही शिक्षक’ अभियान चलाएको खजुराले विद्यार्थी र शिक्षकको अनुपात मिलाएको छ । खजुराले ४० विद्यार्थी बराबर एक शिक्षकको मापदण्ड बनाएको छ ।

संघीय हिसाबमा ५० विद्यार्थी बराबर एक शिक्षक पर्छ । पञ्चवर्षीय योजना बनाएको पालिकाले करार शिक्षक नियुक्ति गरेर विद्यालयमा पठाएको छ । एक शिक्षक बराबर ४० भन्दा बढी विद्यार्थी रहेको विद्यालयमा पालिकाले करारमा शिक्षक पठाएको केसीको भनाइ छ ।

स्थानीय सरकार आएपछि  विद्यालयको सुक्ष्म व्यवस्थापनमा सहयोग गरेको छ । खानेपानी, शौचालय, खेलमैदान,  विद्यालय भवन मर्मतसम्भार लगायत कार्यक्रममा सहयोग गरेको छ ।

खजुरामा निःशुल्क तथा अनिवार्य शिक्षा आधारभूत तहसम्म लागू गर्नका लागि पालिकास्तरबाटै वार्षिकरूपमा झण्डै रु ३८ लाख  विद्यालयमा निकासा गरेपछि आधारभूत तहसम्म  विद्यालय पूर्णरूपमा निःशुल्क भएका छन् । गाउँपालिकाले भवनसँगै शौचालय निर्माणदेखि आइटी ल्याब, शैक्षिक गुणस्तरीय कार्यक्रमअन्तर्गत विभिन्न सहयोग गरेको छ ।

सामुदायिक  विद्यालय ३०, मदरसा १७ र निजी  विद्यालय १८ गरी खजुरामा ६५   विद्यालय छन् । गाउँपालिकामा २१ हजारभन्दा बढी  विद्यालय अध्ययनरत छन् । विद्यार्थीको  संख्या अनुसार भवन थप्ने, शिक्षक मिलाउने काम भइरहेको मल्लले बताउनुभयो ।

रासस