८ मंसिर, २०८१ शनिबार

04:56:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मतदान अवधि सकियो : छिटपुट घटनाबाहेक चुनाव शान्तिपूर्ण

Nepal Business

३० बैशाख, २०७९

समग्रमा हेर्दा धेरै स्थानमा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएपनि केही स्थानमा विवाद भएको छ ।

मतदान अवधि सकियो : छिटपुट घटनाबाहेक चुनाव शान्तिपूर्ण

काठमाडौं । देशका विभिन्न स्थानमा झडप र हवाई फायर हुनुका बाबजुद स्थानीय निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

गठबन्धन र एमाले तथा गठबन्धनबीचकै दलहरूबिच विवाद हुँदा ठाउँ-ठाउँमा असहज स्थिति देखिएको थियो । तर मानवीय क्षतिसम्मको अवस्था आएन ।

सुदूरपश्चिमका बझाङ र बाजुराका चार मतदान केन्द्रमा प्रहरीले १० राउन्ड हवाई फायर गरेको छ । बाजुराको बुढीनन्दा गाउँपालिकाका दुई वटा मतदान स्थलमा ५ राउन्ड हवाई फायर भएको छ ।

विवादपछि मतदान स्थलमा मतदान रोकिएको छ । यसै गरी बुढीगंगा गाउँपालिकाको एउटा मतदान स्थलमा दुई राउन्ड हवाई फायर भएको थियो । 

बझाङको जयपृथ्वी नगरपालिकाको सुगाड मतदान केन्द्रमा पनि ३ राउन्ड हवाई फायर भएको छ।

कर्णाली प्रदेशका चार जिल्लाका ५ मतदान केन्द्रमा मतदान रोकिएको थियो । कालिकोटको रास्कोट गाउँपालिका, जुम्लाको गुटिचौर गाउँपालिका, हुम्लाको चंखेनी गाउँपालिका र खार्पुनाथ गाउँपालिका तथा सुर्खेतको सिम्टा गाउँपालिकाका एक एक मतदान केन्द्रमा विवादपछि मतदान रोकिएको थियो ।

बागमती प्रदेशअन्तर्गत काभ्रे, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा मतपेटिका तोडफोड भयो । रामेछापका विभिन्न मतदान केन्द्रमा प्रहरीले १५ राउन्ड हवाई फायर गरेको थियो । धनकुटाको सहिद भूमि गाउँपालिका ६, खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ मा विवादका कारण मतदान रोकियो । 

सर्लाहीको धनकौल नगरपालिका(२ स्थित मतदान केन्द्रमा मतदान रोकिएको थियो । महोत्तरीको बलुवा ५ मा पनि प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ ।  

समग्रमा हेर्दा धेरै स्थानमा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएपनि केही स्थानमा विवाद भएको छ । कतिपय स्थानमा झडपको अवस्था समेत आयो । कतिपय स्थानमा मतदान पुन सुचारु भएको छ भने कतिपय स्थानमा मतदानको अर्को मिति समेत तोकिएको छ ।