७ मंसिर, २०८१ शुक्रबार

11:14:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

३ अर्ब ५० करोडको लगानीमा कागज उद्योग

१४ पुस, २०७८

देशमा भएको एउटै कागज उद्योग भृकुटी कागज कारखाना बन्द गरिएपछि देश पुरै परनिर्भर बनेको उल्लेख गर्दै भण्डारीले यो उद्योग नेपालका लागि गौरवको उद्योग हुने बताउनुभयो ।

३ अर्ब ५० करोडको लगानीमा कागज उद्योग


काठमाण्डौं, पुस १४


पश्चिम नेपालको नेपालगञ्ज बाँकेमा पहिलो पटक ३ अर्ब ५० करोडको लगानीमा अत्याधुनिक कागज उद्योग निर्माणको प्रक्रिया सुरु गरिएको छ । एक्सिलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले बाँकेको राप्ती सोनारी गाउँपालिका–२ महेन्द्रपुरमा उद्योग निर्माण गर्न विभिन्न कार्य सुरु गरेको जनाएको छ ।

एक्सिलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्ष ज्योतिलाल भण्डारीले दुई वर्षभित्र उद्योग सञ्चालन गर्नेगरी निर्माण प्रक्रिया सुरु गरिएको बताउनुभयो । उहाँले उद्योगका लागि २२ बिघा जग्गा खरिद गरेर डीपीआरका लागि कन्सल्टेन्टसमेत नियुक्त गरिसकेको जनाउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका–१८ मा रजिष्टर्ड कार्यालय स्थापना गरेर कम्पनीले उद्योग निर्माणको प्रक्रियालाई तीव्र पारेको जानकारी गराउँदै अध्यक्ष भण्डारीले कागज उद्योग हाल भारतीय कच्चा पदार्थमा निर्भर रहेकाले यो उद्योगले आफैँ कच्चा पदार्थसमेत उत्पादन गर्ने बताउनुभयो ।

उहाँले फोटोकपी पेपर, म्याफ्लिथो पेपरलगायत सबैखालका गुणस्तरीय कागज उत्पादन गरी कागज र कच्चा पदार्थ दुवैको आयातलाई रोक्ने लक्ष्य रहेको बताउनुभयो । देशमा भएको एउटै कागज उद्योग भृकुटी कागज कारखाना बन्द गरिएपछि देश पुरै परनिर्भर बनेको उल्लेख गर्दै भण्डारीले यो उद्योग नेपालका लागि गौरवको उद्योग हुने बताउनुभयो ।

सो उद्योगमा पहिलो चरणमा रिसाइकल प्लान्ट जडान गरिने भएको छ । ५२ करोड प्रारम्भिक लगानीका लागि पहिलो पटकको सेयर निष्कासनसमेत भइसकेको जानकारी दिँदै अध्यक्ष भण्डारीले दैनिक ५० टनको कटन मिक्स वेस्ट पेपरबाट रिसाइकल प्लान्ट स्थापना गरिने बताउनुभयो ।