२१ बैशाख, २०८१ शुक्रबार

11:44:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र बैंकको नियन्त्रण नीति प्रभावकारी, आयातमा ५.५७ प्रतिशतको कमी

६ बैशाख, २०७९

चालु आर्थिक वर्षको चैतमा गत वर्ष भन्दा ५.५७ प्रतिशतले आयात घटेकोमा निर्यातसमेत ८.२९ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकको नियन्त्रण नीति प्रभावकारी, आयातमा ५.५७ प्रतिशतको कमी

काठमाण्डौं । पछिल्लो समय मुलुकमा आयात तिब्र रुपले बढ्दा विदेशी सञ्चिती क्रमशः घट्दै गइरहेको छ । यसरी बढिरहेको आयातलाई कमी गराउन केन्द्रीय बैंकले नियन्त्रण नीति अवलम्बन गरिरहँदा आयातमा केही कमी आउन पुगेको हो ।

चालु आर्थिक वर्षको ९ महिनामा मुलुकमा १४ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म ११ खर्ब ११ अर्ब रुपैयाँको आयात भएको थियो । चालु आर्थिक वर्षको चैतसम्ममा गत वर्ष भन्दा ३२ प्रतिशतले आयात बढेको छ । फागुनसम्ममा आयात ३८ प्रतिशतले बढेको थियो ।

 पुष ५ गते लिएको नीतिले अपेक्षा अनुसार आयात नरोकिएपछि माघ २४ गते राष्ट्र बैंकले थप २७ बस्तु आयात गर्दा नगद मार्जिन राख्नु पर्ने नीति लिएको थियो ।

भन्सार विभागका अनुसार साउनदेखि उच्चदरमा बढिरहेको आयात रोक्न नेपाल राष्ट्र बैंकले कडाइ गरेपछि चैतमा गत वर्षभन्दा ५.५७ प्रतिशतले आयात घटेको हो । गत वर्ष चैत महिनामा १ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको आयात भएकोमा यो वर्ष भने १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।

उच्च दरमा आयात बढ्दा विदेशी मुद्राको सञ्चितिमा गिरावट आएपछि राष्ट्र बैंकले पुष ५ गते २० वस्तु आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नु पर्ने नीति लिएको थियो । पुष ५ गते लिएको नीतिले अपेक्षा अनुसार आयात नरोकिएपछि माघ २४ गते राष्ट्र बैंकले थप २७ बस्तु आयात गर्दा नगद मार्जिन राख्नु पर्ने नीति लिएको थियो ।

दुई पटक नगद मार्जिन राख्ने नीतिले समेत अपेक्षाअनुसार आयात नघटेपछि राष्ट्र बैंकले चैत २१ गते बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिँदै विलाशी बस्तुको आयातका लागि एलसी नै नखोल्न निर्देशन नै दिएको थियो ।

एलसी रोक्ने निर्णयको प्रभाव कै कारण आयातमा कमी आएको छ । आगामी केहीमहिना भित्र यसको प्रभाव देख्न सकिन्छ । चालु आर्थिक वर्षको चैतमा गत वर्ष भन्दा ५.५७ प्रतिशतले आयात घटेकोमा निर्यातसमेत ८.२९ प्रतिशतले घटेको छ । 

गत आर्थिक वर्षको चैतसम्ममा १३ अर्ब ९८ करोड रुपैयाँ बराबरको निर्यात भएकोमा यस वर्ष निर्यात १२ अर्ब ८२ करोड रुपैयाँमा सिमित भयो । चालु आर्थिक वर्षको साउनदेखि निर्यात उच्चदरमा बढेको थियो । यस वर्षको चैत मसान्तसम्म अघिल्लो वर्षको भन्दा ७० प्रतिशतले निर्यात बढेको छ ।

कोरोना महामारीबाट थलापरेको अर्थतन्त्र त्यसमा पनि उच्च आयातले रित्तिदै गएको विदेशी सञ्चितीका कारण राष्ट्र बैंक नियन्त्रणमा सक्रिय बनेको थियो । जसका कारण चैत्रको मसान्तसम्म ५ प्रतिशतभन्दा बढिले आयात नियन्त्रण गर्न बैंक सफल भएको हो ।