२२ बैशाख, २०८१ शनिबार

05:58:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स घट्यो

Nepal Business

२९ चैत, २०७८

अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स घट्यो

काठमाण्डौं । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १.७ प्रतिशत र अमेरिकी डलरमा ३.० प्रतिशतले घटेको छ ।

मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ तथ्यांक अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १.७ प्रतिशतले कमी आई ६३१ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.० प्रतिशतले कमी आई ५ अर्ब २८ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.० प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख २७ हजार ९ सय पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो ।

यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४०.९ प्रतिशतले वृद्धि भई १ लाख ७८ हजार २ सय ६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा खुद ट्रान्सफर २.० प्रतिशतले कमी आई ७०४ अर्ब ३३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.२ प्रतिशतले बढेको थियो ।