२१ बैशाख, २०८१ शुक्रबार

07:53:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

म्यान्मारमा यातनापछि सामूहिक हत्या भएको खुलासा : बीबीसी अनुसन्धान

५ पुस, २०७८

नेत्री आङ सान सू ची नेतृत्वको जननिर्वाचित सरकारलाई गत फेब्रुअरीमा हटाएर सत्ता हातमा लिएयता म्यान्मारको सेनाले नागरिक स्तरबाट प्रतिरोधको सामना गर्दै आएको छ। बीबीसीले ११ जना प्रत्यक्षदर्शीसँग कुरा गरी उनीहरूले भनेका कुरालाई म्यान्मारमा मानव अधिकार उल्लङ्घनबारे अनुसन्धान गर्दै आएको यूकेस्थित एउटा गैरसरकारी संस्थाले सङ्कलन गरेका मोबाइल फोन फुटेज एवं तस्बिरसँग तुलना गर्‍यो।

म्यान्मारमा यातनापछि सामूहिक हत्या भएको खुलासा : बीबीसी अनुसन्धान

५ पुस । म्यान्मारको सेनाले गत जुलाई महिनामा गरेका शृङ्खलाबद्ध सामूहिक हत्याका घटनामा कम्तीमा ४० जनाको ज्यान गएको बीबीसीको अनुसन्धानले देखाएको छ। सबै मृतक पुरुष हुन्।

उनीहरूलाई अलग पारी हत्या गर्नुअघि १७ वर्ष उमेरसहितका सैनिक जवानहरूले गाउँलेलाई घेरा हालेको प्रत्यक्षदर्शी तथा बाँच्न सफल व्यक्तिहरूले बताएका छन्।

हत्या गरिएकामध्ये अधिकांश व्यक्तिलाई पहिला यातना दिइएको र चिहानमा गाडिएको भिडिओ तथा तस्बिरमा देखिन्छ।

मध्य म्यान्मारमा पर्ने विपक्षीहरूको बलियो पकड भएको सगाइन जिल्लाको कानी नगरमा गत जुलाईमा चारवटा छुट्टाछुट्टै घटना भएका थिए।

नेत्री आङ सान सू ची नेतृत्वको जननिर्वाचित सरकारलाई गत फेब्रुअरीमा हटाएर सत्ता हातमा लिएयता म्यान्मारको सेनाले नागरिक स्तरबाट प्रतिरोधको सामना गर्दै आएको छ।
बीबीसीले ११ जना प्रत्यक्षदर्शीसँग कुरा गरी उनीहरूले भनेका कुरालाई म्यान्मारमा मानव अधिकार उल्लङ्घनबारे अनुसन्धान गर्दै आएको यूकेस्थित एउटा गैरसरकारी संस्थाले सङ्कलन गरेका मोबाइल फोन फुटेज एवं तस्बिरसँग तुलना गर्‍यो।

यीन नाम गरेको गाउँमा हत्याको ठूलो घटना भएको पत्ता लागेको छ जहाँ कम्तीमा १४ जनालाई मृत्यु हुनेगरी कुटपिट गरिएको र पछि उनीहरूका शव जङ्गल भएको क्षेत्रमा एउटा खोल्सोमा फालिएको थियो।

सुरक्षाका कारण हामीले नाम नखुलाएका यीन गाउँका प्रत्यक्षदर्शीहरूले पुरुषहरूलाई डोरीले बाँधेर हत्या गर्नुअघि कुटपिट गरिएको बीबीसीलाई बताएका छन्।

त्यो हेर्नका निम्ति हामी उभिरहने अवस्था थिएन। अतः टाउको निहुराएर हामी रोइरह्यौँ, घटनामा आफ्ना भाइ, भान्जा र देवर गुमाएकी एक महिलाले भनिन्।

त्यसो नगर्न हामीले हारगुहार गर्‍यौँ। उनीहरूले वास्ता गरेनन्। बरू उनीहरूले महिलाहरूलाई सोधे के यसमा तिमीहरूका श्रीमान् पनि छन् भने भने पछि अन्तिम संस्कार गर ।

फुत्कन सफल एक पुरुषले हत्या गरिएकाहरूलाई सैनिकहरूले चरम यातना दिएको बताए।

उनीहरूलाई बाँधिएको थियो, ढुङ्गाले र बन्दुकको कुन्दा हानिएको अनि दिनभरि यातना दिइएको थियो,बाँच्न सफल व्यक्तिले भने।

केही सैनिकहरू कम उमेरका सम्भवतः १७ वा १८ वर्षका देखिन्थे भने केही बूढा थिए। उनीहरूसँगै एक महिला पनि थिइन्।

जुलाई महिनाको अन्त्यतिर जी बिन द्विन गाउँनजिकै १२ वटा शव सामूहिक रूपमा गाडिएको पाइएको थियो।

त्यसमा सम्भवतः एक बालक र अपाङ्गता भएका एक व्यक्तिको पनि शव थियो। केही शवमा चोटपटक लागेको थियो।

साठी वर्षजति उमेर भएका एक पुरुषको शव आलुबखडाको रूखमा बाँधिएको पाइएको थियो। उनको शवको फुटेजको बीबीसीले समीक्षा गर्दा यातना दिइएको स्पष्ट सङ्केत पाइएको छ।

प्रजातन्त्रको पुनर्बहालीको माग गर्दै सेनामाथि आक्रमण गरेका नागरिक मिलिशिया समूहहरूलाई सामूहिक रूपमा दण्डित गर्ने उद्देश्यले ती हत्या गरिएको देखिएको छ। 

हत्या गरिएका व्यक्तिका परिवारले उनीहरू सेनामाथि आक्रमणका घटनामा संलग्न नरहेको बताएका छन्।

सेनाले सत्ता आफ्नो हातमा लिएयता विदेशी पत्रकारहरू रिपोर्टिङ गर्न दिइएको छैन भने अधिकांश निजी सञ्चारमाध्यम बन्द भएका छन् जसका कारण स्थलगत रिपोर्टिङ असम्भवप्रायः भएको छ।

यो समाचारमा उठेका आरोपबारे बीबीसीले म्यान्मारका सञ्चार उपमन्त्री र सेनाका प्रवक्ता जव मिन तुनसमक्ष राखेको थियो।

सेनाले सामूहिक हत्याहरू गरेको कुरा उनले अस्वीकार गरेनन्। त्यो हुनसक्छ,उनले भने। जब उनीहरूले हामीसँग शत्रुको व्यवहार गर्छन् तब आत्मरक्षा गर्नु हाम्रो अधिकार नै हुन्छ।

म्यान्मारको सेनाले मानव अधिकार उल्लङ्घन गरेका आरोपबारे अहिले संयुक्त राष्ट्रसङ्घले अनुसन्धान गरिरहेको छ।