२० बैशाख, २०८१ बिहिबार

03:44:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा चुहाउने गरेको अर्थमन्त्री शर्माको आरोप

२५ चैत, २०७८

सरकारले धेरै छुट दिएकाले विलाशिताका सामानको आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको

राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा चुहाउने गरेको अर्थमन्त्री शर्माको आरोप

काठमाण्डौं–अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा चुहाउने गरेको आरोप लगाउनुभएको छ ।

अछामका पृथ्वीबहादुर शाहको खातामा अमेरिकाबाट आएको ४० करोड रकम प्रकरणलाई संकेत गर्दै अर्थमन्त्री शर्माले राष्ट्र बैंकमा बदमासी भइरहेको बताउनुभएको हो । 

शुक्रबार राष्ट्र बैंकले आयोजना गरेको ‘नेशनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषयक कार्यक्रममा बोल्दै मन्त्री शर्माले अछामका शाहका खातामा आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले ३० हजार डलर माग गरेको सूचना आफूले पाएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘कुनै नागरिकले समस्या परेर निवेदन दियो के रहेछ हेरिदिनुस् भन्दा मिडिया खोजेर गोप्य कुराहरु किन पु¥याइन्छ ? रपोर्ट गर्नुपर्ने सूचना रिपोर्ट नहुने तर गोप्य कुराहरु मिडियामा दिने काम हुन्छ ।’

यस्तै अर्थमन्त्री शर्माले पछिल्लो १५ दिनमा बैंकहरुमा एलसी कतिले खोले त्यसको एकिन रेकर्ड दिन माग गर्नुभएको छ । 

यसैगरी अर्थमन्त्री शर्माले नेपाल र श्रीलंकाबीच तुलना हुन नसक्ने बताउनुभयो । श्रीलंका र नेपालको ऋणको, उत्पादन क्षेत्र, विदेशी लगानी र ऋण सहायताको कुरालाई हेर्दा समेत तुलना हुने कुरा नभएको उहाँको भनाइ छ। 

अहिले केही मानिसहरुले नेपाललाई श्रीलंका बनाउन खोजे पनि आफूले उनीहरुको सपना पूरा हुन नदिने उहाँले बताउनुभयो । सरकारले धेरै छुट दिएकाले विलाशिताका सामानको आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको उहाँले बताउनुभयो ।

यसैगरी अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंका जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताउनुभयो । 

‘अहिलेको अर्थतन्त्रमा समस्या आउला की भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ । किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ’ उहाँले भन्नुभयो, ‘कतिपयलाई भने नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, तिनको सपना पुरा हुँदैन ।’

नेपाल र श्रीलंकाबीच तुलनै नहुने भएकाले अर्थतन्त्र श्रीलंका जस्तो नहुने उहाँको भनाई थियो । ‘हाम्रो ऋण र उत्पादनको अवस्था, विदेशी लगानी, ऋण सहायता लगाायतका तथ्यांक हे¥यौं भने श्रीलंकासँग तुलना नै हुन सक्दैन । तुलना हुनै नसक्ने बिषयलाई लिएर एकथरीले जनतालाई जुन हिसाबले आतंकित बनाउने काम गरिरहेका छन् । त्यसको तपाई हामी सबै मिलेर खण्डन गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

श्रीलंकासँग तुलना गर्दै नेपालको अर्थतन्त्र पनि धरासयी हुन्छ भन्दै बहस गर्नेहरुलाई सकारात्मक भई दबाबमा रहेको नेपालको अर्थतन्त्र सुधारका विषयमा चिन्तन गर्न उहाँले अपिल गर्नुभएको छ ।

‘हाम्रा प्राथमिकता, लिनुपर्ने नीति, आवश्यकता लगायतका विषयमा बहस गरेर दबाबमा रहेको हाम्रो अर्थतन्त्रलाई माथी उठाउनका लागि बहस गरौं’ उहाँले भन्नुभयो ।

क्रिप्टोकरेन्सी, हाइपर फण्ड लगाायतका कारण नेपालबाट ‘क्यापिटल फ्लाई’ भइरहेको सूचना आफूले ५ महिनाअघि नै थाहा पाएर राष्ट्र बैंकलाई जानकारी गराएको पनि उहाँले बताउनुभयो । तर, यो समस्या समाधान गर्न उचित कदम चाल्न नसक्दा अहिले अवैद्य रुपमा पैसा बाहिरिन थालेको उहाँको भनाई थियो ।

‘प्रविधिको विकासबाट आउने चुनौतीबाट त्रसित हुने होइन । यसको दुरुपयोग हुन नदिने गरी हामीले कदम चाल्नुपर्नेमा ध्यान दिनुपर्छ’ उहाँले भन्नुभयो ।

अर्थतन्त्र यतिबेला दबाबमा रहेको बताउँदै उहाँले सबै क्षेत्रबाट सहयोग लिएर सुधार गर्नुपर्ने खाँचो रहेको बताउनुभयो । काम गर्ने परम्परागत शैली लाई परिवर्तन गरेर मात्रै अर्थतन्त्रमा सुधार ल्याउनसक्ने उहाँको भनाई थियो ।

मुलुक भित्र भएका स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने, मुलुक भित्रै उत्पादनजन्य गतिविधि तथा ठूला पूर्वाधारको निर्माण थालेर रोजगारी सृजना गर्नुपर्ने र निर्यात वृद्धिको पहल गर्नुपर्ने चुनौती रहेको बताउनुभयो ।

वैैदेशिक रोजगारीमा जाने नेपालीबाट रेमिट्यान्स प्राप्त गरेपछि उनीहरुलाई पनि विभिन्न सहुलियत दिनुपर्ने बिषयमा सरकारले आवश्यक गृहकार्य अघि बढाएको उहाँले जानकारी दिनुभएको थियो । कोभीड १९ का कारण सुस्ताएको पर्यटन क्षेत्रलाई वृद्धि गर्न सरकारले विशेष पहल थालेको उहाँको भनाई छ ।