८ मंसिर, २०८१ शनिबार
03:47:20 PM
२३ चैत, २०७८
राष्ट्र बैंकको सुझाव अनुसार पेट्रोलियमको पदार्थको आपूर्ति कम गर्ने निर्णय कार्यान्वयन भएमा हालको पेट्रोलियम आयातमा आधा भन्दा बढी कटौती हुनेछ ।
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थको आयात आधा भन्दा बढीले घटाउन सरकारलाई सुझाव दिएको छ । अर्थतन्त्रको वर्तमान अवस्थाबारे १६ चैतमा अर्थमन्त्रालयमा लिखित सुझाव राष्ट्र बैंकले पठाएको थियो।
अर्थमन्त्रीलाई लेखिएको सुझाव पत्रको ४ नम्बर बुँदामा राष्ट्र बैंकले मासिक १२ देखि १३ अर्ब रुपैयाँ बराबर मात्रै भुक्तानी हुने गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन मिलाउनु पर्ने उल्लेख छ ।
राष्ट्र बैंकको सुझाव अनुसार पेट्रोलियमको पदार्थको आपूर्ति कम गर्ने निर्णय कार्यान्वयन भएमा हालको पेट्रोलियम आयातमा आधा भन्दा बढी कटौती हुनेछ । जसले पेट्रोलियमको चरम अभाव पैदा गर्न सक्ने निगमका अधिकारीहरु बताउँछन् ।
नेपाल आयल निगमका अनुसार पछिल्लो महिनाहरुमा पेट्रोलियम पदार्थ खरिद गरेबापत अहिले भारतीय आयल निगमलाई मासिक कम्तीमा २४ देखि २९ अर्ब रुपैयाँसम्म रकम भुक्तानी गर्दै आएको छ ।
निगमका नायब उपकार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार गत मार्च महिनामा निगमले २९ अर्ब रुपैयाँको पेट्रोलियम खरिद गरेको थियो । यसैगरी अघिल्लो फेब्रुअरी महिनामा २७ अर्बको तेल किनिएको थियो ।
निगमले हिजोआज औसत २ लाख ७८ हजार किलोलिटर पेट्रोलियम खरिद गर्ने गरेको छ । गत साउनसम्म मासिक औसत १४ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम खरिद हुने गरेकोमा परिमाण उही भए पनि मूल्य बढ्दा निगमको दायित्व थपिएको साहले बताउनु भयो।