१७ बैशाख, २०८१ सोमबार

12:51:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यूनिग्लोव कलेजको ‘नवौँ अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन’ सुरु

२३ चैत, २०७८

यूनिग्लोव कलेजको ‘नवौँ अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन’ सुरु

काठमाण्डौं–यूनिग्लोव कलेजको आयोजनामा ‘नवौँ अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन–२०२२’ सुरु भएको छ । व्यवसायमा दिगो र नवप्रवर्तन ‘इनोभेशन एण्ड सस्टेनेबिलिटी इन बिजनेश’ भन्ने मुल नाराका साथ बुधबार सम्मेलन सुरु भएको हो । 

सम्मेलनको उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्रेम नारायण अर्यालले गर्नुभयो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै अनुसन्धान तथा खोजमूलक अध्ययनमा यस्ता कार्यक्रम निकै फलदायी हुने बताउनुभयो । 

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुमा रिसर्च म्यानेजमेन्ट सेलको स्थापना गरेकोमा युनिग्लोबमा स्थापित उक्त सेलले निकै सक्रिय ढंगले काम गरेको पनि उहाँले बताउनुभयो । 

यस्तै कलेजका शैक्षिक निर्देशक राधेश्याम प्रधानले अन्तर्राष्ट्रिय क्षेत्रसम्म शैक्षिक सम्बन्ध विकास गर्न र खोजमूलक अनुसन्धानप्रति विद्यार्थीको रुची बढाउने उद्देश्यले सम्मेलन आयोजना गरेको बताउनुभयो । 

सम्मेलनको पहिलो दिन कलेजमा बीबीए, बीबीए–बीआई, एमबीए र एमबीए (फाइनान्स) मा अध्ययनरत विद्यार्थीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै प्लेनरी सेसनमा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, राष्ट्रिय योजना आयोगका सदस्य राम फुयाँल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक गोविन्द नेपाल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाको उपस्थिति थियो । 

विशिष्ट वक्ताहरुमा पूर्व राजदुत डा.विश्वम्भर प्याकुरेल, कुटनितिज्ञ डा.खड्ग के.सी., अर्थविद् डा.गोविन्द नेपाल, वरिष्ठ उद्यमी भवानी राणा, कुटनीतिक मामीलाका जानकार डा.मनिष थापा, राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाँल लगायतको सहभागिता रहेको छ । 

यस्तै अन्तराष्ट्रियस्तरबाट बंगलादेश, क्यानडा, फ्रान्स, भारत, जापान, मलेसिया, साउथ अफ्रिका, श्रीलंका, थाइल्याण्ड, युके र अमेरिकाका वक्ताहरुको पनि सहभागिता रहेको छ । 

दुई दिन हुने सम्मेलनमा मानव संसाधन व्यवस्थापनमा समस्या र चुनौतीहरू, मार्केटिङ व्यवस्थापन मुद्दा र चुनौतीहरू, व्यवस्थापकीय मुद्दा र चुनौतीहरू, कर्पोरेट गभर्नेन्स र वित्तीय व्यवस्थापन मुद्दा र चुनौतीहरू, मानव संसाधन व्यवस्थापनमा समसामयिक मुद्दाहरू र चुनौतीहरू, मार्केटिङ व्यवस्थापनमा समस्याहरू, व्यवस्थापनमा समसामयिक समस्या र चुनौतीहरू, कर्पोरेट गभर्नेन्स र वित्तीय व्यवस्थापनमा समसामयिक मुद्दाहरू र बदलिँदो विश्व व्यवस्थाको परिप्रेक्ष्यमा विदेशी मुलुकसँग नेपालको सम्बन्ध लगायतका बिषयहरुमा प्रतिवेदन प्रस्तुत गरिनेछ । 

सम्मेलनमा सहभागि विशिष्ट वक्ताहरुले विभिन्न अध्ययन अनुसाधनका प्रतिवेदन प्रस्तुत गर्दै हुनुहुन्छ भने केहि वक्ताहरुले आफ्नो प्रतिवेदन बुधबार (आज) प्रस्तुत गर्नुहुनेछ भने  बाँकीले बिहीबार (भोली) प्रस्तुत गर्नुहुनेछ ।

प्रतिवेदनका साथै उहाँरुले फरक विषयमा आफ्ना विचार, आइडिाय पनि दिनुहुने आयोजकले जनाएको छ ।