१७ बैशाख, २०८१ सोमबार

02:32:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रीलंका र पाकिस्तानको कमजोर आर्थिक अवस्था, किन भयो यस्तो ?

केशव आचार्य ।

२० चैत, २०७८

पाकिस्तानको वित्तीय अवस्था खच्किदै गइरहेको छ । सरकारको कूल कर्जा र दायित्व ५०५ खर्ब (पाकिस्तानी) रुपयाँ छ ।

श्रीलंका र पाकिस्तानको कमजोर आर्थिक अवस्था,  किन भयो यस्तो ?

काठमाण्डौं । सार्क सदस्य राष्ट्र श्रीलंका आर्थिक चपेटामा परेको समाचार आए लगत्तै पाकिस्तान पनि यसै समस्याबाट  पिल्सीरहेको पाइएको छ । पाकिस्तानमा घरेलु राजनीतिक समस्या बढेसँगै वित्तीय समस्या अझै बढेर जाने देखिएको हो । 

पाकिस्तानको वित्तीय अवस्था खच्किदै गइरहेको छ । सरकारको कूल कर्जा र दायित्व ५०५ खर्ब (पाकिस्तानी) रुपयाँ छ । वर्तमान प्रधानमन्त्री इमरान खान नेतृत्वमा आएपछि कर्जा करिब २०० खर्ब  रुपयाँले बढेको छ । चालु खाता घाटा जीडीपीको ४.७ प्रतिशतमा उक्लिएको छ । यो सरकारले तय गरेको लक्ष्य भन्दा उच्च हो । अमेरिकी डलरको तुलनामा रुपयाँको भाउ घटेर प्रतिडलर १८९ रुपयाँ तल आएको छ । 

गत शुक्रबार रुपयाँको तुलनामा डलरको भाउ ०.७ प्रतिशतले महँगो भएर  १८९ रुपयाँ २५ पैसामा उक्लिएको थियो । बिहिबार पनि डलर ३.१ प्रतिशतले महँगो भएको थियो । यसै मार्च महिनामा महँगी बढेर १२.७ प्रतिशतमाथि पुगेको छ । कुखुरा, फलफूल, तोरीको तेल आदिको भाउ आकाशिएको छ । राजनीतिक उथलपुथलका कारण कर्जा र ब्याज भुक्तानी गर्न नसक्ने अवस्थामा पुग्ने जोखिम बढेको छ ।

गत शुक्रबार रुपयाँको तुलनामा डलरको भाउ ०.७ प्रतिशतले महँगो भएर  १८९ रुपयाँ २५ पैसामा उक्लिएको थियो । बिहिबार पनि डलर ३.१ प्रतिशतले महँगो भएको थियो । यसै मार्च महिनामा महँगी बढेर १२.७ प्रतिशतमाथि पुगेको छ ।

पाकिस्तानको कर्जा डिफल्ट स्वाप सन् २०१३ यताकै उच्च स्तरमा उक्लिएको छ । यसको अर्थ पाकिस्तानले कर्जादाताहरूलाई तिर्नुपर्ने ऋण र ब्याज भुक्तानी गर्न नसक्ने जोखिम ९ वर्ष यताकै उच्च स्तरमा उक्लिएको छ । यसको अर्थ पाकिस्तानले ऋण तिर्ने क्षमता थप गुमाउँदै गएको छ र यो अवस्था थप खस्किँदै गयो भने पाकिस्तान पनि छिटै श्रीलंकाको जस्तै स्थितिमा पुग्ने विज्ञहरूको आंकलन छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्धकोे अविश्वासको प्रस्ताव आइतबार खारेज भएको छ । संसदका उप–सभामुख कासिम खान सुरीले खानले हार्ने निश्चित भएको अविश्वासको प्रस्तावलाई असंवैधानिक भन्दै खारेज गरिदिनु भएको थियो । तर विपक्षी दलहरुले संसदको कदमलाई असंवैधानिक भन्दै विरोध गरिरहेका छन् । 

खानकै अनुरोधमा राष्ट्रपति आरिफ अल्वीले संसद विघटन गरिदिनु भएको छ । यसले पाकिस्तानमा नयाँ राजनीतिक र संवैधानिक अनिश्चितता उत्पन्न भएको छ । ९० दिनभित्र निर्वाचन हुने भएको छ । विपक्षी दलका नेताहरुले खानलाई अर्थतन्त्रलाई ब्यूताउन असफल भएको अनि भ्रष्टाचारमाथि अंकुश लगाउन नसकेको आरोप लगाउँदै आएका छन् । तर खानले आफूलाई हटाउने अन्तरराष्ट्रिय स्तरबाटै षडयन्त्र भइरहेको भन्दै अमेरिकामाथि दोष लगाउनु भएको छ । 

अहिले पाकिस्तानी अर्थतन्त्रको लागि मुख्य जोखिम घरेलु राजनीति बनेको छ । सरकार र प्रतिपक्ष दलबीचको खिचातानी र पछिल्लो समय उत्पन्न संवैधानिक संकटका कारण कमजोर आर्थिक पूनर्उत्थान धरापमा परेको छ । पछिल्ला दिनहरुमा पाकिस्तानले विभिन्न देशमा रहेका दूताबासका कर्मचारीहरुलाई तलब खुवाउन नसकेको खबरहरु बाहिर आएको छ । 

 श्रीलंकामाथि चीनको मात्रै ५ अर्ब डलरभन्दा बढी ऋण छ । आर्थिक संकट गहिरिन थालेपछि गतवर्ष श्रीलंकाले चीनसँग थप १ अर्ब डलर ऋण लिएको थियो ।

श्रीलंका आर्थिक संकटको दलदलमा फस्नुको प्रमुख कारण विदेशी ऋणको भार हो । चीन लगायतका देशबाट ऋण लिएर विभिन्न परियोजना निर्माण गरेको श्रीलंकाको अर्थतन्त्र आतंकवादी हमला र कोभिड–१९ को महामारीसँगै संकटमा पर्दै गयो । श्रीलंकामाथि चीनको मात्रै ५ अर्ब डलरभन्दा बढी ऋण छ । आर्थिक संकट गहिरिन थालेपछि गतवर्ष श्रीलंकाले चीनसँग थप १ अर्ब डलर ऋण लिएको थियो ।

राष्ट्रपति गोटावया राजापाक्षले यसैवर्षको जनवरीमा चीनलाई तिर्नुपर्ने १ करोड डलर ऋणको समयसीमा बढाइदिन आग्रह समेत गर्नु भएको थियो । तर चीनले यसबारेमा कुनै स्पष्ट जवाफ दिएको छैन । यसै वर्षमा श्रीलंकाले ६ अर्ब ९ करोड डलर घरेलु तथा विदेशी ऋण भुक्तान गर्नुपर्नेछ । एक तिहाइभन्दा बढी ऋण निजी कम्पनीहरूको छ । चीन र जापानको भने करिब २२ प्रतिशत ऋण रहेको जनाइएको छ । तर श्रीलंकासँग हाल २ अर्ब ३ करोड डलरमात्र सञ्चित छ ।

देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशतभन्दा बढी योगदान पुर्याउने पर्यटन क्षेत्र ठप्प बनेपछि २ लाख ५० हजार जना श्रीलंकाली जनताले रोजगारी गुमाउन पुगे । आजभोली श्रीलंकामा विदेशी मुद्रा, खाद्यान्न, इन्धन र औषधिको चरम अभाव छ । जसका कारण २ करोड २० लाख जनताको जीवनस्तर दिनानुदिन निकै कष्टकर बन्दै गएको छ ।

अर्थतन्त्र ओरालो लाग्दै गए पनि श्रीलंकाले आफ्नो मुद्रालाई अमेरिकी डलरको तुलनामा १५ प्रतिशतले अवमूल्यन गर्यो । मुद्रा अवमूल्यन भएपछि आयातित वस्तुको भाउ निकै महँगिएको छ ।