८ मंसिर, २०८१ शनिबार
10:15:02 AM
१४ चैत, २०७८
महानगर, उपमहानगर, नगर र गाउँपालिकाका उपप्रमुखको नेतृत्वमा न्यायिक समिति रहने संवैधानिक व्यवस्था छ
काठमाडौँ,
न्यायिक समितिको राष्ट्रिय सम्मेलन आज सोमबारदेखि पोखरामा हुने भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरा सभागृहमा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।
देशभरका ७५३ पालिकाबाट न्यायिक समितिका संयोजक तथा सदस्यसहित झण्डै ८०० जनाको सहभागिता रहने
सम्मेलनका लागि देशभरका न्यायिक समितिका प्रमुख तथा सदस्यलाई आमन्त्रण गरिएको
आयोजक पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिकी प्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो । महानगर, उपमहानगर, नगर र गाउँपालिकाका उपप्रमुखको नेतृत्वमा न्यायिक समिति रहने संवैधानिक व्यवस्था छ ।
सर्वसाधारणको न्यायमा पहुँच सहज र सरल बनाउने उद्देश्यका साथ न्यायिक समिति बनाइएको हो ।
सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै गुरुङले देशभरका ७५३ पालिकाबाट न्यायिक समितिका संयोजक तथा सदस्यसहित झण्डै ८०० जनाको सहभागिता रहने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, उच्च अदालत पोखराका मुख्य न्यायाधीशलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा न्यायिक समितिका प्रमुखले कार्यसम्पादनका क्रममा देखिएका उपलब्धि, समस्या र चुनौतीसँगै समाधानका उपायबारे आ–आफ्ना धारणा राख्ने बताइएको छ ।
सम्मेलनले आगामी दिनमा न्यायिक समितिलाई थप प्रभावकारी बनाउनका लागि आवश्यक सुझावसहित पोखरा घोषणापत्र जारी गर्नेछ ।