१ मंसिर, २०८१ शनिबार

12:47:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रतिफलयोग्य परियोजना बनाउन महासंघलाई अर्थमन्त्री शर्माको निर्देशन

Nepal Business

१३ चैत, २०७८

 प्रतिफलयोग्य परियोजना बनाउन महासंघलाई अर्थमन्त्री शर्माको निर्देशन

काठमाण्डौं–अर्थमन्त्री जनार्दन शर्माले ठूला परियोजनामा लगानी जुटाउनु आवश्यक रहेको बताउँदै प्रतिफल योग्य परियोजना छनौट गर्न सुझाव दिनुभयो।

आइतबार लगानी बोर्ड र उद्योग बाणिज्य महासंघबीच स्वदेशी पुँजी जुटाउने र विदेशी लगानी भित्र्याउने बिषयमा सहकार्य गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उहाँले लगानी प्रतिबद्धता हुने तर नआउने प्रवृत्तिलाई सुधार गर्न बोर्डको संचरना, ऐन, कानून, काम गर्ने व्यवहार लगायतमा संशोधन गर्नुपर्ने बताउनुभएको हो ।

ठूला परियोजनाका लागि पूँजी जुटाउन स्वदेशमै पर्याप्त पैसा भएको भन्दै उहाँले जनताको विश्वास जित्ने परियोजना छनौट गर्नुपर्ने बताउनुभयो ।

‘अहिले कुनै कम्पनीले प्राथमिक सेयर निस्काशन (आइपिओ) ग¥यो भने मागभन्दा धेरै ठूलो रकमको आवेदन भइरहेको देखिन्छ । यो भनेको नेपालीसँग पैसा त छ तर प्रतिफल दिने उपयुक्त परियोजना नहुँदा लगानी जुटिरहेको छैन भन्ने हो’ उहाँले भन्नुभयो, ‘त्यसैले स्वदेशबाटै पूँजी जुटाउन पनि जनताले प्रतिफल दिन सक्छ भन्ने विश्वास योग्य परियोजना छनौटतर्फ ध्यान दिनुहोला ।’

उहाँले जलविद्युत परियोजनामा स्वदेशी तथा विदेशी लगानी आउनुको कारण प्रतिफलको ग्यारेन्टी नै प्रमुख कारण भएको बताउँदै अन्य परियोजनामा पनि प्रतिफलको सुनिश्चितता दिन सके लगानीका लागि खासै समस्या भोग्नुनपर्ने बताउनुभयो ।

‘आफैं ऋण तिर्न सक्षम परियोजना छनौट ग¥यौं भने त्यो ऋण परियोजनाले नै तिर्छ, जनतालाई अनावश्यक भार पर्दैन । त्यसैले यस्ता परियोजना छनौटमा विशेष ध्यान दिनुपर्छ’ उहाँले भन्नुभयो ।

उहाँले सरकार–निजी क्षेत्र साझेदारीलाई थप सुदृढ बनाउन आवश्यक सुझाव दिन पनि निजी क्षेत्रलाई आग्रह गर्नुभयो । उहाँले लगानीको बातावरण बढाई ‘डुईङ बिजनेस’ मा थप सुधार गर्नुपर्ने धारणा राख्नुभयो ।

लगानीकर्तालाई छिटो र छरितो ढङले सहजिकरण गर्न बोर्डलाई उहाँले निर्देशन दिनुभयो । विदेशी लगानी ल्याउँदा प्रविधि पनि सँगै भित्र्याउने सर्त राख्न उहाँले निर्देशन दिनुभयो ।

‘हामीले लगानी भित्र्याउँदा अब विकसित देशको प्रविधि पनि ल्याउनतर्फ ध्यान दिनुपर्छ । प्रविधि ल्याइयो भने हाम्रो निजी क्षेत्र बलियो हुन्छ’ उहाँले भन्नुभयो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्टले ३ खर्बको परियोजना निर्माण प्रक्रियामा गएको र केहीले उत्पादनसमेत दिन थालेको जानकारी दिनुभएको  दिनुभयो । 

उहाँले बुझाईमा एकरुपता र सोचमा स्पष्टता कायम गराएर लगानीकर्तासँग सहकार्य गर्ने बताउनुभयो । अहिले परियोजनाबारे अध्ययन गर्ने र थप सहजिकरण गर्ने समय छोट्याएको जानकारी दिनुभयो । 

उहाँले कुन क्षेत्र र कुन परियोजनमा विदेशी लगानी चाहिने वा नचाहिने भन्ने बारे अध्ययन गरेर निष्कर्षमा पुग्नका लागि सबैलाई आह्वान गर्नुभयो ।

महासंघका अध्यक्ष शेखर गोल्छाले बोर्ड र निजी क्षेत्रको सहकार्य ऐतिहासिक भएको बताउनुभयो। उहाँले चाँडै भारत र चीनमा लगानी सम्मेलन हुन लागेको र त्यहाँ उपस्थित भएर नेपालमा लगाानीका लागि आह्वान गर्ने जानकारी दिनुभयो ।

‘बिदेशी लगानी सहज बनाउन हामीले गर्नुपर्ने प्रयास गर्नेछौँ । सरकारले बारम्बार भोग्दै आएको शोधानान्तर घाटा र तरलता अभावको समस्याालाई सम्बोधन गर्नेगरी विदेशी लगानी भित्र्याउन यो एमओयूले थप सहज बनाउने’ गोल्छाले भन्नुभयो ।