७ मंसिर, २०८१ शुक्रबार
07:01:10 PM
१० चैत, २०७८
राष्ट्र बैंकले विकास बैंकहरुमा २८ करोड ९८ लाख, वाणिज्य बैंकहरुमा १ अर्ब ५४ करोड ६२ लाख र फाइनान्स कम्पनीहरुमा ९ करोड ६६ लाख गरी कुल १ अर्ब ९३ करोड २६ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो।
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब ९३ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ। राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै विभिन्न कोषमा रहेको १ अर्ब ९३ करोड २६ लाख रुपैयाँ वाणिज्य बैंकहरु,राष्ट्रियस्तरका विकास बैंकहरु र फाइनान्स कम्पनीको मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो।
राष्ट्र बैंकले विकास बैंकहरुमा २८ करोड ९८ लाख, वाणिज्य बैंकहरुमा १ अर्ब ५४ करोड ६२ लाख र फाइनान्स कम्पनीहरुमा ९ करोड ६६ लाख गरी कुल १ अर्ब ९३ करोड २६ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो।
केन्द्रिय बैंकले उक्त निक्षेप २०७९ बैशाख २ गतेदेखि २०८० बैशाख १ गतेसम्म ३६५ दिन अवधिको लागि राख्न लागेको हो। सो निक्षेप लिन चाहाने बैंक तथा वित्तीय संस्थाहरुले चैत १७ गतेसम्ममा ब्याजदर प्रस्ताव पेस गर्नुपर्ने केन्द्रिय बैंकले जनाएको छ ।
यो मुद्दति निक्षेपका रुपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्नेछ। साथै यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ। रियल स्टेट कर्जा राष्ट्र बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्छ पनि राष्ट्र बैंकले जनाएको छ।