६ मंसिर, २०८१ बिहिबार

09:08:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शिक्षा नै खुसीको पहिलो ढोका होः मन्त्री पौडेल

९ चैत, २०७८

शिक्षाको प्रयोग प्रत्यक्ष रुपमा सीप र सिकाइसँग मेल खानुपर्छ, अन्यथा विकासको कल्पना गर्न सकिँदैन ।

 शिक्षा नै खुसीको पहिलो ढोका होः मन्त्री पौडेल

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताउनुभएको हो ।  

उहाँले जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ उक्त देशमा नै अन्य भौतिक विकासले फड्को मार्ने उल्लेख गर्दै शिक्षालाई प्रयोग गरेर देशलाई समृद्धितिर लानु आजको आवश्यकता रहेको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, अहिले शिक्षाको प्रयोग प्रत्यक्ष रुपमा सीप र सिकाइसँग मेल खानुपर्छ, अन्यथा विकासको कल्पना गर्न सकिँदैन ।

प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा देशका विभिन्न स्थानबाट २ हजार ३ सय प्रतिनिधि सहभागी रहेका छन् । 

शिक्षा प्रणाली सुधार गर्नु राज्यको एक्लो दायित्व नभएकाले त्यसका लागि निजी क्षेत्रको पनि उत्तिकै आवश्यकता रहने जनाउँदै उहाँले सकारात्मक सल्लाह लिएर मन्त्रालय आउन प्याब्सनलाई आग्रह गर्नुभयो ।

राज्यको एक मात्र लक्ष्य हाल कार्यान्वयनमा रहेको शिक्षा प्रणाली सुधार गरी दक्ष जनशक्ति उत्पादन गर्नु रहेको पनि उहाँले बताउनुभयो । 

कार्यक्रममा अध्यक्ष टीकाराम पुरीले सीपमूलक शिक्षा आजको आवश्यकता रहेको उल्लेख गर्दै यसका लागि राज्यले पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

हरेक दिन उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको भीडले गिज्याइरहेको जनाउँदै अध्यक्ष पुरीले त्यसको जवाफ राज्यले दिनुपर्ने बताउनुभयो ।  

कार्यक्रममा प्याब्सनका पूर्वअध्यक्ष राजेश खड्कालाई  प्याब्सन गौरव सम्मान बाट सम्मानित गरिएको छ । त्यसैगरी  वी एन्ड शर्मा, सानु अमात्य, डोलराज पाण्डे र नारायण अधिकारीलाई ‘प्याब्सन रत्न सम्मान’ बाट सम्मानित गरिएको छ ।

बिहीबारसम्म हुने महाधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसक्नुभएको छ  । अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् ।

प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा देशका विभिन्न स्थानबाट २ हजार ३ सय प्रतिनिधि सहभागी रहेका छन् ।