४ जेठ, २०८१ शुक्रबार

10:54:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अवैध डिजिटल कारोबारबाट दैनिक ५० करोड बाहिरिदैः अर्थमन्त्री शर्मा

Nepal Business

७ चैत, २०७८

मन्त्री शर्माले आगामी आर्थिक वर्ष ०७९–८० को बजेट निर्माणमा अर्थ मन्त्रालय केन्द्रित हुन थालेकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउन सुरु गरेको जानकारी दिनुभयो ।

अवैध डिजिटल कारोबारबाट दैनिक ५० करोड बाहिरिदैः अर्थमन्त्री शर्मा

काठमाण्डौं–नेपालमा डिजिटल कारोबार (क्रिप्टोकरेन्सी) लाई गैरकानूनी मानिन्छ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको गैरकानूनी भएको भनि मोहर लगाइसकेको छ । अझै क्रिप्टो कारोबार गर्नेहरु रोकिएका छैनन् । 

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अहिले अवैध डिजिटल कारोबार बढिरहेको बताउनुभएको छ । सोमबार रुकुम सदरमुकाममा पत्रकार महासंघ शाखा कार्यालय, रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले अवैध डिजिटल कारोबारका कारण दैनिक ५० करोड रुपैयाँसम्म नेपाली मुद्रा बाहिरिन थालेको भन्दै यस्ता गतिविधि रोक्न सबै संयन्त्र परिचालन गरेको बताउनुभएको हो । 

डिजिटल कारोबार सम्बन्धी अध्ययन गर्न अर्थमन्त्रालयले सहसचिव भुपाल बरालको नेतृत्वमा एक समिति बनाएको छ। समितिले विभिन्न पक्षको अध्ययन गर्दै प्रतिवेदन अन्तिम चरणमा पु¥याएको छ।

यस्तै उहाँले शोधानान्तर घाटालाई विस्तारै सुधार गर्दैै लगेको तथा तरलता अभाव केही दिन भित्रै समाधान हुने भएकाले अर्थतन्त्र विस्तारै लयमा आउने बताउनुभएको हो । 

यस्तै मन्त्री शर्माले आगामी आर्थिक वर्ष ०७९–८० को बजेट निर्माणमा अर्थ मन्त्रालय केन्द्रित हुन थालेकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउन सुरु गरेको जानकारी दिनुभयो । 

‘आगामी आवको बजेटले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने गरी छलफल अगाडी बढाएका छौं’, उहाँले भन्नुभयो, ‘आयात प्रतिस्थापन गर्ने र निर्यात वृद्धि गर्ने सवालमा कृषि क्षेत्रले धेरै मदत गर्ने विश्वास छ ।’

कूल वैदेशिक व्यापारमा माघ मसान्तसम्म निर्यातको हिस्सा १० प्रतिशत नाघेको बताउँदै उहाँले आगामी दिनमा प्रत्येक वर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने बताउनुभयो ।

उहाँले प्रमुख सहरसँग ग्रामिण क्षेत्रको दुरी घटाउने गरि पूर्वाधार विकास गर्नेतर्फ पनि बजेटले ध्यान दिने बताउनुभयो । ‘एउटा सहरबाट अर्को सहरको दुरी घटाउने योजना बनाएका छौं । उदाहरणका लागि काठमाडौंबाट पोखराको सडक दुरी २ घण्टा कायम गराउने गरी योजना बनाइरहेका छौं । अन्यत्र पनि यस्तै योजना बनाउँदैछौँ’, उहाँले भन्नुभयो, ‘ग्रामिण अर्थतन्त्र सुधारमा हामी बिशेष ध्यान दिदैछौँ। ग्रामिण क्षेत्रका उत्पादनले सहजै बजार पहुँच पाउने कुराको सुनिश्चितता गरिनेछ।’

उहाँले जनतामा आधारित विकास मोडललाई समेत बजेटमार्फत कार्यान्वयन गर्ने बताउनुभयो । ‘जनताले बिकासको अनुभुति गर्ने किसिमको पूर्वाधार निर्माण योजना अघि बढ्नेछन्’ उहाँले भन्नुभयो, ‘निर्माण कार्य गुणस्तरीय होस् भन्ने कुरामा उत्तिकै ध्यान दिइनेछ।’

उहाँले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, सुनचाँदी, खानेतेल, प्लास्टिक, डण्डी तथा डण्डीजन्य वस्तु, ढुवानीमा प्रयोग हुने पानीजहाज तथा कन्टेनरको भाँडादरलगायतको मूल्य श्रृङ्खलामा भएको वृद्धिले नेपालमा समेत मूल्य वृद्धिमा चाप परिरहेको बताउनुभयो ।

यदपी, मूल्य वृद्धिका लागि राखिएको वार्षिक लक्ष्यको बाञ्छित सिीमा भित्रै रहेकाले अत्तालिनुपर्ने स्थिति नरहेको बताउनुभयो ।