१ मंसिर, २०८१ शनिबार
09:21:34 PM
६ चैत, २०७८
काठमाण्डौं–एनसेल आजियाटा लिमिटेड ‘एशियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ।
सिंगापुरमा अवस्थित ‘एसियन मोबाइल न्युज’ले एनसेललाई ‘एशियन टेलिकम अवार्ड २०२२’बाट सम्मान गरेको हो।सो अवार्ड अन्तर्गत विभिन्न विधाका विजयी कम्पनीलाई हालै एक भर्चुअल कार्यक्रम मार्फत सम्मानित गरिएको थियो। यस अवार्ड कार्यक्रमले एशियाका अग्रणी दूरसञ्चार कम्पनीका उत्कृष्ट उपलब्धि र पहललाई मान्यता दिँदै पुरस्कृत गर्छ।
कोभिड–१९ महामारीले हरेक क्षेत्रलाई असर गरिरहँदा टेलिकम कम्पनीहरूले ग्राहकलाई सञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित गर्न र प्रतिस्पर्धामा रहिरहन विभिन्न सुविधा र योजना लागू गरेका थिए।
आयोजकका अनुसार बजारमा विभिन्न चुनौतीकाबीच उत्कृष्ट प्रदर्शन गर्ने एशिया प्यासेफिक क्षेत्रका कम्पनीहरूलाई ‘एशियन टेलिकम अवार्ड २०२२’ले सम्मान गरिएको हो।
‘प्रतिष्ठित एसियन टेलिकम अवार्ड २०२२ का दुई विधाबाट सम्मानित हुन पाएकोमा हामी अत्यन्तै हर्षित छौं । यो सम्मानले देश र जनताका लागि हामीले गरेका पहलकदमी र योगदानलाई प्रमाणीकरण गरेको छ। हामीले सन् २०२० देखि कोभिड–१९ महामारीविरुद्ध गरेका काम र डिजिटलाइजेसन यात्रामा हाम्रो निरन्तर योगदानको सम्मान पनि हो, ‘एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भन्नुभयो, ‘हाम्रा उपलब्धिहरू हामीले स्थापित गरेका बलिया आधारका कारण सम्भव भएका हुन्। म सम्पूर्ण कर्मचारीलाई समर्पण र उत्कृष्ट कामका लागि धन्यवाद दिन चाहन्छु।’
सरकारलाई कोरोना भाइरस रोकथामका लागि ‘कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १० करोड योगदान गर्ने एनसेल पहिलो निजी क्षेत्रको कम्पनी हो।
कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा कोभिड–१९ महामारीको रोकथामको लागि जनसचेतना अभिवृद्घि गर्ने काम गरेको छ।
पूर्वाधारको क्षेत्रमा एनसेलले भूकम्पीय जोखिमको दृष्टिकोणबाट अतिसंवेदनशील मानिने काठमाडौं उपत्यकामा विश्वस्तरीय ‘टियर थ्री’ मापदण्डको ‘इन्टिग्रेटेड डेटा सेन्टर’ स्थापना गरेको छ।
यो पूर्वाधारले भूकम्पको विपद्का बेलामा पनि भरपर्दो सेवा प्रवाहमा योगदान पुर्याउनेछ। यस किसिमको आधुनिक डेटा सेन्टर पूर्वाधार विकासका हिसाबले दक्षिण एशियाकै पहिलो हो।