१ जेठ, २०८१ मंगलबार

06:43:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र बैंक उदार नहुँदा आयात घट्न सकेनः अर्थमन्त्री

६ चैत, २०७८

बैंकको बढ्दो ब्याजदरप्रति उहाँले चिन्ता प्रकट गर्दै राष्ट्र बैंकले यसमा ध्यान दिनुपर्ने बताउनुभयो

राष्ट्र बैंक उदार नहुँदा आयात घट्न सकेनः अर्थमन्त्री

काठमाण्डौं– अर्थमन्त्री जनादर्न शर्मा (प्रभाकर)ले आयातमा भएको वृद्धि आफूहरुले लिएको नीति अनुसार सुधार भइरहेको बताउनुभएको छ।

अर्थमन्त्रालय मातहतका निकायहरुको दोस्रो त्रैमासिक समीक्षामा बोल्दै उहाँले आयातमा भएको वृद्धिमा राष्ट्र बैंक अझै उदार भयो भने समस्या समाधान हुने बताउनुभएको हो। 

उहाँले भन्नुभयो, ‘आयातमा भएको वृद्धि हामीले लिएको नीतिअनुसार विस्तारै सुधार भइरहेको छ। राष्ट्र बैंक अझै उद्धार भयो भने यो समस्या सुधार हुन्छ। अन्य बैंक वित्तीय संस्थालाई पनि मैले सुधारका काममा केन्द्रित गर्न भनेको छु।’

यस्तै बैंकको बढ्दो ब्याजदरप्रति उहाँले चिन्ता प्रकट गर्दै राष्ट्र बैंकले यसमा ध्यान दिनुपर्ने बताउनुभयो। ‘बैंकिङ क्षेत्र र व्यवसाय एकै ठाउँमा हुन्छ। अहिले ब्याजदर बढ्यो भनेर व्यवसायीले विरोध गरिरहेका छन्’, उहाँले भन्नुभयो, ‘यसलाई समाधान गर्ने की हामीले यस्तै चलाइरहने हो भन्ने कुरामा राष्ट्र बैंकले ध्यान दिनुहोला।’ 

यस्तै उहाँले डलर भित्र्याउन सहजिकरण गर्नुपर्ने, रेमिट्यान्स एजेन्टको कमिसनदर बारे अध्ययन गरेर विदेशमा रहेका नागरिकको पैसा सहज रुपमा नेपाल भित्र्याउन पहल गर्ने तथा रेमिट्यान्सलाई बैंकिङ प्रणालीबाट ल्याउन सबै प्रकारका पहलकदमी अवलम्बन गर्नुपर्ने सुझाव दिनुभयो। 

यस्तै नागरिक लगानी कोषमा एक खर्ब रुपैयाँभन्दा बढी पैसा रहेको र त्यसलाई पँुजी निर्माणमा केन्द्रित गर्न उहाँले सुझाव दिनुभयो। 

यसैगरी समीक्षा कार्यक्रममा राष्ट्र बैंकका अधिकारीले मूल्यवृद्धिको वार्षिक लक्ष्य ६.५ प्रतिशत रहेको र माघ मसान्तसम्म ५.९७ प्रतिशत रही बाञ्छित सीमा भित्रै रहेको जानकारी दिए।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि थप चर्किदै गएकाले नेपाली बजारमा यसको नियमनका उपायबारे सोच्न मन्त्री शर्माले निर्देशन दिनुभयो । 

कार्यक्रममा योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले विदेशी मुद्राको चाप बढेको भन्दै समाधानका लागि ध्यान दिन निर्देशन दिनुभयो । 

त्यस्तै राजस्व सचिव कृष्णहरी पुस्करले जनतालाई आभाष हुने गरी सेवा दिन सक्नुपर्ने बताउनुभयो। ‘हाम्रो कार्यशैलीमा सुधार गरौं र हामीले गरेको काम जनस्तरसम्म पुग्ने गरि जिम्मेवारी बहन गरौं’ उहाँले भन्नुभयो।

सेयर बजार बन्द भएको बिषयमा जनताले दोषी थाहा पाउने गरी छानबिन गर्न उहाँले निर्देशन दिनुभयो।