१ मंसिर, २०८१ शनिबार
10:19:37 PM
३ चैत, २०७८
इच्छुक जोकोही व्यक्ति, संस्था वा कम्पनीले चैत १७ गते बैंकिङ समयसम्म खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।
काठमाडौं
नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो। सो समयमा बिक्री नभएको सेयर बैंकले लिलामीमा बिक्री गर्न लागेको हो । बैंकले संस्थापक समूहको १ लाख ३१ हजार ९९८ र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता गरी कुल १ लाख ४५ हजार ६४९ कित्ता सेयर चैत १० गतेबाट लिलामीमार्फत बिक्री गर्ने भएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति, संस्था वा कम्पनीले चैत १७ गते बैंकिङ समयसम्म खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामीमा राखिने हकप्रद सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ।
लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। हकप्रद सेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल काठमाडौं, ग्लोबल आइएमई बैंकका शाखाहरु बिर्तामोड, विराटनगर, जनकपुर, आदर्शनगर (वीरगन्ज), हेटौँडा, नारायणगढ, न्युरोड (पोखरा), बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा आवेदन पेस गर्न सक्नेछन् ।