२ मंसिर, २०८१ आइतबार
12:23:15 AM
१ चैत, २०७८
काठमाडौं
नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८३ “क” निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले दुई अर्ब रुपैयाँको नागरिक बचतपत्र २०८३ ‘क’ बिक्री खुला गर्ने भएकोे हो । राष्ट्र बैंकले पाँच वर्षे अवधिका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ब्याजकर लाग्ने गरी नागरिक बचतपत्र बिक्री खुला गर्न लागेको हो ।
राष्ट्र बैंकले जारी गरेको बचतपत्रमा चैत १ गतेदेखि चैत २० गतेसम्म बोलपत्र पेस गर्न सकिने छ । बचतपत्रको सावाँ फिर्ता २०८३ चैत ३० गते गरिने राष्ट्र बैंकले जनाएको छ । ब्याजको भुक्तानी ६/६ महिनामा गरिने पनि राष्ट्र बैंकले जनाएको छ ।
उक्त बचतपत्र खरीद गर्दा लगानीकर्ताले घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन सक्नेछन् । उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् । बचतपत्र धितो राखी राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने छ।