१ जेठ, २०८१ मंगलबार

05:24:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मुलुकका ११ विश्वविद्यालय नसुधारे गुणस्तर असंभव, प्रविधिको प्रयोग बढाउन सुझाव

३० फागुन, २०७८

मुलुकका ११ विश्वविद्यालय नसुधारे गुणस्तर असंभव, प्रविधिको प्रयोग बढाउन सुझाव

ललितपुर,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकका ११ विश्वविद्यालय सुधार्न अति नै जरुरी रहेको बताउनुभएको छ ।

गोदावरी नगरपालिका वडा नं ११ मा अवस्थित जनभावना क्याम्पसको ३१औँ वार्षिकोत्सवका अबसरमा सोमबार उहाँले त्रिभूवन विश्वविद्यालयअन्तर्गत क्याम्पसलाई समयमै सुधार नगरे गुणस्तरीय शिक्षा प्रदान गर्न कठिन हुने गुनासो गर्नुभयो ।

यहाँका विश्वविद्यालय सुधार गर्न सरकार मात्रै नभएर सामूहिकरूपमा अघि बढ्नुपर्ने देखिन्छ । शिक्षालाई परम्परागतरूपमा मात्रै नभएर प्रविधिमार्फत पनि अघि बढाउनुपर्ने भएको छ 

उहाँले भन्नुभयो, “यहाँका विश्वविद्यालय सुधार गर्न सरकार मात्रै नभएर सामूहिकरूपमा अघि बढ्नुपर्ने देखिन्छ । शिक्षालाई परम्परागतरूपमा मात्रै नभएर प्रविधिमार्फत पनि अघि बढाउनुपर्ने भएको छ ।”

शिक्षा सुधारका लागि आफूहरूले चार ऐन बनाएर विभिन्न निकायमा छलफलका लागि पठाएको उहाँको भनाइ छ । मुलुकमा अघि बढिरहेको माध्यमिक शिक्षा सुधारका लागिसमेत मन्त्रालयले काम अघि बढाइरहेको पौडेलले बताउनुभयो ।

“जमलस्थित केशर पुस्तकालयमा रहेका दस्तावेज आफूहरूले सङ्कलन गरी यसलाई प्रविधिमैत्रीमा रुपान्तरणसमेत गर्ने योजना अघि बढाएका छौँ”, उहाँले थप्नुभयो, “यस क्याम्पस वनमा फुल्ने लालिगुराँस झैँ मुलुकको सुन्दर क्याम्पस बनोस् भन्ने हामी चाहान्छौँ ।”

मुलुकमा थुपै प्रशासनिक तथा कानुनी जटिलतासमेत रहेको उल्लेख गर्दै उहाँले मन्त्रालयले अघि बढाएका शिक्षाका योजनाले केही समयपछि पूर्णता पाउने दाबी गर्नुभयो ।

ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद नवराज सिलवालले सो क्याम्पसले विश्वविद्यालय तहको शिक्षा प्रदान गर्ने अपेक्षा बोकेर अघि बढ्दा नगरपालिकाले उपलब्ध गराएको जमिनमा नयाँ भौतिक पूर्वाधार निर्माणका लागि आफूलेसमेत मन्त्रालयमार्फत बजेटको अपेक्षा गरेको भनाइ राख्नुभयो ।

 विश्वविद्यालय अनुदान आयोग (युजिसी) का अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले मुलुकमा कुल एक हजार ४३७ सामुदायिक क्याम्पस रहेको जानकारी गराउँदै सोमा ५७ क्याम्पसमध्ये जनभावनाले सो आयोगमार्फत नेपालमा उच्च शिक्षा सुधारका लागि गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्युएए) गत २०७६ पुसमा प्राप्त गरी सो भेगका बालबालिकाको जीवनमा ज्योति भर्ने काम गरेको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकमै सञ्चालन रहेका हरेक तवरका क्याम्पसले अनुसन्धानमा खासै ध्यान दिएको नदेखिँदा यसतर्फ जोड दिनुपर्नेछ ।”

त्रिविका शिक्षाध्यक्ष सिवलाल भुसालले जनभावनमा भएको शिक्षा सुधारका कामले आफूहरूसमेत गौरवान्वित भइरहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “आज शिक्षामा गरिएको लगानीले भोलिको मुलुक कस्तो बन्छ भन्नेतर्फ मध्यनजर गर्न जरुरी छ ।”

त्रिवि शिक्षाशास्त्र सङ्कायका डिन प्रा डा चित्रबहादुर बुढाथोकीले मुलुकमा अझै पनि परम्परागत शिक्षा कायाम रहेको दुखेसो गर्दै आधुनिक शिक्षा प्रदानमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।