७ मंसिर, २०८१ शुक्रबार
12:58:47 PM
३० फागुन, २०७८
हाल नबिल बैंकको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र नेपाल बंगलादेश बैंककोे चुक्ता पुँजी करिब १० अर्ब ९ करोड रहेको छ । दुबै बैंकको एक्विजिसन पश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पूँजी करिब २३ अर्ब रुपैयाँ पुग्नेछ ।
काठमाडौं
नेपाल बंगलादेश बैंक (एनबी) लाई गाभ्न नबिल बैंकलाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । नेपाल बंगलादेश बैंकको एक्विजिसन पश्चात् नबिल बैंक चुक्ता पूँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुने देखिन्छ ।
हाल नबिल बैंकको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र नेपाल बंगलादेश बैंककोे चुक्ता पुँजी करिब १० अर्ब ९ करोड रहेको छ । दुबै बैंकको एक्विजिसन पश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पूँजी करिब २३ अर्ब रुपैयाँ पुग्नेछ । पुस मसान्तसम्ममा नबिल बैंकसँग २९ अर्ब रुपैयाँ भन्दा बढी र नेपाल बंगलादेश बैंकसँग १४ अर्ब रुपैयाँ भन्दा बढी प्राथमिक पूँजी रहेकोमा एक्विजिसन पश्चात् बैंकको प्राथमिक पूँजी ४४ अर्ब भन्दा बढी पुग्नेछ ।
यसले राष्ट्रिय गौरव तथा निर्माणका क्रममा रहेका ठूला आयोजनाहरुमा नबिल बैंकको प्रमुख वित्तीय लगानी रहँदै आएकोमा थप व्यवसाय विस्तार गर्न मद्दत पुग्नेछ । ६ महिनाको अवधिमा नबिल बैंकको खुद मुनाफा २ अर्ब १८ करोड रुपैयाँ भन्दा बढी तथा नेपाल बंगलादेश बैंकको ८१ करोड रुपैयाँभन्दा बढी रहेकोमा एक्विजिसन पश्चात् बैंकको खुद मुनाफा २ अर्ब ९९ करोड रुपैयाँ भन्दा बढी कायम हुनेछ ।
एक्विजिसन पश्चात् नबिल बैंकको कुल कर्जा करिब ३ खर्ब १ अर्ब र कुल निक्षेप करिब ३ खर्ब १८ अर्ब कायम हुनेछ । यसका साथै, एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २४१ र एटीएम संख्या २९२ पुग्नेछ ।