४ जेठ, २०८१ शुक्रबार

12:44:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जब सेन्टर नामका 'ठग' सेन्टरहरु : जहाँ रोजगारको लोभमा ठगिँदै वेरोजगारी, एउटैले उठायो ७५ लाख

२९ फागुन, २०७८

देख्दा ५००, हजारको कुरा छ, सरकारी वकीलले मुद्दा पनि दर्ता नगर्लान् जस्तो देखिन्छ तर ति युवाहरु नराम्ररी ठगिएका त छन् नै, त्यस्ता सेन्टरले ठगेरै मासिक लाखौँ कुम्याइरहेका छन्, यो चाहिँ डरलाग्दो विषय छ ।

 जब सेन्टर नामका 'ठग' सेन्टरहरु : जहाँ रोजगारको लोभमा ठगिँदै वेरोजगारी, एउटैले उठायो ७५ लाख

नेपाल विजनेश समाचारदाता,
काठमाडौँ, 

काठमाडौँको कोटेश्वरमा रहेको क्वीकमाण्डु एमपि प्रालिले केही अघि एउटा सूचना जारी गर्यो, ‘के तपाईँलाई तुरुन्तै जागिर चाहिएको छ, तर पैसा छैन ? आउनुहोस्, क्वीकमाण्डु अफिसमा सम्पर्क गर्नुहोस् ।’ त्यही विज्ञापनमा शर्त राखेर गरिएको अर्काे सूचना यस्तो छ, ‘ट्रेनिङका लागि बुझाएको शुल्क ट्रेनिङ लिन नचाहेमा फिर्ता हुने छैन’ । 

त्यो एउटा लिखित विज्ञापन भयो । यस्ता जब सेन्टरले विभिन्न सामाजिक सञ्जाल तथा टिकटकमा पनि अडियो, भिडियो तथा टेक्स्ट मै आकर्षक विज्ञापन राखेका छन् । जसमा खनखनती पैसा गनिरहेको भिडियो देखाएर जागिर पक्का भन्ने आकर्षक सामग्री देखिन्छ । निम्न वर्गीय मानिस, जो जागिरको खोजीमा छन्, उनीहरुलाई त्यसले सजिलै तान्छ । 

  • एक वेरोजगार व्यक्ति उक्त संस्थामा जागिरका लागि जान्छन् । रु ५०० तिरेर फारम भर्छन् । जागिर पक्का भयो भनेर अर्काे दिन आउन आश्वासन प्राप्त हुन्छ, अर्काे दिन त्यहाँ आउँदा, अन्यत्रैको अफिसमा जागिर मिल्यो भनेर पठाइन्छ । फेरि त्यहाँ पनि शुल्क तिर्नुपर्छ, त्यहाँबाट पनि अर्काे अफिसमा तालिमका लागि पठाइन्छ,पेरि पनि शुल्क तिरेरै तालिम लिन बाध्य गराइन्छ ।

त्यही विज्ञापन देखेर एक वेरोजगार व्यक्ति उक्त संस्थामा जागिरका लागि जान्छन् । रु ५०० तिरेर फारम भर्छन् । जागिर पक्का भयो भनेर अर्काे दिन आउन आश्वासन प्राप्त हुन्छ, अर्काे दिन त्यहाँ आउँदा, अन्यत्रैको अफिसमा जागिर मिल्यो भनेर पठाइन्छ । फेरि त्यहाँ पनि शुल्क तिर्नुपर्छ, त्यहाँबाट पनि अर्काे अफिसमा तालिमका लागि पठाइन्छ, पेरि पनि शुल्क तिरेरै तालिम लिन बाध्य गराइन्छ ।

यस्तै गर्दागर्दे कतिपयले त्यो प्रक्रिया नै छाडिसक्छन् । जो अझै भौतारिएर जागिरका लागि आउँछन्, उनीहरुलाई थप हैरानीमा पारिन्छ । त्यो झन्झट बेहोर्नुभन्दा उक्त प्रक्रियाबाटै दिक्क भएर निस्कन बाध्य हुन्छन् युवा । केहीले सामान्य जागिर पाइहाले पनि हप्ता÷दश दिनमै छाड्न बाध्य पार्ने गरी व्यवहार गरिन्छ । 

शुरुमा १५ देखि ३० हजारसम्मको जागिर मिल्ने सपना बोकेर गएका ति युवा विभिन्न बहानामा ५÷६ हजारसम्म शुल्क तिरेपछि त्यसै फर्किनुपर्ने बाध्यता आइलाग्छ । यस्तै गरेर ती जब सेन्टरले ठगी धन्दा चलाएका प्रहरी अनुसन्धानको निष्कर्ष छ । 

यो एउटा कुनै चलचित्रो कथा जस्तो लाग्छ तर कथा नभएर काठमाडौँ उपत्यका भित्र कै तितो यथार्थ हो ।  हेर्दा ५००, एक हजार रुपैयाँ, बढीमा ६ हजारसम्म शुल्क लिएको सामान्य घटना जस्तो लागे पनि यसरी जब सेन्टरको नाममा वेरोजगार युवाहरु नराम्ररी ठगिइरहेका छन् ।

त्यतिमात्रै होइन, जागिर खोज्न आएकालाई त्यही कार्यालयको पर्चा, पम्प्लेट बाँड्न लगाउने, विज्ञापन सामग्रीहरु फेसबुक पेज तथा अन्य सामाजिक सञ्जालबाट शेयर गर्न लगाउने, मानिसहरु सम्र्पमा ल्याउनेलाई कमिसन दिने अनि यही हो जागिर भनेर युवा शक्तिको दुरुपयोग गर्ने अवैध गतिविधि पनि उनीहरुले चलाइरहेका पाइएको छ ।  

यसरी गठिएको भनेर एक महिना अघिदेखि नै प्रहरीमा गुनासो पुगेको थियो । विभिन्न वृत्तले पैसा फिर्ता गराएर एक दुई समस्या समाधान पनि गरेको थियो । 
तर गुनासो आउने क्रम रोकिएन । उक्त धन्दाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत भन्नुहुन्छ, “देख्दा ५००, हजारको कुरा छ, सरकारी वकीलले मुद्दा पनि दर्ता नगर्लान् जस्तो देखिन्छ तर ति युवाहरु नराम्ररी ठगिएका त छन् नै, त्यस्ता सेन्टरले ठगेरै मासिक लाखौँ कुम्याइरहेका छन्, यो चाहिँ डरलाग्दो विषय छ ।”

काठमाडौँको बानेश्वरमा सोसाइटी वेलफेयर फ्यासलिटिज म्याजेनजमेन्ट सर्भिसको विल/भर्पाइ हेर्दा झण्डै ७५ लाख रकम असुलेको देखिन्छ

प्रहरी श्रोतका अनुसार यस्तै ठगी कार्यमा सक्रिय रहेको काठमाडौँको बानेश्वरमा सोसाइटी वेलफेयर फ्यासलिटिज म्याजेनजमेन्ट सर्भिसको विल/भर्पाइ हेर्दा झण्डै ७५ लाख रकम असुलेको देखिन्छ । वेरोजगार युवाहरुबाट उठाएको ३०० देखि ५ हजारसम्मको पैसाको बील भरपाई हो त्यो । यस्ता सेन्टर दर्जनौँले यसैगरी रकम जम्मा गरेका छन् । 

हरेक सेन्टरले यसैगरी पैसा असुलेको पाइएकाले उनीहरुलाई कारवाहीको दायरामा ल्याउनु परेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर सुनाउनुहुन्छ । 
तर विडम्बना ५००, हजार शुल्क तिरेका मानिसहरु हैरानी खेप्नुभन्दा त्यो पैसा माया मारेर छाडेका छन् । त्यसैले ठगीमा परेको भनेर जम्मा ३७ जना मात्रै प्रहरीको सम्पर्कमा आएका छन् । त्यही पनि उनीहरुको बील हेरेर प्रहरी कै पहलमा सम्पर्कमा ल्याइएको हो । 

महाशाखाका अनुसार उनीहरुको वीगो जम्मा रु १ लाख २० हजारको मात्रै देखिन्छ । तर करोडौँ रकम असुलेका ति सेन्टरले लिएको विगो रकम न्युन भएकाले मुद्दा कमजोर देखिने प्रहरीको मुद्दा शाखाका एक अधिकृत सुनाउनुहुन्छ । जसका कारण अब साधारण तारिख वा केही धरौटीमा छुट्ने सम्भावना बलियो देखिन्छ ।

मुलुकी अपराध संहिताको भाग २ को परिच्छेद २१ मा ठगी गर्न नहुने व्यवस्था रहेको छ । यसरी ठगी गरेको खण्डमा सात वर्षसम्म कैद र रु ७० हजारसम्म जरिवानाको स्पष्ट व्यवस्था छ । तर प्रहरीले न्युन विगो मात्रै फेला पारेपछि मुद्दा यसै कमजोर हुने हुँदा उनीहरु कानूनी कारवाही होला या नहोला भविश्यले देखाउने छ ।

प्रहरी अपरेशनमा फेला परेका जब सेन्टर र त्यसका सञ्चालक

उक्त घटनामा प्रहरीले विभिन्न जब सेन्टका नौ जनालाई पक्राउ गरेको छ । फागुन २२ गते काठमाडौँको बानेश्वरमा सोसाइटी वेलफेयर फ्यासलिटिज म्याजेनजमेन्ट सर्भिसका  सञ्चालक अर्घाखाँचीका भई अमर पाण्डे, सोही जिल्ला घर भई काठमाडौँको पेप्सिकोला बस्ने तिलकराम पाण्डे पक्राउ परे । उक्त कम्पनीले ठगी गरेको भनेर १३ जना व्यक्तिको उजुरी परेको छ । 

अन्य जब सेन्टरविरुद्ध २४ जनाको उजुरी छ । लमजुङ दूधपोखरी घर भई काठमाडौँको तारकेश्वर बसी बालाजु दूधपोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएका वर्ष २२ का आनन्द मरहठ्ठा र सिराहा घर भई ललितपुर बस्ने एनएन मल्टिपर्पाेज प्रालिका सञ्चालक विवेक यादव पनि ठगीकै आरोपमा पक्राउ परेका छन् ।

यस्तै ओखलढुङ्गा घर भई काठमडौँ बस्ने एविएस जब एण्ड ट्रेनिङ सेन्टर र हलेसी सेक्युरिटी सर्भिसका सञ्चालक  वर्ष २८ का अश्विन राई, सिन्धुलीको फिक्कल घर भई कोटेश्वरमा सिन्धु रोजगारी सेवा सञ्चालक गर्दै आएका वर्ष २२ का घनश्याम पहाडीलाई पनि कानुनी दायरामा ल्याइएको छ । 

चाबहिलस्थित प्राश्ना जब इन्टरनेशनल मल्टिपर्पोज प्रालिका सञ्चालक सिर्जना लामिछाने, कोटेश्वरस्थित क्वीकमाण्डु एमपि प्रालिका सञ्चालक ज्ञानु न्यौपाने, सोही ठाउँमा अनमोल जब मल्टिपल प्रालि सञ्चालन गर्दै आएका रामवचन कुमार यादव पनि पक्राउ परेका छन् । 

यसरी बाहिर आयो जब सेन्टरको ठगी धन्दा ?

एक महिना अघि नै प्रहरीकोमा जब सेन्टरको नाममा ठगिएको भनेर गुनासा आएको थियो । महानगरीय प्रहरी वृत्त बानेश्वरमा उक्त सूचना प्राप्त भएको थियो । केही घटनामा पैसा फिर्ता गराएर पठाइएको पनि थियो । 

अच्चम्मको कुरो त के छ भने उक्त समूहले कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईँको जागिर पक्का भइसकेको छ भनी सम्पर्क मै रहेको अर्को जब सेन्टरमा पठाई त्यहाँसमेत फारम भरी शुल्क असुल्ने र त्यहाँबाट पुनः अर्काे सेन्टरमा पठाएर फेरि शुल्क लिने तेहेरो तरिकाले ठगी गरिरहेका पाइएको छ ।  

तर उजुरी आउने क्रम रोकिएन । पछि महानगरीय अपराध महाशाखामा पनि सूचना आयो । केही निवेदनसमेत परेपछि प्रहरीले थप अनुसन्धान थाल्यो । आफ्नै पहलमा पनि मशाखाकाले पीडितको खोजी गर्यो । उनीहरुबाट ठएिगका मानिसहरु खुल्दै आए ।

महाशाखाले के हो त जब सेन्टरको ठगी भनेर झण्डै दुई हप्ता लगाएर अनुसन्धान गर्यो । हेर्दा ३००/५०० शुल्क लिएर ठगी गरेको देखिन्छ, जब ग्यारेन्टी भनेर आश्वासन दिएकाको हकमा ५ हजारसम्म असुलेको पाइन्छ । 

शुरुमा त ५००, हजारका सामान्य जस्ता घटना देखिएपछि अपरेशन चलाउने की नचलाउने भन्ने महाशाखाको टोली नै दोधारमा पर्यो ।

हेर्दा घटना सामान्य नै भए पनि सयौँ मानिस फसेका र यदी कारवाहीको दायरामा आए अन्य मानिस फस्नबाट जोगिन का लागि ठुलो सचेतना हुनसक्छ भन्ने निष्कर्षका साथ अपरेशन चलाएको महाशाखाका एक प्रहरी अधिकृतले नेपाल विजनेश डटकमसँगको कुराकानीमा बताउनुभयो ।

उनीहरूले जब प्लेसमेन्ट कम्पनी दर्ता गर्ने र उक्त कम्पनीका सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचार पम्पलेटका माध्यमबाट सम्पर्कमा आएका व्यक्तिमाथि ठगी गर्ने गरेका महानगरीय अपराध मशाखाकाको भनाइ छ । ति सेन्टरले घरमै बसी जागिर मिल्छ भनी झुटा प्रचारप्रसार पनि गर्दै आएका थिए । 

सम्पर्कमा आई शुल्क तिरेर फारम भर्ने व्यक्तिलाई विज्ञापनमा उल्लेखित शर्तबमोजिमको काममा नलगाउने तथा जागिरमा लगाइहाले पनि तोकिएबमोजिम तलब र सुविधा नदिने र केही समयमा नै उक्त जागिर छोड्न बाध्य बनाउने गरेका थिए ।

अच्चम्मको कुरो त के छ भने उक्त समूहले कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईँको जागिर पक्का भइसकेको छ भनी सम्पर्क मै रहेको अर्को जब सेन्टरमा पठाई त्यहाँसमेत फारम भरी शुल्क असुल्ने र त्यहाँबाट पुनः अर्काे सेन्टरमा पठाएर फेरि शुल्क लिने तेहेरो तरिकाले ठगी गरिरहेका पाइएको छ ।  

उनीहरुले यसरी सञ्जाल नै विस्तार गरेर ठगी गरेका प्रहरीको दावी छ । अनुसन्धानमा काठमाडौँको बानेश्वरमा सोसाइटी वेलफेयर फ्यासलिटिज म्याजेनजमेन्ट सर्भिसले ४२ वटासम्म शाखा खोलेको पाइएको छ ।

अहिले कतिपय शाखा बन्द भइसकेका छन् । त्यसका सञ्चालक अमर पाण्डेले प्रहरीसँगको बयानमा १२ वटा शाखा रहेको स्वीकार पनि गरेका छन् । त्यही आफ्नो शाखामा मानिसलाई घुमाउँदै पैसा लिएर ठगी गर्ने नयाँ प्रवृत्ति देखिएको छ ।

यसरी काठमाडौँको कोटेश्वर, नयाँबानेश्वर, चाबहिल, बालाजुलगायत स्थानमा उनीहरुले कार्यालय खोलेर शुल्क असुल्ने धन्दा चलाएका थिए । 

कम्पनी दर्ता मै कैफियतको आशंका

उनीहरुको कम्पनी नै अवैध हो की भनेर कम्पनी रजिष्टारको कार्यालयमा प्रहरी टोली बुझ्न गयो । कम्पनी रजिष्टारलाई पत्राचार समेत भयो तर त्यहाँबाट जब सेन्टरको बारेमा एकीन सूचना नै नदिइएको गुनासो स्वयं प्रहरीको छ । 

कम्पनी रजिष्टारबाट जब सेन्टरको बारेमा एकीन सूचना नै नदिइएको गुनासो स्वयं प्रहरीको छ । 

“हामीले गरेको पत्राचारको कुनै जवाफ आएन, मलाई लाग्छ कम्पनी रजिष्टार कार्यालयमा पनि उनीहरुले उद्देश्य तोकेर जब सेन्टर दर्ता गरेका छन् जस्तो लाग्दैन, त्यहीँ नै कैफियत छ”, घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भन्नुभयो । यस विषयमा अहिले सम्बन्धित क्षेत्रका प्रहरी वृत्तले थप अनुसन्धान गरिरहेको छ ।

“जब कसरी लगाउने, तालिमको कुरा होला, प्रशिक्षक छ की छैन, दर्ता गर्दा उनीहरुको विवरण स्पष्ट उल्लेख हुनुपर्छ, रोजगारदातको सम्पर्क पनि हुनुपर्छ, त्यो केही पनि छैन, उद्देय अनुरुपसमेत छैन”, ति प्रहरीले भन्नुभयो । कार्यालयले कति जब सेन्टर भनेर विवरण नदिएको पनि प्रहरीको गुनासो छ ।

धमाधम पैसा फिर्ता गर्दै जब सेन्टर 

पक्राउ परेको घटना सार्वजनिक भएपछि अहिले यता जब सेन्टरले धमाधम पैसा फिर्ता गर्न थालेका छन् ।

पक्राउ परेका व्यक्तिका जब सेन्टरमार्फत र अन्य पक्राउ नपरेका सेन्टरका प्रतिनिधिले अहिले यो घटना सार्वजनिक भएपछि धमाधम पैसा फिर्ता गर्न थालेका पाइएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवर जब सेन्टरमा आएका मध्य ९० प्रातिशत ठगीमा परेको दावी गर्नुहुन्छ । उनीहरुको नियत नै ठगी गर्ने उद्देश्यले खोलेको पाइएको उहाँ बताउनुहुन्छ । 

पक्राउ परेपछि अन्यले पीडितहरु नै खोजेर पैसा फिर्ता दिइरहेका जनाइएको छ । दोहोरो विगो पर्यो भने जरिवाना बढी लाग्छ भनेर उनीहरु त्यतातर्फ लागेका हुन् ।

प्रहरीको निगरानीमा कतिपयले पैसा फिर्ता दिएको भनेर जानकारी गराएका छन् । अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवर जब सेन्टरमा आएका मध्य ९० प्रातिशत ठगीमा परेको दावी गर्नुहुन्छ । उनीहरुको नियत नै ठगी गर्ने उद्देश्यले खोलेको पाइएको उहाँ बताउनुहुन्छ । 

जागिरको बहानामा चोकचोकमा पर्चा बाँड्न लगाएर तेरो जागिर यही हो भनेर समेत ठगी गरेका थिए । यो घटनाले अब अन्य सेन्टरहरु डराएका छन् । यस्ता ठगीबाट अब मानिस सचेत हुन्छन् भन्ने प्रहरीलाई लागेको छ । अन्य जब सेन्टरमा पनि प्रहरीले निगरानी बढाइरहेको छ ।