४ जेठ, २०८१ शुक्रबार

10:57:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यसरी फिर्ता आयो अमेरिका पुगेका बहुमूल्य सम्पदा, एउटैको मूल्य करोड बढी

१८ फागुन, २०७८

हालसम्म वेलायतबाट १९, अष्ट्रियाबाट १, अमेरिकाबाट १४, तिब्बतबाट १८, कोलकाताबाट १३, जर्मनीबाट १ थान गरी ७६ थान मूर्ति तथा कलात्मक वस्तु फिर्ता ल्याइयो

यसरी फिर्ता आयो अमेरिका पुगेका बहुमूल्य सम्पदा, एउटैको मूल्य करोड बढी

नेपाल विजनेश समाचारदाता,
काठमाडौँ, 

नेपाल सताब्दीऔँ अघि चोरिएर अमेरिका पुगेका साँस्कृतिक सम्पदा मध्यको तीन महत्वपूर्ण कलात्मक वस्तु स्वदेश भित्र्याउन सफल भएको छ । 

अमेरिकाको एक सङ्गहालय र अर्को एक ग्यालरीमा राखिएका  तीन थान सम्पदा कुटनीतिक पहल गरी स्वदेश ल्याइएको छ ।

उक्त वस्तु नेपालको हो भन्ने यकिन भएपछि स्वयं प्रतिनिधिहरु आफैँले कलात्मक मूति लिएर आएका थिए । उहाँहरुले आज (बुधबार)  तीन थान सम्पदा पुरातत्व विभागलाई उपलब्ध गराएका छन् ।  

अमेरिकाको एक सङ्गहालय र अर्को एक ग्यालरीमा राखिएका  तीन थान सम्पदा कुटनीतिक पहल गरी स्वदेश ल्याइएको छ । यसरी ल्याइएकामा काठको कलात्मक तोरण, उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला र मल्लकालिन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति छ । नेपालको तेह्रौँदेखि १७औँ सताब्दीका पुरातात्विक सम्पदा स्वदेश भित्रिएको छ । 

एउटैको करोड बढी मूल्य

१७औँ सताब्दीको काठको कलात्मक तोरणको मूल्य एक लाख १० हजार अमेरिकी डलर (रु एक करोड १० लाखबढी ) र १४औँ सताब्दीको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला २२ हजार डलर (रु २२ लाख बढी) मूल्यको रहेको पुरातत्व विभागले जनाएको छ ।

१३ औँ सताब्दीको मल्लकालिन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्तिको मूल्य ३० हजार  डलर (रु ३० लाखबढी) रहेको छ । ती मूर्ति तथा कलात्मक वस्तु चोरी गरी अमेरिका पुर्याइएका थिए । 

रुविन म्युजिएममा थिए दुई मूर्ति 

प्राप्त पुरातात्विक महत्वका तीन वस्तुमध्ये ‘रुविन म्यूजियम अफ आर्ट’ अमेरिकाबाट प्राप्त भएका दुई वटा छन् । जसमध्ये एउटा सत्रौँ सताब्दीको कलात्मक काष्टतोरण हो ।

यो ललितपुरको यम्पीमहाविहार (इवही) को प्रवेशद्धारमाथि रहकोमा मर्मत गर्ने क्रममा झिकिएको थियो । सन् १९८५ पछि कुनै वर्ष उक्त वस्तु चोरी भएको थियो । अर्को १४औँ सताब्दीतिरको उडिरहेको गन्धर्वको आकृति कूँदिएको काठको कलात्मक वस्तु रहेको छ । 

उक्त सम्पदा काठमाडौँ महानगरपालिका–२४ को इटुम्बहाल परिसरमा रहेको शाक्यको कूलपूजा गर्ने देवाली घरको अगाडि पहिलो तलामा रहेको दायाँतर्फको झ्यालको हो ।

सन् १९९७ मा उक्त सम्पदा हराएको थियो । यसरी हराएको सम्पदा विभिन्न माध्याम हुँदै अन्त्यमा दातामार्फत उपहारको रुपमा अमेरिकाको उक्त संग्रहालयमा पुगको पाइएको छ ।

उक्त वस्तु फिर्ताका लागि म्युजिएमले आफ्नै प्रयासमा कुटनीतिक पलहमा ल्याइएको हो । सम्पदा लिएर उक्त म्युजिएमका कार्यकारी निर्देशक जारिट वित्स्ची र उक्त सङ्ग्रहालयका प्रवन्ध निर्देशक मिचेल वेनेट सिमोरेल्ला आउनुभएको थियो ।

सङ्गहालयले आफ्नै खर्चमा सम्पदा ल्याएको जानकारी गराइएको छ ।  मूर्ति हसतान्तरण समारोहमा पर्यटनमन्त्री प्रेमबहादुर आले र सचिव महेश्वर न्यौपाने सहभागि हुनुहुन्थ्यो ।

अर्को सम्पदा तिवेत हाउस ग्यालरीबाट ल्याइयो

अर्को एउटा भने अमेरिकाको न्युयोर्कस्थित तिबेत हाउस ग्यालरीबाट ल्याइएको हो । १३औँ सताब्दीको मल्लकालिन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति रहेको छ ।

उक्त मूर्ति श्री सभानन्दा नामका वुद्धिष्ट अनुयायीले उक्त स्थानमा संरक्षण गरी राख्नु भनी उपहार स्वरुप छाडेर गएका पाइएको छ । उक्त मूर्ति काठमाडौँको ओम बहालस्थित न्हुछेबहाको रहेको छपाइएको छ । त्यहाँबाट कसैले चारी गरी लगेको थियो । 

सन् १९५० पूर्व नेपालबाट कति यस्ता वस्तु बाहिरिए त्यसको अभिलेख छैन । तर विश्वका विभिन्न प्रख्यात संग्रहालयहरुमा यस्ता कलातमक वस्तुहरु रहेको पाइएको छ । हजारौँ संख्याका वस्तुहरु बाहिरिएको छ । धेरै मूतिहरु अझै विभिन्न मुलुकका सङ्ग्रहालयमा रहेका छन् ।

अहिलेसम ७६ मूर्ति ल्याइयो, अझै कति चोरिएका छन् यकिन छैन 

पर्यटनको विकासका लागि १९७० देखि ९० को दशकमा बढी यस्ता वस्तु निकासी भएको अनुमान छ । हालसम्म वेलायतबाट १९, अष्ट्रियाबाट १, अमेरिकाबाट १४, तिब्बतबाट १८, कोलकाताबाट १३, जर्मनीबाट १ थान गरी ७६ थान मूर्ति तथा कलात्मक वस्तु फिर्ता ल्याइसकिएको छ । 

अमेरिका फ्रान्स, बेलायत, अष्ट्रिेलिया जसता देशहरुबाट अन्य केही वस्तुको फिर्ताका लागि कुटनीतिक पहल भइरहेको छ ।  यस्ता पुरातात्विक तथा ऐतिहासिक सम्पदा कति छन् यकिन छन ।