२ मंसिर, २०८१ आइतबार

11:40:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महासंघद्वारा एमसीसीको स्वागत, परियोजना पूर्णरुपमा कार्यान्वयन हुनुपर्ने

१६ फागुन, २०७८

महासंघद्वारा एमसीसीको स्वागत, परियोजना पूर्णरुपमा कार्यान्वयन हुनुपर्ने

काठमाण्डौं

नेपाल उद्योग वाणिज्य महासंघले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पूर्णरुपमा कार्यान्वयनको चरणमा जानुपर्ने बताएको छ । सोमबार विज्ञप्ती मार्फत एमसीसीको स्वागत गर्दै विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतको काम सुरु हुने आशा महासंघको छ ।

प्रतिनिधिसभाबाट केही बुँदाहरुमा रहेको अस्पष्टता समेतलाई प्रष्ट पार्दै त्यसको व्याख्यात्मक घोषणाका साथ सम्झौता अनुमोदन भएकोमा अब यसका विषयमा रहेका सबै भ्रमहरु चिरिने विश्वास महासंघको छ ।

महासंघका अनुसार नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्छ । 

कोभिड १९ ले सिर्जित परिस्थितिका कारण आन्तरिक स्रोत खुम्चिएको छ भने वैदेशिक सहायता पनि अपेक्षाकृत बढन नसकेको महासंघको भनाई छ । सम्झौता कार्यान्वयन हुँदा महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्नुका साथै दीर्घकालमा विद्युत निर्यात एवं प्रविधि हस्तान्तरणको समेत ढोका खुल्ने महासंघले जनाएको छ । 

एमसीसी अन्तर्गतका आयोजना सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागि समेत नमुना बन्न सक्ने छ । अब यसबाट प्रतिफल लिन सम्झौता कार्यान्वयनका लागि मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) ले तदारुकताका साथ काम गर्नुपर्ने महासंघको आग्रह छ । यसका लागि सरोकारवाला सबैले खबरदारी गर्नु पनि आवश्यक छ । 
 
पूर्वाधार विकास, आर्थिक वृद्धि र रोजगारी सिर्जनाका कुनै पनि क्रियाकलाप कुनै पनि बहानामा प्रभावित हुनु हुदैन भन्नेमा महासंघ स्पष्ट छ । सम्झौता अनुमोदनबाट समग्रमा नेपालमा लगानीको वातावरण रहेको सन्देश विश्व समुदायसम्म पुुग्ने र यसबाट भविष्यमा अन्य वैदेशिक लगानी एवं सहायता समेत भित्रिने विश्वास महासंघको छ ।