२ जेठ, २०८१ बुधबार

09:18:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

झुत्रा नोट नष्ट गर्न आधुनिक मेसिनको प्रयोग

१३ फागुन, २०७८

शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले बीएसबीएस मेसिनको ‘स्वीच अन’ गरेर यसको शुभारम्भ गर्नुभयो ।

झुत्रा नोट नष्ट गर्न आधुनिक मेसिनको प्रयोग

काठमाण्डौं

नेपाल राष्ट्र बैंकले काम नलाग्ने झुत्रानोटहरु नष्ट गर्नका लागि अत्याधुनिक मेसिन ल्याएको छ । यस अघि आगोले जलाएर नोटहरु नष्ट गर्ने गरिएको थियो । अब मेसिनले नोट नष्ट गर्नेछ । नष्ट गरिएका नोटहरुबाट  ब्रिकेट (गुइँठा) उत्पादन हुनेछ । यस्ता गुइँठाहरु आगो ताप्न प्रयोग गर्न सकनेछ ।

नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को विराटनगर कार्यालयमा सञ्चालनमा ल्याइएको छ ।

शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले बीएसबीएस मेसिनको ‘स्वीच अन’ गरेर यसको शुभारम्भ गर्नुभयो । चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा बीएसबीएस मेसिनको प्रयोगमार्फत स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने उद्देश्यले उक्त प्रणाली अवलम्बन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

थापाथलीस्थित बैंकको निर्माणाधीन भवनसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा उक्त प्रणाली जडान गरी सञ्चालनमा ल्याउने बैंकको योजना छ ।

यसै अवसरमा गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा बीएसबीसको सुरुवात एउटा महत्वपूर्ण उपलब्धि रहेको धारणा राख्नु भयो ।

बीएसबीएसमार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको जानकारी उहाँले दिनुभयो । साथै बीएसबीएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको गभर्नर अधिकारीले बताउनु भयो ।  

बीएसबीएस मेसिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्र्याएर ब्रिकेट तयार गर्दछ । उक्त मेसिनमा दुई वटा खण्ड रहन्छन् ।

पहिलो खण्डले नोटलाई टुक्र्याउने कार्य गर्छ भने दोस्रो खण्डले टुक्र्याइएको नोटबाट ब्रिकेट तयार गर्छ । उक्त मेसिनमा एक पटकमा २०० केजीसम्म नोट राख्न सकिन्छ र मेसिनले प्रतिघण्टा १०० केजी नोटलाई टुक्र्याउने क्षमता राख्छ । यसरी टुक्र्याइएको नोटलाई प्रतिघण्टा २०० केजीको दरले प्रशोधन गरी ब्रिकेट तयार गर्न सकिन्छ ।

बीएसबीएस मेसिनलाई प्रतिवर्ष १ हजार घण्टासम्म सञ्चालन गर्न सकिनेछ । यस्तो ब्रिकेट ईंटाभट्टा, कागज कारखाना, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजनमा समेत उपयोगी हुने विश्वास लिइएको छ ।

थापाथलीस्थित बैंकको निर्माणाधीन भवनसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा उक्त प्रणाली जडान गरी सञ्चालनमा ल्याउने बैंकको योजना छ ।

यी मेसिनहरू नेदरल्याण्डबाट आयात गरिएको हो । राष्ट्र बैंकका अनुसार बीएसबीएसमार्फत नोट धुल्याउने पद्धतिलाई नीतिगत रूपमा व्यवस्थित गर्ने गरी नोट धुल्याउनेसम्बन्धी प्रचलित नियमावलीमा आवश्यक संशोधन गर्ने प्रक्रियासमेत अघि बढाइएको छ ।