३ जेठ, २०८१ बिहिबार

05:14:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुहारीहरुको आकर्षण, मैयादेवी कन्या क्याम्पस

२४ माघ, २०७८

बुहारीहरुको आकर्षण, मैयादेवी कन्या क्याम्पस

चितवन

आजभोली चितवनको मैयादेवी कन्या क्याम्पसमा अध्ययन गर्न बुहारीहरुको आकर्षण बढेको छ । यस क्याम्पसमा ७० प्रतिशतसम्म विवाहित (बुहारी) हरुले अध्ययन गर्ने गरेका छन् । विवाहपछि परिवारबाट सुरक्षित ठानिएपछि बुहारीको आकर्षण बढेको हो ।

क्याम्पसका प्रमुख डा. विश्वराज सुवेदीका अनुसार स्नातकोत्तरमा ७० प्रतिशत छात्रा विवाहित छन् । स्नातकमा यो प्रतिशत ४० भन्दामाथि रहेको छ । कक्षा ११ र १२ मा पनि विवाहित छात्रा आउने गरेको सुवेदीले जानकारी दिनुभयो । क्याम्पसमा शिक्षा, मानविकी, व्यवस्थापन र नर्सिङ पढाई हुँदै आएको छ । हाल १ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।

महिला सशक्तिकरणका लागि उच्च शिक्षा भन्ने नाराका साथ क्याम्पस स्थापना भएको हो । समाजसेवी मैयादेवी श्रेष्ठले भरतपुर महानगरपालिका वडा नं १० मा १२ कठ्ठा जमिन खरिद गरी भौतिक निर्माण गरेर क्याम्पस सञ्चालनमा आएको हो । विसं २०५४ असोज १६ गते स्थापना भएको यस क्याम्पसमा सुरुआती चरणमा व्यवस्थापनमा १२ र शिक्षामा ३० विद्यार्थीले अध्ययन गर्दथे । यी दुई सङ्कायमा स्नातक तहको पहिलो वर्षमा ३७६ विद्यार्थी पुगेका छन् ।

प्रमुख सुवेदीले भन्नुभयो, विवाहितलाई यो क्याम्पस सुरक्षित महसुस हुने गरेको छ, परिवारले पनि यही पढाउने चाहना गर्न थालेको पाइएको छ ।यसै कारण तराई क्षेत्रबाट समेत विद्यार्थी आउनेक्रम बढेको सुवेदीले जानकारी दिनुभयो । 

उहाँले थप्नुभयो, यहाँ चितवनसहित २५ जिल्लाका विद्यार्थी छन्, तराईमूलका विद्यार्थी आउनेक्रम बढेर गएको छ । महिलाहरुको मात्रै पढाई हुने हुँदा विवाहित र तराईका छात्राको आकर्षण बढेको हो । केही वर्षअघिसम्म विद्यार्थीको अभावमा प्राध्यापक कर्मचारीले लामो समय पारिश्रमिक नपाउने समस्या रहेको थियो । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेल ११ महिनासम्म तलब खुवाउन नसकेको विगत सम्झँदै भन्नुहुन्छ, म अध्यक्ष भएपछि प्राविधिकसहितको कार्यक्रम थप गर्ने, गुणस्तरमा सुधार ल्याउने जस्ता कार्यले आकर्षण बढेको हो । समाजसेवी एवं राजनीतिक मैयादेवी श्रेष्ठको नामले पनि धेरैलाई आकर्षित गरेको उहाँको भनाइ छ ।

क्याम्पसले १ करोड २५ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । आगामी वैशाखसम्ममा कोषमा १ करोड ४० लाख पु¥याइँदै छ । सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेल भन्नुभयो, हामी छात्रालाई आवश्यकताअनुसार निष्पक्ष ढङ्गबाट छात्रावृत्ति वितरण गर्दछौँ । 

स्वच्छ वातावरणमा गुणस्तरीय शिक्षा र भेदभावरहित छात्रावृत्तिले पनि थप आकर्षण गरेको पौडेल बताउनुहुन्छ । उहाँले थप्नुभयो, यो क्याम्पस सबै हिसाबबाट उत्कृष्ट बन्दै गएको छ, गुणस्तरीय शिक्षाले गर्दा विगतमा झै विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्थामा अन्त्य भएको छ । अन्यत्र जस्तो विद्यार्थी राजनीतिका कार्यक्रम यस क्याम्पसमा कम हुने गर्दछन् । यसले गर्दा पठनपाठन प्रभावित नहुने र गुणस्तरीय शिक्षा दिन सकिएको पौडेलको भनाइ छ । 

क्याम्पसले १ करोड २५ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । आगामी वैशाखसम्ममा कोषमा १ करोड ४० लाख पु¥याइँदै छ । पौडेलले भन्नुभयो, हामी छात्रालाई आवश्यकताअनुसार निष्पक्ष ढङ्गबाट छात्रावृत्ति वितरण गर्दछौँ । क्याम्पसका छात्रा दुई पटक देशमै उत्कृष्ट भएको र धेरै पटक जिल्ला प्रथम भएको जनाउँदै उहाँले यहाँबाट उत्कृष्ट भएका ७ छात्रा यही प्राध्यापक रहेको बताउनुभयो । क्याम्पसमा प्राध्यापक कर्मचारी गरी ७५ जनाले रोजगारी पाएका छन् । क्याम्पसमा छात्रावास र यातायातको सुविधासमेत दिइएको छ । रासस