३ मंसिर, २०८१ सोमबार

05:08:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

व्यापारीहरु कारोबार लुकाएर छल्छन् कर : १८ करोड छलीमा ३६ करोडको मागदावी

Nepal Business

२१ माघ, २०७८

 व्यापारीहरु कारोबार लुकाएर छल्छन् कर : १८ करोड छलीमा ३६ करोडको मागदावी

नेपाल विजनेस समाचारदाता,
२१ माघ ।  नेपालमा वास्तविक कारोबार नगरी नक्कली बीजक बनाउने र वास्तविक कारोबार भने लुकाउने धन्दा मौलाउँदै गएको छ । जसबाट राज्यका लागि करबाट प्राप्त हुने ठुलो धनराशी (ढुकुटी) मा क्षति हुँदै आएको छ । 

मिलेमतोमा वस्तु तथा सेवा वेगरको कर विजक मात्र लिई, आफूले व्यावसायिक रुपमा गरेका सम्झौता अनुसारको प्राप्त हुने आयलाई लुकाइ वास्तविक कारोबारमा समावेश नगरी कर छलेको 

यस्तै कर छलीका घटनामा केही व्यापारीहरु मुछिएका पाइएको छ । केही व्यक्तिको मिलेमतोमा वस्तु तथा सेवा वेगरको कर विजक मात्र लिई, आफूले व्यावसायिक रुपमा गरेका सम्झौता अनुसारको प्राप्त हुने आयलाई लुकाइ वास्तविक कारोबारमा समावेश नगरी कर छलेको पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

उक्त कर छलीप्रकरणमा एक भारतीय व्यापारी समेत संलग्न छन् । विभागले दिएको जानकारी अनुसार उक्त घटनामा चन्द्रबहादुर अधिकारी, अञ्जली अरोरा (भारतीय), सुमन क्षेत्री र सुरेन्द्र क्षेत्री सहभागि भएका पाइएको छ । 

उनीहरु नेपालको ब्रिङ मिडिया डिष्ट्रिव्यूसन प्रालि र भारतको जुपिटर मिडिया डिष्ट्रिव्यूसन प्रालिसँग सम्बन्धित रहेका पाइएको छ । लामो अनुसन्धानपछि विभागले १८ करोड २७ लाख विगो बराबरको कर छली गरेको निष्कर्ष निकाल्दै शतप्रतिशत जरिवाना र व्याजसहित असुलको मागदावी लिइ उच्च अदालत  पाटनमा मुद्दा दर्ता गरेको छ । उक्त विवरण अनुसार साँढे ३६ करोड असुलको दावी गरिएको छ ।

कहाँका को हुन् चार आरोपी ?

विभागले काठमाडौँ महानगरपालिका ७, चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिव्यूसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, काठमाण्डौ महानगरपालिका १० बस्ने स्टार इण्डिया प्रालि भारतका आधिकारीक बिक्रेता जुपिटर मिडिया डिष्ट्रिव्यूसन प्रालिका  प्रोप्राईटर अञ्जली अरोरा, काठमाण्डौ महानगरपालिका १० बस्ने ब्रिङ मिडिया डिष्ट्रिव्यूसनका व्यवस्थापक सुरेन्द्र क्षेत्री र सुमन क्षेत्री विरुद्ध मुद्दा चलाएको छ ।

यस्तो छ उनीहरु माथिको आरोप 

ब्रिङ मिडिया डिष्ट्रिव्यूसनले विभिन्‍न फर्म, कम्पनीहरुसँग वस्तु तथा सेवा वेगरको कर विजक मात्र लिई, आफूले व्यावसायिक रुपमा गरेका सम्झौता अनुसारको प्राप्त हुने आयलाइ लुकाइ वास्तविक कारोबारमा समावेश नगरेको पाइएको ।

व्यवसायिक कारोबारका लागि प्रालिको नाममा खोलिएका बैंक खातामा जम्मा भएको रकमलाई वास्तविक कारोबारमा समावेश नगरी देखाउनु पर्ने वास्तविक कारोबार नदेखाई र नपाउने खर्च समेत दावी गरेको  । मूल्य अभिबृद्धि करतर्फ क्रेडिट दाबी र आयकरतर्फ खर्च दाबी गरी मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको ।

सजाय मागदावी

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ को उपदफा )क), (ज) र (झ) बमोजिम कसूर गरेको पुष्टी भएको विभागको ठहर छ । 

उक्त ऐनको दफा दफा २ (छ१) (क) र (ख) बमोजिमको मूल्य अभिवृद्धि कर रकम रु  ६,११,५५,५१८, लाभांस करसमेत आयकरतर्फ रकम रु १२,१६,२८,२३७ समेत गर्दा हुन आउने कूल राजस्व रकम रु १८ करोड २७ लाख ८३ हजार ७५२ विगो बराबरको राजस्व छली गरेको विभागले जनाएको छ । 

सोही ऐनको दफा २३ (१) बमोजिम विगो असूल गरी बिगोको शत प्रतिशत जरिवाना र दफा २३(१)को खण्ड (घ) बमोजिम सजाय गरी ऐनको दफा २३(४) बमोजिम व्याजसमेत भराई पाउँ भन्ने मागदावी लिई उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरिएको जनाइएको छ ।