७ मंसिर, २०८१ शुक्रबार
01:04:58 AM
२१ माघ, २०७८
चितवन
चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या महिलाको बढि देखिएको छ । पुरुषको तुलनामा महिला बिरामी १० प्रतिशतले बढि रहेको अस्पतालको तथ्यांकले देखाएको छ । अस्पतालको तथ्याङ्क अनुसार कूल नयाँ क्यान्सरका बिरामीमध्ये ५५ प्रतिशत महिला र ४५ प्रतिशत पुरुष रहेका छन् ।
अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमका अनुसार नयाँ क्यान्सका बिरामीमध्ये दुई हजार ५१७ महिला र दुई हजार ९१ पुरुष रहेका छन् । २५ हजार हाराहारी पुराना क्यान्सरका बिरामी रहेको उँहाले बताउनुभयो । गत आर्थिक वर्षमा अस्पतालमा ९० हजार ५७१ ले सेवा लिएका थिए । जसमा चार हजार ६०८ नयाँ क्यान्सरका बिरामी थिए ।
कार्यकारी निर्देशक डा.गौतमले अघिल्ला वर्षको तुलनामा कोभिडका कारण गत वर्ष बिरामीको सङ्ख्या कम देखिएको र त्यस अवधिमा महिलाको सङ्ख्या बढ्दै गएको बताउनुभयो ।
महिलालाई धेरै पाठेघर, पित्तथैली, आमाशय, थाईराइड र कलेजोमा ल्युकेमिया, कोलनजस्ता क्यान्सर हुने गरेको र पुरुषलाई भने आमाशय, पिसाबथैली, ल्यारेक्स, कलेजो, ल्युकेमिया र जिब्रोमा रेक्टम, कोलनजस्ता क्यान्सर बढी हुने गरेको उँहाले जानकारी दिनुभयो ।
अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा बढी १२ प्रतिशत फोक्सोको क्यान्सर, धेरै पाठेघरको मुखको क्यान्सर १०.१७ प्रतिशत, स्तन क्यान्सर १०.११ प्रतिशत र मुखभित्रको क्यान्सर ९.५ प्रतिशत रहेका थिए ।
डा.गौतमले क्यानसर हुन यहि कारण हो भनेर भन्न नसकिए पनि स्तन र पाठेघरको मुखको क्यान्सर बढी भएका कारण महिलाको संख्या बढ्दै गएको उँहाको भनाई छ। पुरुष प्राय उपचारका लागि विदेश जाने तर धेरैजसो महिलाको यही उपचार हुने भएकाले पनि महिलाको तथ्याङ्क बढेको हुन सक्ने उँहाको अनुमान गरिएको छ । उँहाले नेपालमा २५ हजार हाराहारी नयाँ बिरामी थपिने जानकारी दिनुभयो । तीमध्ये आधाभन्दा बढी उपचारका लागि विदेश जाने उँहाले बताउनुभयो ।
समयमै उपचार गरे धेरैजसो क्यान्सर निको हुन्छ । सुर्तीजन्य पदार्थ, मदिरा र लागु पदार्थले क्यान्सर बढाउने गर्दछ । बासी, सडेगलेका र ढुसी परेका खानेकुरा, पोलेर वा डढेको मासुलगायत खानेकुरा र अखाद्य रङ प्रयोग गरेका खानेकुरा खाएमा क्यान्सर हुन सक्छ । धुलो, धुँवा र वातावरणीय प्रदूषणबाट जोगिन, नियमित शारीरिक व्यायाम गर्न, मौसम अनुसारका सागपात, तरकारी र फलफूलको नियमित सेवन गर्नुपर्छ ।
अस्पतालका महिला क्यान्सर रोग विशेषज्ञ डा.विजय आचार्यले महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर धेरैजसोलाई हुने भएकाले महिलाको सङ्ख्या बढ्नामा एउटा कारण हुनसक्ने बताउनुभयो । पुरुष विदेश गएर उपचार गराउने र प्राय महिलाको नेपालमै उपचार हुने भएर सङ्ख्या बढेको हुन सक्ने उहाँको पनि आँकलन छ ।
यहाँको क्यान्सर अस्पतालमा गत वर्ष थोरै सङ्ख्यामा उपचार भएकाले यही तथ्याङ्कको आधार नै सही हो भन्न सक्ने अवस्था नरहेको पनि उँहाले बताउनुभयो । पहिले–पहिले दुई तीन प्रतिशत पुरुष बढी क्यान्सर रोगी हुने गरेको अस्पतालका पूर्वकार्यकारी निर्देशक समेत रहनुभएका आचार्यको भनाइ छ ।
सोही अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा.अनिलविक्रम कार्कीले महिलामा जनचेतना बढेका कारण परीक्षण गराउन आउने सङ्ख्या बढेको हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाठेघरको मुख र स्तनजस्ता क्यान्सर घटाउन स्थानीयस्तरमा जनचेतनाका कार्यक्रम गर्नुप¥यो ।’ स्क्रिनिङ कार्यक्रम गरेर परीक्षण गर्ने र व्यापक जनचेतना जगाउन सकेमा क्यान्सर रोकथाम गर्न सहज हुने उहाँको भनाइ छ ।
अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माले खानपान र आनीबानीबाट आधाभन्दा बढी क्यान्सर रोग घटाउन सकिनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘समयमै उपचार गरे धेरैजसो क्यान्सर निको हुन्छ । सुर्तीजन्य पदार्थ, मदिरा र लागु पदार्थले क्यान्सर बढाउने गर्दछ । बासी, सडेगलेका र ढुसी परेका खानेकुरा, पोलेर वा डढेको मासुलगायत खानेकुरा र अखाद्य रङ प्रयोग गरेका खानेकुरा खाएमा क्यान्सर हुन सक्छ ।’ धुलो, धुँवा र वातावरणीय प्रदूषणबाट जोगिन, नियमित शारीरिक व्यायाम गर्न, मौसम अनुसारका सागपात, तरकारी र फलफूलको नियमित सेवन गर्न पनि उँहाहरुले सुझाव दिनुभयो ।
रासस