३ मंसिर, २०८१ सोमबार

05:57:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमा बैदेशीक लगानीका उद्योग बढे, ६ महिनामा ३० अर्ब प्रतिवद्धता

Nepal Business

२० माघ, २०७८

नेपालमा बैदेशीक लगानीका उद्योग बढे, ६ महिनामा ३० अर्ब प्रतिवद्धता

काठमाण्डौं

चालु आर्थिक वर्ष २०७८/०७९ को ६ महिनाको अवधिमा ३० अर्ब भन्दा बढि विदेशी लगानी नेपाल भित्रिएको छ । उद्योग विभाग मार्फत उद्योगमा लगानी गर्न पाउने नेपाल सरकारको कानुनी व्यवस्था अनुसार उद्योग विभागमा यस आर्थिक वर्षको ६ महिनाको अवधिमा १ सय २९ वटा विदेशी लगानीका कम्पनीहरु दर्ता भएका हुन ।

उद्योग विभागमा स्थापना गरिएको एकल विन्दु सेवा केन्द्र मार्फत स्वदेशी तथा विदेशी लगानीका कम्पनीहरु दर्ता हुँदै आएका छन् । यसरी पछिल्लो ६ महिनामा १ सय २९ वटा कम्पनी सञ्चलान गर्न ३० अर्ब रुपैयाको प्रतिवद्धता आएको हो । गत वर्ष यही अवधिमा २३ अर्ब ४७ करोड रुपैयाँ विदेशी लगानीको प्रतिवद्धता आएको थियो । यसैबीच हालसम्म तीन खर्ब ९५ अर्ब ४२ करोड रुपैयाँको विदेशी लगानी प्रस्तावसहितका पाँच हजार ३६६ उद्योग दर्ता भएको विभागले जनाएको छ । 

विभागका महानिर्देशक रामचन्द्र तिवारीले मुलुकमा औद्योगिक वातावरण बन्दै जानु, नीतिगत तथा प्रशासनिक सुधार, लगानीकर्तालाई सेवा सुविधा र सहजीकरण, लगानीका अवरोधलाई सुधार गर्दै लगेसँगै उद्योग स्थापनाका क्रम बढेको जानकारी दिनुभयो ।

यस्तै स्वदेशी चालु आर्थिक वर्षको ६ महिनामा १५४ उद्योग दर्ता भएका छन् । विभागका अनुसार हालसम्म आठ हजार ६०८ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका छन् । यससँगै रोजगारीको अवसर पनि बढेको छ । 

विभागले चालु आर्थिक वर्षको पुसमसान्तसम्म १३ हजार ७४८ रोजगारी प्रस्तावित भएको विभागले जानकारी दिएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म उद्योग स्थापनाबाट छ हजार २८८ रोजगार भएका थिए ।