४ जेठ, २०८१ शुक्रबार

09:04:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राजस्व चुहावट रोक्न ‘टास्क फोर्स’ बनाइने

Nepal Business

१८ माघ, २०७८

राजस्व चुहावट रोक्न ‘टास्क फोर्स’ बनाइने

१८ माघ । अर्थमन्त्री जनार्दन शर्माले राजस्व राष्ट्रको रगत पसिना भएकाले त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताउनुभएको छ । आज केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई भर्चुअलरुपमा सम्बोधन गर्दै उहाँले राजस्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने बताउनुभयो । 

राजस्व चुहावट नियन्त्रण गर्न ‘अपरेशन’ आवश्यक रहेको भन्दै उहाँले यसलाई गृहमन्त्रालय र प्रहरी प्रशासनले विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो 

उहाँले राजस्व चुहावटलाई नियन्त्रण गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिनुभयो । “चुहावट नियन्त्रण आजैबाट सुरु गर्नुपर्छ”, मन्त्री शर्माले भन्नुभयो । यसका लागि आवश्यक बजेट तथा अन्य व्यवस्था गर्न अर्थ मन्त्रालयले कुनै कन्जुस्याइँ नगर्ने उहाँले बताउनुभयो ।

राजस्व चुहावट नियन्त्रण गर्न ‘अपरेशन’ आवश्यक रहेको भन्दै उहाँले यसलाई गृहमन्त्रालय र प्रहरी प्रशासनले विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । सो अपरेशनका लागि विशेष टोली वा ‘टास्क फोर्स’ बनाइने उहाँले उल्लेख गर्नुभयो  । सँगसँगै नीतिगत सुधारलाई पनि लिएर जानुपर्ने उहाँको भनाइ छ ।

मन्त्री शर्माले आममानिसमा चेतना नहुँदा पनि कतिपय राजस्व चुहावट भइरहेको औँल्याउनुभयो । सचेतनामूलक सन्देश फैलाउन आवश्यक रहेको उहाँले बताउनुभयो । यसरी सन्देश फैलाएर सर्वसाधारणमा चेतना पैदा भई सम्पूर्ण निकाय मिलेर राजस्व चुहावटविरुद्ध लागे ८० देखि ९० प्रतिशतसम्म नियन्त्रण गर्न सकिने उहाँको भनाइ थियो । 

कामा रहेका प्रहरी, कर्मचारीलगायतलाई तालिमको व्यवस्था, द्रुत गतिमा संरचनागत तथा प्रविधिको विकास गर्नेलगायत कार्यले पनि राजस्व चुहावटमा कमी ल्याउन सकिने उहाँले बताउनुभयो । पछिल्लो समय डिजिटल प्रविधिमार्फत् राजस्व चुहावटका घटना बढेका छन् । क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, डिजिटल नेटवर्किङलगायतका ‘अवैध’ कार्य भइरहेका छन् ।

यससँगै आय खर्चको गलत घोषणा गर्ने, कानुनको गलत व्याख्या गर्ने, नक्कली बीजक तथा अन्तशुल्क स्टिकरको प्रयोग गर्ने, भन्सारबिन्दुको नजिकै गोदाम राखेर चोरी पैठारी गर्ने लगायतका प्रवृत्ति देखिँदै आएका छन् । त्यस्तै भन्सारबाट सुन, चाँदी, विद्युतीय सामग्री, पशु चौपाया, घरायसी मालवस्तुलगायतमा राजस्व चुहावट बढी हुने गरेको छ ।