२ जेठ, २०८१ बुधबार

07:01:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महिला लघुवित्तको नाफा ५०.५० प्रतिशत

१६ माघ, २०७८

 महिला लघुवित्तको नाफा ५०.५० प्रतिशत

काठमाण्डौं
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ करोड १८ लाखभन्दा बढी खुद नाफा आर्जन गरेको छ । यो  कम्पनीले गत वर्षको तुलनामा ५०.५० प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म ५ करोड ४३ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यो कम्पनीको सञ्चालन नाफा भने ४१.५८ प्रतिशत कम भएको छ ।

गत वर्ष  ६ करोड ५२ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यो वर्ष  ३ करोड ८१ लाखभन्दा बढी नाफा गरेको हो । यो वर्ष सम्भावित जोखिम शिर्षकमा बढी रकम छ्ट्याएकाले कम्पनीको सञ्चालन नाफा घटेको हो । गत वर्ष २ करोड ४८ लाखभन्दा बढी सम्भावित जोखिम शिर्षकमा रकम छ्ट्याएको कम्पनीले यस वर्ष ८ करोडभन्दा बढी छुट्याएको हो ।

सञ्चालन नाफा घटेपनि खराब कर्जा संकलन गत वर्षभन्दा यस वर्ष बढेकाले कम्पनीको खुद नाफा वृद्धि भएको हो । गत वर्ष २ करोड २ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यो वर्ष ९ करोड १५ लाखभन्दा बढी यो कर्जा संकलन गरेको छ

२०७७ साल फागुनमा सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको कम्पनीले पहिलो वर्षमै ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७÷ ७८ को मुनाफाबाट चुक्तापूँजी  १० करोडको आधारमा ४७.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव मंसिर २२ गतेको वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी १४ करोड ७५ लाख पुगेको छ । गत वर्षको तुलनामा कम्पनीको जगेडा कोष रकम २७ प्रतिशत वृद्धि भई २३ करोड १७ लाखभन्दा बढी पुगेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट गत वर्षभन्दा करीब ३० प्रतिशत बढी अर्थात्  २ अर्ब ४४ करोड कर्जा सापटी लिएको छ भने ३८.९४ प्रतिशत बढी अर्थात्  ३ अर्ब ९१ करोड कर्जा प्रवाह गरेको छ ।

गत वर्षभन्दा यस वर्ष कम्पनीले ४३.५७ प्रतिशत बढी अर्थात्  १ अर्ब १२ करोड निक्षेप संकलन गरेको छ । गत वर्ष १.४५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष २.८४ प्रतिशत पुगेको छ । कम्पनीको दोस्रो त्रैमाससम्मको प्रतिशेयर आम्दानी  ११०.९७ र प्रतिशेयर नेटवर्थ रू. २५७.१३ रहेको छ ।