१४ बैशाख, २०८१ शुक्रबार

04:17:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाली सोच नेपाली ब्राण्ड, यि हुन स्थापित डिजिटल पेमेन्ट एपहरु

१४ माघ, २०७८

नेपाली सोच नेपाली ब्राण्ड, यि हुन स्थापित डिजिटल पेमेन्ट एपहरु

काठमाण्डौ । 

नेपाल विजनेश संवाददाता
सरकारले विद्युतीय प्रणालीबाट भुक्तानी गर्न जोड दिँदै आएको छ । यसका लागि सरकारले कानुन पनि निर्माण गरेको छ । जसका कारणले विद्युतीय भुक्तानी गर्नेको संख्या बढ्दो छ । र यसमा कोरोना भाइरसले थप सहयोग गरेको छ । भाइरस संक्रमणका कारण भौतिक दूरी कायम गर्नुपर्ने लगायतका कारणले सेवाग्रहीहरु डिजिटल कारोबारतिर आर्कषित भएका हुन् । तर अझै डिजिटल भुक्तानीले बजारको ठूलो हिस्सा ओगट्न सकेको छैन । नेपालमा विद्युतीय प्रणालीबाट काम गर्ने कम्पनीहरु धेरै छैनन् । नेपालमा मुख्य रुपमा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने केहि कम्पनीहरु यस प्रकार छनः

इसेवा 

  सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको ईसेवाले नगद रहित अर्थतन्त्र निर्माणका लागि काम गरिरहेको नेपालको पहिलो विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी हो । र नेपालकै पहिलो मोबाइल खाता कम्पनी पनि । 

इसेवाले आफ्नो १३ औँ वर्ष पुरा गरेर १४ औँ वर्षमा लागेको छ। यस अवधिमा कम्पनीमा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख नाघेको छ भने अप्रत्यक्ष रुपमा करिब एक करोड ५० लाख जनसंख्याले ईसेवा मार्फत सेवा लिइरहेको कम्पनीले जानकारी दिएको छ। इसैगरी हाल कम्पनीका देशभर करिब १ लाख ३० हजार एजेन्ट ईसेवा जोन तथा पोइन्ट रहेका छन्। हालसम्म ईसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या करिब ५० लाख पुगिसकेको छ । कम्पनीमा हाल मर्चेन्टको संख्या २ लाखभन्दा बढी रहेका छन्।
मोबाइल तथा इन्टरनेट बैंकिङको सफ्टवेयर प्रदायक कम्पनीमा एफ १ सफ्ट इन्टरनेशनल को एक सहायक कम्पनीको रुपमा इसेवा रहेको छ । 
हाल नेपालको ७७ वटै जिल्लामा पहुँच रहेको छ भने ४० हजारभन्दा बढि व्यवसायी, ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्  । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
इसेवा प्रयोग गर्न पहिले इसेवामा खाता खोल्नु पर्छ । यसका लागि पहिले इसेवा एप डाउनलोड गरि रजिष्टर गर्नुपर्छ । यसरी रजिष्टर गर्दा तपाईको मोबाइल नम्बर नै इसेवाको आइडी हुनेछ । 

सेवाहरु

इसेवामार्फत मोबाइल रिचार्ज र टपअप, टेलिफोन बिल, हवाइजहाज र बस टिकट, बिजुली तथा खानेपानीको बिल, इन्टरनेटको बिल, टेलिभिज रिचार्ज, मुभि टिक, होटल बुकिङ, स्कुल फि, इन्स्योरेन्स प्रिमियम, डिम्याट खाता तथा नविकरण, क्रेडिड कार्ड बिल भुक्तानी, अनलाइन सपिङ, बैंक डिपोजिट गर्न सकिन्छ । यो सबै मोबाइलबाटै हुन्छ । यसरी भुक्तानी गर्दा मासिक ५० सय देखि दुई हजारसम्म बचत गर्न सकिन्छ । 

खल्ती

 नेपाल राष्ट्र बैंकले सन् २०१७ देखि खल्ती डिजिटल वालेटलाई भुक्तानी सेवा प्रदायक कम्पनीका रुपमा स्वीकृती दिएको थियो । राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्योट विनियमावली २०७२’ बमोजिम खल्ती दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमतिप्राप्त कम्पनी हो । यस कम्पनीलाई नेपाली युवा उद्यमीहरूको समूहले सञ्चालनमा ल्याएको हो । 

खल्तीले अहिले १८ देखि २० प्रतिशत बजार ओगटेको कम्पनीका सिइओ विनय खड्काले जानकारी दिनुभयो । उँहाका अनुसार ६० बैंकसँग सम्झौता गरेको कम्पनीले मासिक करिब ३ अर्ब रुपैयाँको कारोबार गर्ने गरेको छ । खल्तीमा १३० भन्दा बढिले रोजगारी पाएका भने नेपालभर २० लाखभन्दा बढि ग्राहक रहेको पनि उँहाले जानकारी दिनुभयो । उँहाले भन्नुभयो, ‘देशभर २० लाख ग्राहक हुनुहुन्छ । केवाइसी भेरिफाइ ग्राहक भने ५ लाख हुनुहुन्छ।’ ३४ सयभन्दा धेरै एजेन्टहरु बजारमा छन् । नेपालभर ४० हजारभन्दा बढि खल्ती पसल रहेका छन् । 

सेवाहरु 

मोबाइल रिचार्ज गर्ने, किनमेल गर्ने, राजश्व बुझाउने, बिजुली, खानेपानी, टेलिफोन, इन्स्योरेन्स, इन्टरनेटको महशुल बुझाउने, प्लेन तथा मुभीको टिकट लिनसक्ने र मोबाइलबाटै भुक्तानी गर्न सकिन्छ । 

आइएमई पे

आईएमई ग्रुपअन्तर्गतको आईएमई–पे डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको छ।

हालसम्म आईएमई पेका नेपालभर नेपालभर १० लाख प्रयोगकर्ता छन् भने २५ हजार एजेन्ट नेर्टवक, ३ हजार मर्चेट र दुई लाख वित्तीय साक्षरताबाट लाभान्वित भएका छन् ।
‘आईएमई–पे’ ले मोबाइल वालेट एप ‘आइएमई पे’ लाई आफ्नो फोनमा डाउनलोड गरी प्रमाणीकरण गरिएपछि विभिन्न सेवा लिन सकिन्छ । 

सेवाहरु

‘आईएमई–पे’ बाट बिजुली तथा खानेपानीको बिल, फोनको बिल, मोबाइलको रिचार्ज, टिभीको रिचार्ज, हवाई जहाज तथा बसको टिकट, पेट्रोलपम्पमा भुक्तानी, केबलकारको टिकट, सिनेमाको टिकट, मोटरसाइकल तथा गाडीको मासिक भुक्तानीदेखि लिएर रेस्टुराँहरू तथा अन्य पसल तथा स्टोरहरूमा पनि रकम भुक्तान गर्न सकिन्छ । 

प्रभु पे 

 प्रभु ग्रुपले सन् २०१४ मा सञ्चालनमा ल्याएको प्रभु पे नामक डिजिटल वालेटले विद्युतीय भुक्तानी सम्बन्धी सेवा दिइरहेको छ । यो सेवा लिन मोबाइल वालेटका लागि प्रभु पे डाउन डाउनलोड गर्नुपर्छ। त्यसपछि सबै सुविधा लिन मिल्छ ।

एपमा बैंक, को–अपरेटिभ, लघुबित्त लगायतका सम्पूर्ण आर्थिक कारोबारका क्षेत्र समेटेको छ। प्ले स्टोरमा उपलब्ध हुने सो एपमा आई ओ एस समेत उपलब्ध छ । यसमा एक लाखसम्मको दुर्घटना विमा दिने सुविधा छ । नियमित ग्राहकलाई १० लाखसम्मको बीमाको सुविधा पनि छ । देशभरमा प्रभुका प्रयोगकर्ता छन् भने मर्चेट र टेनर्वक पनि रहेको कम्पनीले जानकारी दिएको छ । 

सेवाहरु

प्रभु पे मार्फत पैसासँग सम्बन्धित बैंक तथा वित्तीय संस्थाको खाता बाट पैसा ट्रन्सफर गर्न, बिजुली, पानी लगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, प्रभु टिभी रिचार्ज गर्न, एनसीएचएल डिपोजिट गर्न सकिने छ। एपबाट युनियन पे र क्युआर कोड स्क्यान गरेरै पैसा तिर्न सकिनेछ। 

सेल पे

 नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर विगत ३ वर्षदेखि सेल पेले डिजिटल भुक्तानी सेवा दिँदै आएको छ । यो पनि एक मोबाइल खाता हो । मोबाइलमा सेल पे एप डाउनलोड गरेर केवाइसी विरण भरेर यसको प्रयोग गर्न सकिन्छ । थप जानकारीका लागि सेलपे मा सम्पर्क गर्दा कुनै जानकारी उपलब्ध गराइएन । 

सेवाहरु

सेल पेबाट विभिन्न दुरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्ट, सिनेमा हलमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पिटुपी, पिटुबी, पिटुजी, बिटुपी, बिटुबी, बिटुजी आदि सेवा लिन सकिन्छ । 
यसका साथै सेल पे ले बिक्रेताहरुको हकमा आफ्नो व्यवसाय सेलपेमा आवद्ध गरी ग्राहकले सेलपे मार्फत गरेको भुक्तानी रकम तुरुन्तै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। सेल पे चलाउनेहरुले सेल वालेट, बैंक खाताहरु आवद्ध, सेलपे लोयल्टी, कारोवारहरु गर्न सकिन्छ ।

सरकार पनि विद्युतीय प्रणालीबाट भुक्तानी गर्दै 

नेपाल क्लियरिङ हाउस एनसीएचएलले संघीय सरकारले आव २०७७÷७८ मा आफूले गर्ने खर्चको ९० प्रतिशत रकम डिजिटल माध्यमबाटै भुक्तानी गरेको जानकारी दिएको छ । सीएचएलका अनुसार सरकारले गर्ने आम्दानीको ८ देखि १० प्रतिशत हिस्सा डिजिटल माध्यमबाट आर्जन गरेको हो । 
नेपाल वित्तीय पारदर्शिता, दक्षता सुधारदेखि डिजिटल फाइनान्सको पहुँच विकासमा सरकारले डिजिटल भुक्तानीलाई आत्मसात् गर्नुकै कारण रहेको एनसीएचएलले जानकारी दिएको छ ।

योसंगै विभिन्न डिजिटल पेमेन्ट एपहरु बजारमा आईसकेका छन् । कतिपय आउनेक्रममा रहेका छन् । कतिपय आएरपनि बेटा भर्जनमै सञ्चालन भईरहेका छन् । यि बाहेकका अन्य मोवाईल पेमेन्ट एपको बारेमा पनि हामी आगमी दिनमा थप जानकारी दिँदै जानेछौं ।