३ मंसिर, २०८१ सोमबार
12:22:38 PM
१२ माघ, २०७८
शैक्षिक सङ्ग्रहालय लगायतका कार्यमा भवनको उपयोग गरिने
काठमाण्डौं
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले केशरमहललाई पुननिर्माणपछि कुनै पनि व्यापारिक गतिविधि सञ्चालन नहुने र पहिलेकै पुस्तकालय सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाउनुभएको छ । केशरमहलमा व्यापारिक प्रयोजनका लागि निजी क्षेत्रलाई प्रवेश गराउने समाचार मङ्गलबारको गोरखापत्रमा प्रकाशित भएपछि उहाँले त्यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
यस प्रकारको गम्भीर विषयमा आफूहरूको ध्यानाकर्षण भएको भन्दै उहाँले केशरमहल शिक्षा मन्त्रालयको सम्पत्ति भएकाले जुनसुकै गिरोह लागे पनि त्यसलाई व्यापारिक प्रयोजनका लागि प्रयोग हुन नदिने स्पष्ट गर्नुभयो । केशरमहलमा पुस्तकालय रहन्छ, पुननिर्माण कार्य सकिनासाथ यसलाई शैक्षिक सङ्ग्रहालय लगायतका कार्यमा भवनको उपयोग गरिने मन्त्री पौडेलले बताउनु भयो । उहाँले बरु के कस्ता कार्यमा उपयोग गर्दा हुन्छ भन्ने सुझाव सबैसँग अपेक्षा गरेका छौँ भन्नुभयो ।
केशरमहलमा पुस्तकालय रहन्छ, पुननिर्माण कार्य सकिनासाथ यसलाई शैक्षिक सङ्ग्रहालय लगायतका कार्यमा भवनको उपयोग गरिने मन्त्री पौडेलले बताउनु भयो । उहाँले बरु के कस्ता कार्यमा उपयोग गर्दा हुन्छ भन्ने सुझाव सबैसँग अपेक्षा गरेका छौँ भन्नुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डेढ वर्षअघि केशरमहलको पुनर्निर्माणपछि त्यसको प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो । सो कार्यदलले व्यापारिक प्रयोजनमा लगाउन सकिने प्रतिवेदन तयार गरी गत साता शिक्षा मन्त्रालयका उच्च पदाधिकारीलाई ‘ब्रिफिङ’ गरेको थियो । स्वप्न बगैँचा विकास समितिले गराएको ‘ब्रिफिङ’ सुनेपछि पदाधिकारीहरूले मस्यौदाप्रति आपत्ति जनाउँदै यस कार्यलाई रोक्नु पर्ने सुझाव आएको थियो ।
स्वप्न बगैँचा विकास समितिलाई केशरमहल विकास समितिका रूपमा विकास गर्ने र त्यहाँ पर्यटन क्षेत्रसम्बन्धी व्यवसायका नाममा व्यापार गर्ने योजना थियो । स्वप्न बगैँचा विकास समिति गठन आदेशविपरीत त्यहाँका अधिकृतलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिइएको छ । गठन आदेशमा मन्त्रालयका उपसचिव रहने व्यवस्था छ ।
उपसचिवलाई पठाउँदा निजी क्षेत्रलाई प्रवेश गराउने लगायतका योजना अगाडि बढ्न नदिन विकास समितिका सदस्यहरूको पहुँचका कारण निमित्तलाई जिम्मेवारी दिइएको खुल्न आएको छ । शिक्षामन्त्री पौडेलले यसबारे आफूले अब विस्तृत अध्ययन गरी अगाडि बढ्ने बताउनुभयो ।