३ जेठ, २०८१ बिहिबार

10:27:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विश्व बैंकले सरकारलाई उपलब्ध गराउदै आएको ऋण बैंक तथा वित्तीय संस्था मार्फत दिँदा बजारमा स्थायित्व ल्याउनेः अध्यक्ष गोल्यान

Nepal Business

५ असोज, २०७९

विश्व बैंकले सरकारलाई उपलब्ध गराउदै आएको ऋण बैंक तथा वित्तीय संस्था मार्फत दिँदा बजारमा स्थायित्व ल्याउनेः अध्यक्ष गोल्यान

काठमाण्डौं । सिबीफिनका अध्यक्ष पवनकुमार गोल्यानले विश्व बैंकले नेपाल सरकारलाई दिँदै आएको ऋण र अनुदानलाई बैंक तथा वित्तीय संस्था मार्फत उपलब्ध गराउने हो भने यसले साँच्चिकै तरलताको हिसाबले बजारमा स्थायित्व ल्याउने, बजारमा मूल्य स्थिरता हुने र व्यवसायिक वातावरणमा सुधार हुने धारणा राख्नुभयो ।

नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले विश्व बैंकसँगको सहकार्यमा वस्तुको मूल्य र आर्थिक विकास सम्बन्धी बृहत अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष गोल्यानले भन्नुभयो, ‘जब भारतीय रुपैयाँलाई नेपाली रुपैयाँसँग अनपेग गर्ने कुरा आउँछ, यसले वस्तु र सेवाहरूको मूल्यहरू अझ बढाउनेछ जुन उपभोक्ताहरूलाई अझ गाह्रो हुनेछ ।’ 

यस्तै उहाँले सिबिफिनले बृहत राष्ट्रिय आर्थिक मुद्दाहरूमा अनुसन्धान गर्दै आएको र नीतिगत मुद्दाहरूमा निजी क्षेत्रको दृष्टिकोणबाट देशकै उत्कृष्ट संस्थाको रूपमा उदाइरहेको दावी गर्नुभयो । 

कतिपय नीतिग विषयहरु सुधारका लागि नेपाल सरकारलाई दिएका सुझावहरू प्रमाणमा आधारित र व्यावहारिक रूपमा परिणत भएका भन्दै उहाँले विश्व बैंकसँगको सहकार्यले नेपालजस्तो मुलुकलाई विद्यमान दुर्लभ स्रोत परिचालन गरी दिगो आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल आर्थिक संघका कार्यकारी समिति सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. पोषराज पाण्डेले व्यापार घाटा, कृषि क्षेत्रको बृद्धि, सामाजिक सुरक्षा संजाल, वित्तीय घाटा लगायतका समस्याहरुको बारेमा चर्चा गर्नुभएको थियो । 

यस्तै विश्व बैंकका प्रमुख अर्थशास्त्री डा. हान्स टिमरले दक्षिण एशियाले, श्रोत साधनको पर्याप्त सदुपयोग गर्ने, विश्वस्तरमा पनि भइरहेको मूल्यवृद्धिको यथार्थलाई बेवास्ता नगरी तत्कालका लागि स्वदेशी उत्पादनमा वृद्धि गरेर परिस्थितिलाई समायोजन गर्नुपर्ने सुझाब दिनुभयो ।

डा. टिमरले यस महत्वपूर्ण समयमा आफ्नो जीविकोपार्जनको लागि घरपरिवार लगायत समष्टिगत आर्थिकस्तर र व्यापारको स्तरमा लचिलोपन बढाउन आवश्यक रहेको पनि सुझाव दिनुभयो । 

आयात बढ्दै गएको अवस्थामा पनि नेपालले वैदेशिक स्रोतसाधनमा राम्रो पहुँच राख्ने भएकाले अहिले सोचे जस्तो अवस्था नरहेको भन्दै टिमरले संघीय सरकारका विभिन्न स्थानीय तहमा उपलब्ध स्रोत साधनको प्रभावकारी उपयोग गरी राजस्व परिचालनमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

यस्तै, युक्रेन–रसिया युद्ध जस्ता विश्वव्यापी घटनाहरूले इन्धनको मूल्य बृद्धि भएका कारण विश्वव्यापी रुपमा नै खाद्यान्नको मूल्य बढाएको उहाँले बताउनुभयो ।

त्यस्तै नेपाल आर्थिक संघका महासचिव तथा कार्यक्रम सञ्चालक डा।गोपालप्रसाद तिवारी ले साना तथा मझौला उद्योगको दिगो प्रवर्द्धनको लागि संकटको समयमा नयाँ मोडेल नै विकशित गरेर लागु गर्नुपर्ने बताउनुभयो।