४ जेठ, २०८१ शुक्रबार

04:08:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्षमा राष्ट्र बैंकले आफैँ खरिद गर्यो ४१ अर्ब ८६ करोडको ट्रेजरी बिल

३ असोज, २०७९

चालु आर्थिक वर्षमा राष्ट्र बैंकले आफैँ खरिद गर्यो ४१ अर्ब ८६ करोडको ट्रेजरी बिल

काठमाडौं । चालु आर्थिक वर्ष लागेपछि नेपाल राष्ट्र बैंक आफैंले ४१ अर्ब ८६ करोड बराबरको ट्रेजरी बिल खरिद गरेको छ । राष्ट्र बैंकले असोज २  गते आइतबार २८ दिन, ९१ दिन र १८२ दिन अवधिको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गरेको थियो । जसमध्ये २८ दिन अवधिको २ अर्बको ट्रेजरी बिल बोलकबोल गरेको थियो ।

२ अर्ब नै बैंकहरुलाई नवीकरण गरिएको छ । जसको डिस्काउन्ट रेट न्यूनतम ८.७८०६ प्रतिशत र अधिकतम ९.१९९७ प्रतिशत तथा औसत ८.९३३५ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै आइतबार नै राष्ट्र बैंकले ९१ दिनको ५ अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गरेको थियो । जसमध्ये २ अर्ब ४२ करोड राष्ट्र बैंकले नै खरिद गरेर ३ अर्ब ११ करोड बैंकहरुलाई नवीकरण गरिएको छ । जसको डिस्काउन्ट रेट न्युनतम ८.९९० र अधिकतम ११.२२१८ प्रतिशत तथा औसत ९.८७४७ प्रतिशत कायम भएको छ ।

आइतबार नै बोलकबोल भएको १८२ दिन अवधिको ४ अर्ब ३० करोडको ट्रेजरी बिल नवीकारणका लागि बोलकबोल भएकोमा २ अर्ब ३९ करोडको ट्रेजरी बिल राष्ट्र बैंकले नै खरिद गरेर १ अर्ब ९१ करोड मात्रै बैंकहरुलाई नवीकरण गरेको छ । जसको डिस्काउन्ट रेट न्यूनतम ९.१ प्रतिशत र अधिकतम ९.९९०१ प्रतिशत कायम भएको छ भने औसत ९.६६७६ प्रतिशत कायम भएको छ ।

पछिल्लो पटक राष्ट्र बैंकले ट्रेजरी बिल्स लगातार आफैँले खरिद गरेर ब्याजदर एकल विन्दुमा झार्न सफल भएको थियो। ब्याजदर एकल विन्दुमा आइसकेपछि केन्द्रीय बैंकले केही समययता ट्रेजरीमा हस्तक्षेप नगरी बैंक तथा वित्तीय संस्थालाई नवीकरण गर्न दिएको थियो।

तर आइतबारको बोलकबोलमा ब्याजदर पुनः डबल डिजिटमा पुग्ने अवस्था भएकोले पुुनः राष्ट्र बैंकले हस्तक्षेप गरेको छ। राष्ट्र बैंकले ब्याजदर नियन्त्रण गर्नका लागि पछिल्लो समय ट्रेजरी बिल आफैं किन्दै आएको छ ।

बैंक तथा वित्तीय संस्थाले बढी ब्याज माग गर्दा सरकारलाई बढी भार पर्ने हुनाले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको केन्द्रीय बैंकको भनाइ छ।