१५ बैशाख, २०८१ शनिबार

02:43:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अछाममा विपदले विनास्, पहिरोमा पुरिएर २१ को मृत्यु : घर, गाईबस्तु, अन्न सबै बगायो

Nepal Business

१ असोज, २०७९

शनिबार बिहान साढे ३ बजेतिर गाउँमा ठूलो आवाज आएको थियो । के भयो भनेर जम्मा हुन नपाउँदै दुई घर पहिरोले बगाइसकेको थियो ।

अछाममा  विपदले  विनास्, पहिरोमा पुरिएर २१ को मृत्यु : घर, गाईबस्तु, अन्न सबै बगायो

अछाम 
तीन दिनदेखिको झरीसँगै शुक्रबार राति खसेको पहिरोले घरभित्रै च्यापिएर अछामका ४ ठाउँमा २१ जनाको मृत्यु भएको छ । २ जना बेपत्ता छन् । 

निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार शनिबार साँझसम्म तुर्माखाँद गाउँपालिका–५ नाडामा आठ जनाको शव फेला परेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार शनिबार साँझसम्म तुर्माखाँद गाउँपालिका–५ नाडामा आठ जनाको शव फेला परेको छ ।

त्यहाँ एक जना अझै बेपत्ता छन् । ढकारी–६ ढुंगाचाल्नामा एक जनाको शव फेला परेको छ । एक जना बेपत्ता छन् । कमलबजार नगरपालिका–६ हात्तीबाँझमा ७ र ८ नम्बर वडाको डुंगालामा ५ जनाको मृत्युु भएको हो ।

डुंगालामा एकै परिवारका २६ वर्षीय गम्भीर दमाई, उनकी २३ वर्षीया श्रीमती भाना, ६ वर्षीया छोरी सरस्वती, ४ वर्षीया छोरी कल्पना र ३ वर्षका छोरा कालुको पहिरोमा च्यापिएर मृत्यु भएको हो । कमलबजार–६ मा पनि एकै परिवारका सात जनाको पुरिएर ज्यान गएको छ । 

३० वर्षीया अमृता कामी, १७ वर्षीया सरिता, १ वर्षीया आराधना, ९ वर्षीय निखिल, ३६ वर्षीया मैनकला, १५ वर्षीया गीता र १२ वर्षीया सिरु कामीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

स्थानीय रमेश शाहीका अनुसार तुर्माखाँद–५ काँडाचौरका ४५ वर्षका नेत्रबहादुर शाही, उनकी ३५ वर्षीया श्रीमती मनीषा, १७ वर्षीया छोरी विमला, भतिजी १७ वर्षीया जानकीको शव पहिरोले पुरिएको अवस्थामा भेटिएको थियो । 

रितबहादुर शाहीकी कान्छी बुहारी २१ वर्षीया भावना, माइली बुहारी कमला, १७ वर्षकी छोरी कल्पना, १३ वर्षीय छोरा सुन्दर र १ वर्षीया नातिनी मेलिना शाहीको पनि मृत्यु भएको बताए ।

 ‘शनिबार बिहान साढे ३ बजेतिर गाउँमा ठूलो आवाज आएको थियो । के भयो भनेर जम्मा हुन नपाउँदै दुई घर पहिरोले बगाइसकेको थियो । त्यहाँका ४ जनाको शव भेट्टायौं,’ मृतकका आफन्तसमेत रहेका उनले भने, ‘यी दुई परिवारका आफन्त बम्बैमा छन् ।’

घर पुरिँदा घाइते भएका ढकारी–६ ढुंगाचाल्नाका ३ जनालाई शनिबार सेनाको हेलिकोप्टरबाट सुर्खेत अस्पताल लगिएको छ । 

एकै परिवारका ६२ वर्षका हर्क बुढा, उनकी कान्छी बुहारी २१ वर्षीया चन्द्रा, १२ वर्षका नाति धर्मलाई हेलिकोप्टरले सुर्खेत लगेको परिवारका सदस्य निर्मल बुढाले बताए । 

‘डेढ वर्षको भतिजा नवीनको घटनास्थलमै मृत्यु भयो । भाउजू (नवीनकी आमा) चद्रादेवी पनि गम्भीर घाइते छिन्,’ उनले भने, ‘गाईबस्तु, अन्न, सबै बगाएको छ ।’

कमलबार, तुर्माखाँद र ढकारी आपसमा जोडिएका स्थानीय तह हुन् । राति एक्कासि पानी बढेसँगै माथिबाट जमिन थर्केर पहिरो खस्दा केही घर पुरिएको र केही भत्काएको हो । 

स्थानीयका अनुसार ठूलो आवाज आए पनि झन्डै आधा घण्टासम्म पानी दर्किएका कारण बाहिर हेर्नै सकिएन । 

घटना भएको गाउँ कमलबजार–८ पुग्न अछाम मंगलसेनबाट गाडीमा ३ घण्टा लाग्छ भने ढकारी र तुर्माखाद ६ घण्टा टाढा छन् ।

ठाउँठाउँमा सडक अवरुद्ध भएका कारण सदरमुकामबाट त्यहाँ सुरक्षाकर्मीलाई पुग्नै हम्मे परेको छ । घटनाको जानकारी समयमै पाए पनि प्रहरी टोली ७ घण्टा ढिला शनिबार १० बजे मात्रै पुग्न सकेको थियो ।