६ जेठ, २०८१ आइतबार

05:01:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वाणिज्य बैंकहरुको नाफा बढ्यो, कसको कति ? प्रति सेयर नाफामा एनआईसी अगाडि

९ माघ, २०७८

वाणिज्य बैंकहरुको नाफा बढ्यो, कसको कति ? प्रति सेयर नाफामा एनआईसी अगाडि

काठमाण्डौ ।  

नेपाल विजनेश संवाददाता ।  


चालु आर्थिक वर्षको ६ महिनामा अधिकांश बाणिज्य बैंकले अर्ब माथि नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेका छन । तर एक दर्जन बढी बैंकको प्रतिसेयर आम्दानी अर्थात इपिएस घटेकाले सेयरमा लगानी भएका लगानीकर्ताले भने कम प्रतिफल पाउने भएका छन ।  

 ५० प्रतिशत भन्दा बढी नाफा बढाउँनेमा नेपाल एसबिआइ बैंक, सेञ्चुरी बैंक, सिद्धार्थ बैंक रहेको छ । 

अहिले नेपालमा २७ वटा वाणिज्य बैंक छन । एक/दुई बैंक बाहेक सबै बाणिज्य बैंकले वित्तिय विवरण सार्वजनिक गरिसकेका छन । बैंकहरुले नै सार्वजनिक गरेको वित्तिय विवरणलाई आधार मान्ने हो भने समग्रमा बैंकहरुको नाफा करिब १२ प्रतिशतले बढेको देखिएको छ । 
ऋणको बृद्धिदर बढी हुँदा बैंकहरुको विजनेस बढेको देखिएपनि नाफामा भने सन्तोषजनक प्रगति गर्न नसकेको नेपाल बैंकर्स संघका उपाध्यक्ष समेत रहेका एनमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताउँनु भयो । उहाँले भन्नुभयो, “केही महिना यता देखिएको लगानी योग्य रकमको अभावका कारण पनि बैंकहरुमा दबाब परेको छ । स्प्रेडदरमा कमी आएको छ । यसकारण बैंकहरुले बढी नाफा गर्न सकेनन ।” 
वित्तीय विवरण सार्वजनिक गर्ने मध्ये एक दर्जन भन्दा बढी बैंकले अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन । जसमध्ये ग्लोबल आइएमई, एनआइसी एसिया र नबिल बैंकको नाफा २ अर्ब रुपैयाँ माथि छ । अर्ब बढी नाफा कमाउँनेमा मेगा बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड, माछापुछ्रे लगायत रहेका छन  ।  सबैभन्दा बढी नाफा कमाउँने ग्लोबल आइएमइ बैंक रहेको छ । यसले २ अर्ब ६६ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ ।  प्रभु बैंक,  कुमारी बैंक, प्राइम बैंक, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंकको नाफा भने घटेको छ । 

प्रतिशतको हिसाबमा भने सबैभन्दा बढी सिभिल बैंकको रहेको छ । यसले १४८.४२ प्रतिशतले नाफा कमाएको छ । लक्ष्मी बैंक, बैंक अफ काठमाडौको नाफा २ प्रतिशत भन्दा कम छ । ५० प्रतिशत भन्दा बढी नाफा बढाउँनेमा नेपाल एसबिआइ बैंक, सेञ्चुरी बैंक, सिद्धार्थ बैंक रहेको छ । 

प्रतिसेयर आम्दानीमा एनआइसी एशिया अगाडि

लगानीकर्तालाई बैंकहरुले दिने प्रतिफल अर्थात प्रतिसेयर आम्दानीमा भने मिश्रित देखिएको छ । अधिकांश वाणिज्य बैंकको प्रतिसेयर आम्दानी ईपीएस घटेका कारण सर्वसाधारणले पाउने प्रतिफलमा समेत कमी आउने देखिएको छ । प्रतिसेयर आम्दानीमा भने एनआइसी एसिया बैंकक अगाडि रहेको छ । 
एनआइसी एसिया बैंकको प्रतिसेयर आम्दानी अहिले ४१ रुपैयाँ ४३ पैसा रहेको छ । यो बैंकको सेयरमा लगानी हुनेहरुको सेयर आम्दानी ५ रुपैयाँ ७० पैसााले बढेको छ । सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी पनि गत वर्षको यहि अवधिको तुलनामा १० रुपैयाँ ४१ पैसाले बढेको छ । चालु आर्थिक वर्षको ६ महिनासम्ममा यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ १२ पैसा रहेको छ । सिभिल बैंक, एनसीसी बैंक, सेञ्चुरी, एस बिआइको पनि प्रतिसेयर आम्दानी बढेको छ । 
राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक, प्रभु बैंक, कृषि विकास बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, नेपाल  बंगलादेश बैंक, सिटिजन्स बैंक लगायतको प्रतिसेयर आम्दानी भने घटेको छ । अहिले एक दर्जन बढी बैंकको प्रतिसेयर आम्दानी घटेको छ ।

के हो प्रतिसेयर आम्दानी ?

प्रतिसेयर आम्दानीले प्रतिकित्ता सेयर बराबर कम्पनीले कति आम्दानी गर्यो भन्ने देखाउँछ । कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कूल सेयर संख्याले भाग गर्दा प्रतिसेयर आम्दानी प्राप्त हुन्छ ।