६ जेठ, २०८१ आइतबार

04:07:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुरक्षण मुद्रण छापाखानाको स्थापना, बैक नोट नेपालमै छापिने

८ माघ, २०७८

सुरक्षण मुद्रण छापाखानाको स्थापना, बैक नोट नेपालमै छापिने

काठमाण्डौं
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वरमा १ सय ७७ रोपनीमा निर्मित सूचना प्रविधि पार्कमा सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रिन्टिङ प्रेस)का लागि आवश्यक उपकरण जडान गर्न थालिएको छ । छापाखाना सञ्चालनका लागि आवश्यक पर्ने उपकरणहरूमध्ये हाल सूचना प्रविधि पार्कको भवनमा छापाखानाका लागि अन्तःशुल्क स्टिकर छाप्ने दुई थान उच्च सुरक्षित डिजिटल मुद्रण मेसिन (हाई सेक्योर्ड डिजिटल प्रिन्टिङ मेसिन) र एक थान डाई कटिङ मेसिन जडान गरी छपाइको नमुना कामसमेत सम्पन्न भएको छ ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले पुसको अन्तिम विहिवार अर्थमन्त्री जनार्दन शर्माद्वारा छापाखानाको अवलोकन गरिएको जानकारी दिनुभयो । अर्थमन्त्रीबाट छापाखानाको अवलोकन भएको छ, उक्त अवसरमा हामीले नेपालमा नै अब अन्तःशुल्क स्टिकर छाप्न सकिन्छ भनेर प्रत्यक्ष रूपमा नमुना स्टिकर छापेर देखाएका हौँ, भन्दै उहाँले नेपालमा नै अब अहिले प्रयोगमा आएभन्दा गुणस्तरीय अन्तःशुल्क स्टिकर छाप्न सकिन्छ भन्ने प्रमाणित भएको बताउनु भयो । 
सरकारले छापाखानाका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गरी अन्तःशुल्क स्टिकर छाप्नका लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिदका लागि बजेट व्यवस्थापन गरेको खण्डमा स्वदेशमा नै अन्तःशुल्क स्टिकर छाप्न सकिने पौडेलले बताउनुभयो । सुरक्षण मुद्रण छापाखानाको अवलोकनका क्रममा अर्थमन्त्री शर्माले छापाखानाको कामलाई तीव्रता दिँदै अन्तःशुल्क स्टिकर छाप्ने मेसिन चाँडोभन्दा चाँडो सञ्चालन गर्न निर्देशन दिनुभएको थियो । 

सुरक्षण मुद्रण छापाखानाको अवलोकनका क्रममा अर्थमन्त्री शर्माले छापाखानाको कामलाई तीव्रता दिँदै अन्तःशुल्क स्टिकर छाप्ने मेसिन चाँडोभन्दा चाँडो सञ्चालन गर्न निर्देशन दिनुभएको थियो । 

हाल जडान गरिएका मेसिनले वार्षिक ६० करोड थान अन्तःशुल्क स्टिकर छाप्न सक्ने सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हरि बल्लभ घिमिरेले बताउनुभयो । आर्थिक वर्ष २०७७÷७८ मा विनियोजन भएको करिब ७३ करोड रुपियाँमध्ये उच्च सुरक्षित डिजिटल मुद्रण मेसिन, डाई कटिङ मेसिन र केही थान सूचना प्रविधिका उपकरण खरिद गरिएको हो ।

छापाखाना स्थापनाका लागि सरकारले चालू आर्थिक वर्ष २०७८÷०७९ मा १अर्ब २ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । राहदानी (पासपोर्ट), बैङ्क नोट, राजस्व स्टिकर लगायतका वस्तुको छपाइ स्वदेशमा नै गर्ने उद्देश्यले आर्थिक वर्ष २०७४÷७५ देखि सुरक्षण मुद्रण छापाखानाको काम थालिएको हो । 

राहदानी, बैङ्क नोट, अन्तःशुल्क स्टिकरलगायतका वस्तु छपाइबापत विदेशी मुलुकमा जाने रकमलाई स्वदेशमा नै रोक्ने र सुरक्षण मुद्रणसम्बन्धी सेवा र वस्तु विदेशी बजारमा उपलब्ध गराएबापत देशमा आम्दानी गर्ने उद्देश्यले सरकारले छापाखाना स्थापना गर्ने योजना अघि बढाएको हो ।