७ मंसिर, २०८१ शुक्रबार

02:37:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मेडिकल कलेजमाथि कारवाहीको दवाव बढ्दै : गृहले भन्यो कैफियत पाइए कारवाही हुन्छ

Nepal Business

७ माघ, २०७८

सहमती उल्लंघन गरेको शिक्षामन्त्रीको आरोप

मेडिकल कलेजमाथि कारवाहीको दवाव बढ्दै : गृहले भन्यो कैफियत पाइए कारवाही हुन्छ

काठमाडौँ, ७ माघ । बढी शुल्क लिएको विषयमा मेडिकल कलेजमाथि कारवाही गर्न सरकारलाई दवाव बढ्दै गएको छ । विद्यार्थीहरुले मन्त्रालय पुगेर कारवाही गर्न माग गरेका छन् ।

शुक्रबार मात्रै गृह र शिक्षा मन्त्रीसम्म पुगेर विद्यार्थीले ध्यानाकर्षण गराएका छन् । उक्त छलफलमा गृहमन्त्री बालकृष्ण खाँणले एमबीबीएस, बीडीएस र बीएनएस अध्ययन गर्ने विद्यार्थीसँग क्याम्पसहरूले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिए/नलिएकोबारे अनुसन्धान गर्ने बताउनु भएको छ । 

एमबीबीएस, बीडीएस र बीएनएस अध्ययन गर्ने विद्यार्थीसँग क्याम्पसहरूले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिए/नलिएकोबारे अनुसन्धान गर्ने

शुक्रबार गृह मन्त्रालयमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, विद्यार्थी संगठनका प्रतिनिधि र चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीसँग भएको छलफलमा गृहमन्त्री खाँणले अनुसन्धानमा बढी शुल्क लिएको पाइएमा कानुन, ऐन र नियममा जस्तो प्रबन्ध छ त्यही अनुरुपको कारबाही सरकारले गर्ने बताउनु भयो । 

‘चिकित्सा शिक्षा अध्ययनमा देखिएका समस्या समाधान गर्ने दायित्व सरकारका हो । अहिले कलेज सञ्चालकहरूले बढी शुक्ल लिएको आरोप विद्यार्थीहरूले लगाइरहनु भएको छ । हामीले यस विषयमा अध्ययन गर्छौ,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘अनुसन्धानमा दोषी पाइएमा ऐन, कानुन र नियममा जस्तो व्यवस्था छ, त्यही अनुरुपको कारबाही सरकारले गर्छ ।’
गृहमन्त्री खाँणले कारबाही गर्दा कुनै आग्रह र पूर्वाग्रह नराखिने पनि स्पष्ट पार्नुभयो । 

विद्यमान कानुनको पालना गर्ने दायित्व सरकारको भएको भन्दै गृहमन्त्री खाणले त्यो कानुनको पालना गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो । ‘विद्यमान कानुनको पालना गर्न सरकार प्रतिबद्ध छ । गल्ती गर्ने जो सुकै भए पनि कारबाही हुन्छ,’ उहाँले भन्नुभयो । 
चिकित्सा शिक्षामा देखिएको समस्यामा सरकार गम्भीर रहेको र छिट्टै निकास निकाल्ने उहाँले बताउनु भयो । ‘अहिले देखिएको समस्या समाधानमा सरकार गम्भीर भएर लागेको छ । र छिट्टै निकास निकाल्छ । अहिलेको समस्या समाधान गर्ने मात्रै नभई भविष्यमा समेत समस्या नआउनेगरी समाधान गर्न हामी दृढ भएर लागिरहेका छौँ,’ गृहमन्त्री खाँणले भन्नुभयो ।  

उहाँले नेपाली नागरिकको सुरक्षा गर्नु र संविधानको पालना गर्ने सरकारको दायित्व भएको बताउनु भयो ।  कलेज सञ्चालकहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क मान्नुपर्ने उहाँको भनाइ थियो । 

आफैँले गरेको सहमती उल्लंघन गरेको शिक्षामन्त्रीको आरोप 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजले शिक्षा मन्त्रालयसहितका सरकारी निकायसँग आफैले गरेको सहमति उल्लंघन गरेको बताउनु भयो । उहाँले राज्यका निकायलाई चुनौति दिने कलेज सञ्चालकहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्ने बताउनु भयो । 

नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजले शिक्षा मन्त्रालयसहितका सरकारी निकायसँग आफैले गरेको सहमति उल्लंघन गरेको पौडेलले बताउनु भयो 

छलफलमा गृहसचिव टेकनारायण पाण्डेले कलेज सञ्चालकले ठगेको प्रमाणसहित प्रक्रिया पु¥याएर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएमा सरकारले कानुनी कारबाही गर्न पछि नहट्ने बताउनु भयो ।

छलफलमा विद्यार्थी संगठनका नेताहरू र नोबेल र केएमसीमा अन्ययनरत विद्यार्थीहरुले कलेज सञ्चालकहरूले राज्यले निर्धारण गरेका ऐन, कानुन र नियमलाई ठाडै चुनौति दिएकाले कानुनी कारबाहीको दायरामा ल्याउनु पर्ने बताएका थिए ।