८ मंसिर, २०८१ शनिबार
10:22:44 PM
२९ भदौ, २०७९
काठमाडौं । हिमालयन बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज (भदौ २९ गते बुधबार) अन्तिम दिन रहेको छ। बैंकले गत भदौ १५ गते दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रका इकाइहरु बिक्री खुला गरेको थियो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा दुई अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो । जसमध्ये १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख कित्ता सर्वसाधारणका लागि खुल्ला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाइ पाउनेछन् ।
यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक बन्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको हो ।
उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन पाइनेछ।