८ मंसिर, २०८१ शनिबार
10:14:03 PM
२८ भदौ, २०७९
काठमाण्डौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २६ वटा वाणिज्य बैंकले १३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरुको नाफा शत प्रतिशत बढेको हो । गत आर्थिक वर्षको सो अवधिमा वाणिज्य बैंकहरुले कुल ६ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिकको पहिलो महिना बैंकहरुको औसत नाफा ५० करोड रुपैयाँभन्दा धेरै छ । जसमध्ये नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकको खुद नाफा मात्र औसतभन्दा माथि रहेको बैंकले जनाएको छ ।
सो अवधिमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाएको नबिल बैंक हो । नबिलको नाफा भने पोहोरको हो । एक महिनाको नाफा तथ्यांकमा राखिएको छैन । नबिल बैंकको नाफालाई बाँकीबाट अलग्याउने हो भने २५ वटा वाणिज्य बैंकले कुल ८ अर्ब २२ करोड रुपैया खुद नाफा कमाएको देखिन्छ । जुन पोहोर साउनभन्दा ३०.३२ प्रतिशत बढी हो ।
यस्तै, औसत ३३ करोड रुपैयाँको बैंकहरुले नाफा कमाएको देखिन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार औसतभन्दा धेरै नाफा कमाउने १० वटा वाणिज्य बैंक छन् । जसमध्ये चालु आर्थिक वर्षको पहिलो महिनामा सबैभन्दा धेरै नाफा कमाउने सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक हो । बैंकले एक महिनाको अन्तरालमा ७५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
यस्तै, ग्लोबल आइएमई बैंकले ६७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा एनआइसी एसिया बैंकले ४७ करोड ६४ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकले ४२ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
यसैगरी चालु आर्थिक वर्षको पहिलो महिना बैंक अफ काठमाण्डौंको नाफा सबैभन्दा कम छ। बैंकले सो अवधिमा १६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमायो ।
त्यस्तै सेञ्चुरी कमर्सियल बैंकले १७ करोड ३६ लाख रुपैयाँ र सिभिल बैंकले १७ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।