९ मंसिर, २०८१ आइतबार
02:22:19 AM
२३ भदौ, २०७९
काठमाण्डौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले चाडवाडमा हुन सक्ने मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न प्रभावकारी रुपमा बजार अनुगमन गर्ने बताउनुभएको छ ।
आफूले मन्त्रालय सम्हालेको पाँच महिनाको अवधिमा भएका कामको बारेमा जानकारी गराउन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले सरकारको अनुगमन संयन्त्रलाई थप बलियो बनाएर चाडवाडमा बेला हुन सक्ने मूल्यवृद्धि र कालाबजारी नियन्त्रण गर्ने बताउनुभएको हो ।
उहाँले चाडपर्व लक्षित सहुलियत पसलमा पनि धेरै सामाग्री राख्ने र बजारमा भन्दा निकै सस्तो मूल्यमा सामान उपलव्ध गराउने र यसले पनि बजारको मूल्यबृद्धि नियन्त्रण गर्न मद्धत पुग्ने धारणा राख्नुभयो ।
मन्त्री बडूले पेट्रोलियम पदार्थको आयातका लागि पाईपलाईन विस्तार, ग्यासको उपभोगमा कम गर्ने नीति लगाएतका योजनाहरु सार्वजनिक गर्नुभयो ।
यस्तै उहाँले कोरोनाबाट सिथिल बनेको उद्योग क्षेत्र क्रमश पुरानै अवस्थामा फर्किएको दावी गर्नुभयो । रुग्न उद्योगहरु सञ्चालनका लागि सरकारले आवश्यक नीति र सहजीकरण गरेको उहाँको भनाई छ ।
मन्त्री बडूले आफ्नो कार्यकालमा ३०९ वटा नयाँ उद्योग दर्ता भएको र जसका कारण ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी हुने र २८ हजार ५ सय २७ नयाँ रोजगारी सिर्जना भएको दावी गर्नुभयो ।
उहाँले नेपाल गुणस्तर परिषदबाट १२ वटा विभिन्न प्रकारका ग्यास सम्बन्धी र ३ वटा पाइप सम्बन्धी गरी १५ वटा नेपाल गुणस्तर पारित भएको तथा थप ९२ वटा उत्पादनलाई नेपाल गुणस्तर पारित गर्ने तयारी गरिएको बताउनुभयो ।