९ मंसिर, २०८१ आइतबार

12:10:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र बैंकले पुनः आफैँले खरिद गर्यो ट्रेजरी बिल

२१ भदौ, २०७९

राष्ट्र बैंकले पुनः आफैँले खरिद गर्यो ट्रेजरी बिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार बोलकबोल ल्याइएको ट्रेजरी बिल आफैं खरिद गरेको छ । सोमबार राष्ट्र बैंकले जारी गरेको ६ अर्ब २६ करोड रुपैयाँमा मध्ये १ अर्ब ६० करोडको ट्रेजरी बिल आफैं खरिद गरेको हो ।

सोमबार राष्ट्र बैंकले ९१ दिन र ३६४ दिनको गरी ६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोलमा ल्याएको थियो । केन्द्रीय बैंकले ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ र ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल बोलकबोल गरेको थियो।

९१ दिने ४ अर्ब २६ करोड रुपैयाँ ट्रेजरी बैंक तथा वित्तीय संस्थाहरुले नवीकरण गरेको र ३६४ दिने २ अर्बको ट्रेजरी बिलमध्ये ४० करोड मात्रै बैंकहरुले नवीकरण गरेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकहरुले ३६४ दिनको ट्रेजरी बिलमा ९.०८ प्रतिशत भन्दाबढी ब्याज मागेपछि राष्ट्र बैंकले ८.८९ प्रतिशत ब्याजदरमा ट्रेजरी बिल आफैं खरिद गरेको हो । ९१ दिने ट्रेजरी खरिदका लागि १६ बैंक तथा वित्तीय संस्थाले ८६ वटा आवेदनमार्फत ११ अर्ब २७ करोड १० लाख रुपैयाँबराबरको बोलकबोल पेश गरेका थिए।

बैंक तथा वित्तीय संस्थाले ८.८३ प्रतिशत र ९.२० प्रतिशत ब्याजदरमा ट्रेजरी बिल खरिद गर्ने प्रस्ताव गरेकाले ९१ दिने अवधीको ट्रेजरी बिल बैंक वित्तीय संस्थालाई बिक्री गरिएको राष्ट्र बैंकले जनाएको छ ।

३६४ दिने ट्रेजरी खरिदका लागि ११ बैंक तथा वित्तीय संस्थाले ५९ वटा आवेदनमार्फत ७ अर्ब ५० करोड रुपैयाँ बराबरको बोलकबोल पेश गरेका थिए। राष्ट्र बैंकले ब्याजदर नियन्त्रण गर्नका लागि पछिल्लो समय ट्रेजरी बिल आफैं किन्दै आएको छ ।