९ मंसिर, २०८१ आइतबार
12:21:06 AM
२० भदौ, २०७९
काठमाडौं । सहज एवं सबल बैंकिङको मूल रणनीतिअनुरुप गतिशील बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एपबाट नेपाल क्लियरिङ हाउसको नेपालपेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ।
यससम्बन्धी समझदारीपत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन्। अब एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले नेपालका विभिन्न स्थानका मर्चेन्टसँग रहेको नेपालपेको क्यूआर स्क्यान गरी सहज रुपमा भुक्तानी गर्न सक्नेछन्।
नेपालमा पछिल्लोपटक डिजिटल कारोबार बढिरहेको परिप्रेक्षमा नेपालपेसँगको सहकार्यबाट डिजिटल कारोबारलाई थप नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
नेपालको बैंकिङ क्षेत्रकै सबैभन्दा धेरै अर्थात् २० लाखभन्दा बढी प्रयोगकर्ता रहेको यस एनआईसी एशिया मोबैंकलाई बैंकले भर्खरै ओम्नी च्यानल प्रणालीमा अपग्रेड गरी अधिकतम बैंकिङ सेवा तथा सुविधा डिजिटल माध्यमबाट प्रदान गरिरहेको छ।
‘सबथोक यसमै छ’ भन्ने नाराका साथ बैंकले ल्याएको सेवाबाट ग्राहकले अधिकतम बैंकिङ सेवाहरु सहज एवं सरल रुपमा उपभोग गर्न सक्नेछन् र निकट भविष्यमा अझ बढी सेवा यसै एपमार्फत दिन तयारी बैंकले गरिरहेको छ।
यस एपबाट ग्राहकले क्यूआर भुक्तानीका अलावा नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन, नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दति खाता खोल्न, चेक अनुरोध, ई–कमर्स सुचारु, स्किम ट्रान्सफर, आईपीओ आवेदन र लकर सुविधा लिनलगातका धेरैभन्दा धेरै बैंकिङ सेवाहरु डिजिटल रुपमा प्राप्त गर्न सक्नेछन्। यसका साथै बैंकमा खाता नभएकाहरुले पनि एनआईसी एशिया मोबैंक एप डाउनलोड गरी डिजिटल वालेटका रुपमा प्रयोग गर्न सक्नेछन्।