९ मंसिर, २०८१ आइतबार
03:34:37 AM
९ भदौ, २०७९
काठमाडौं । एनएमबि क्यापिटलले आज (भदौ ९ गते बिहीबार) देखि आफ्ना लगानीकर्ताहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएको छ । एनएमबि क्यापिटलद्धारा सञ्चालित २ म्युचुअल फण्डहरुले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरेको नगद लाभांश बिहीबारदेखी इकाईधनीहरुको खातामा जम्मा गरिने क्यापिटलले जनाएको छ ।
क्यापिटलद्धारा सञ्चालित एनएमबि फिफ्टी फण्डका इकाईधनीहरूलाई करसहित २१.०५२३६ प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल १ का इकाईधनीहरूलाई समेत २१.०५२३६ प्रतिशत करसहित लाभांश वितरण गर्ने घोषणा गरेको थियो । हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन क्यापिटलले आग्रह गरेको छ ।
यसका लागि इकाइधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने एनएमबि क्यापिटलले जनाएको छ ।
त्यस्तै कुनै सदस्यको हितग्राही खातामा हालसम्म पनि फण्डका इकाईहरु जम्मा भइ नसकेको भएमा क्यापिटलमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।