९ मंसिर, २०८१ आइतबार
07:03:18 AM
३१ साउन, २०७९
काठमाण्डौं । अब विदेशबाट दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स भित्र्याउन पाइने भएको छ । यसभन्दा अघि १० लाख रुपैयाँसम्म रेमिट्यान्स भित्र्याउन पाइने व्यवस्था थियो ।
मंगलबार नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै अब दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स भित्र्याउन पाइने व्यवस्था गरेको हो ।
उक्त व्यवस्था अनुसार अब विदेशमा कुनै सामान वा सेवा बिक्रीबाट हुने आम्दानी, कमिशन, पारिश्रमिक लगायतबाट हुने आम्दानी दैनिक १५ लाखसम्म भित्र्र्याउन पाइने भएको छ ।
राष्ट्र बैंकका अनुसार यसरी पठाएको रकम रेमिटेन्स कम्पनीमार्फत भित्र्याएको र विदेश फिर्ता नहुने गरी ल्याएको रकम हुनु पर्नेछ । साथै एकै पटकमा वा पटक पटक गरेर यो सीमासम्म रकम ल्याउन सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाले विदेशबाट आयात गर्ने आयातकर्ताको लागि प्रतितपत्र, टिटी आदी जारी गरेर विनिमय सुविधा दिँदा आयातकर्ताले ल्याउन लागेको वस्तुको अन्तर्राष्ट्रिय मूल्य र इन्भ्वाइसमा उल्लेखित दरको तुलना गर्नुपर्ने व्यवस्था गरेको परिपत्रमा उल्लेख छ ।
राष्ट्र बैंकले आयात तथा निर्यात व्यापारको माध्यमबाट हुन सक्ने सम्पत्ति शुद्धीकरण सम्बन्धि जोखिमलाई न्यूनिकरण गर्न आयात तथा निर्यात व्यापार प्रयोजनको लागि सिटही सुविधा दिँदा राष्ट्र बैंकले ड्राफ्ट÷टीटी जारी गर्दा, प्रतितपत्र खोल्दा, डीएए, डीएपी आदी अनिवार्य उपलब्ध गराउनु पर्ने जनाएको छ ।