१९ माघ, २०८१ शनिबार
01:35:34 AM
२६ साउन, २०७९
१) सेयर बजारमा १९.०६ अंकको गिरावट
सेयर बजार लगातार ओरालोको बाटोमा छ । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। यस साता सेयर बजार एक दिन मात्र बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार १९.०६ अंकले घटेर नेप्से परिसूचक २ हजार ३७.८३ विन्दुमा बन्द भएको छ ।
लगातार चार दिन ओरालो लागेको सेयर बजारमा कारोबार पनि घटेको छ । आज सेयर बजार घट्दा १ अर्ब ७५ करोड १० लाख २३ हजार ३९ रुपैयाँको कारोबार भएको छ भने ६२ लाख ९८ हजार ६३८ कित्ता सेयर किनबेच भएका छन् ।
यस्तै १२ उपसूचक राताम्मे छन् भने म्युचल फण्ड ०.४६ प्रतिशतले बढेको छ । कम्पनीहरुमा हिमालयन हाइड्रोपावर ९.९९ प्रतिशत, उप्पर हेवाखोला हाइड्रोपावर ९.९८ प्रतिशत र एनआईसी एशिया सेलेक्ट फण्ड ४.२१ प्रतिशतले बढेका छन् ।
२) एकै दिन १० अर्बले घट्यो बैंकहरुको निक्षेप
बैंक तथा वित्तीय संस्थाहरुमा एकै दिन १० अर्बले निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन २४ गतेसम्मको विवरणअनुसार बैंकहरुको निक्षेप एकै दिनमा १० अर्बले घटेको हो ।
राष्ट्र बैंकका अनुसार साउन २३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब ३७ अर्ब रूपैयाँ निक्षेप रहेको थियो । साउन २४ गते बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब २७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । एकै दिनको अवधिमा बैंक तथा वित्तिय संस्थाहरूको कुल निक्षेप १० अर्बले घटेको हो ।
यो अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि १० अर्बले घटेर ४४ खर्ब २८ अर्बमा झरेको छ । अघिल्लो दिन बैंकहरुकाको निक्षेप ४४ खर्ब ३८ अर्ब रुपैयाँ रहेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी २ अर्बले बढेर ४६ खर्ब ९४ अर्ब रूपैयाँ पुगेको छ । यसै अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह पनि १ अर्बले बढेर ४१ खर्ब ६६ अर्ब पुगेको छ । अघिल्लो दिन साउन २३ गतेसम्म बैंकहरुको कुल ऋण प्रवाह ४१ खर्ब ६५ अर्ब रुपैयाँ रहेको थियो ।
यो अवधिमा बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७.८६ प्रतिशतबाट बढेर ८८.०५ प्रतिशत पुगेको छ ।
३) पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा
पेट्रोलियम ढुवानी व्यावसायीले फेरी आन्दोलन गर्ने घोषणा गरेका छन् । ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले पुनः आन्दोलन घोषणा गरेको हो ।
महासंघका अध्यक्ष खगेश्वर बोहोराद्वारा जारी विज्ञप्तिमा आउँदो भदौ १ गतेसम्म ढुवानी भाडा वृद्धि नगरिए भदौ २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम घोषणा गर्ने उल्लेख छ।
यसअघि गत १५ साउनमा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि कार्यान्वयन नभएको विज्ञप्तिमा जनाइएको छ। निगमको प्रतिबद्धतापछि महासंघले गत साउन २१ गतेदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता गरेको थियो। बढेको इन्धनको मूल्य अनुसार ढुवानी भाडा नबढेको भन्दै ट्रक ट्यांकर व्यवसायीहरु गत वर्ष देखि नै आन्दोलित छन् ।
४) राष्ट्र बैंकको नीतिले १५ प्रतिशतसम्म व्याज बढ्दा ऋणीहरु मर्कामा परेको चेम्बरको ठहर
नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकको नीतिले मुलुकमा व्यावसायिक वातावरण झन बिग्रन थालेको जनाएको छ। बैंक, वित्तिय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना साना ऋणीहरु सबै भन्दा बढी मर्कामा परेको चेम्बरको ठहर छ ।
राष्ट्र बैंकबाट जारी भएको चालु पुँजी कर्जा सम्बन्धी मार्ग दर्शन २०७८ को मस्यौदाबाट चालु पुँजीलाई कडाइ गर्ने संकेत देखिएको भन्दै यसले ब्यापार सहजी करण तथा लगानी मैत्री वतावरणमा गम्भिर असर गर्ने चेम्बरले जनाएको छ ।
केन्द्रीय बैंकको अधिकांश नीतिहरु बैंक बित्तिय संस्थालाई मात्रै पोस्ने खालको भएको चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्र बैंकको मौद्रिक नीतिले ऋणीहरु असाध्यै मर्कामा परेकाले व्याजदरमा पुनरावलोकन गर्न पनि चेम्बरले आग्रह गरेको छ ।
आधार दरमा गरिएको अस्वभाविक वृद्धिका कारण निश्चित आय भएका ऋणहरु सबैभन्दा बढी मर्कामा परेको चेम्बरको ठहर छ ।
५) चीन सरकारको नेपाललाई १५०१ करोड ९१ लाख रुपैयाँ सहायता उपलब्ध गराउने घोषणा
चीन सरकारले नेपाललाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । चीनले चालु आर्थिक वर्षका लागि ८०० मिलियन आरएमबी (१५०१ करोड ९१ लाख रुपैयाँ ) बराबर सहायता उपलब्ध गराउने घोषणा गरेको हो ।
परराष्ट्रमन्त्री डा.नारायण खड्कको तीन दिने चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले सहयोग घोषणा गर्नुभएको हो ।
यस्तै चीन नेपालको कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न सहमत भएको छ । चिनियाँ विदेश मन्त्री वाङ यीले नेपालको उत्पादकत्व बढाउन चिनियाँ लगानीलाई प्रोत्सहान गर्दै नेपाली चिया तथा परम्परागत जडिबुटी निर्यातमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कृषि क्षेत्रको विकासका लागि नै चिनियाँ पक्ष रायायनिक मल उपब्ध गराउन सकरात्मकसमेत भएको जनाइएको छ । साथै चीनले नेपालमा रासायनिक मल उत्पादन गर्ने उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययनमा सहयोग गर्नेसमेत बताएको छ ।
यसैगरी दुबै मन्त्रीले सीमा क्षेत्रमा महामारी नियन्त्रणका लागि संयुक्त संयन्त्र निर्माण गर्नेदेखि रसुवा–केरुङ र तातोपानी जाङ्मु नाका व्यापारका लागि द्वितर्फी सञ्चालन गर्ने तथा हिल्सा पुलाङ बन्दरगाह एकतर्फी रुपमा सञ्चालन गर्ने विषयमा सहमत भएका छन् ।
६) ९ पुनर्बीमा ब्रोकर कम्पनीले पाए लाईसेन्स
९ वटा पुनर्बीमा ब्रोकर कम्पनीले लाईसेन्स पाएका छन् । बीमा समितिले ९ वटा पुनर्बीमा ब्रोकर कम्पनीलाई लाईसेन्स दिएको छ ।
पुनर्बीमा ब्रोकरको लाइसेन्स माग गर्दै समितिमा एक दर्जनभन्दा बढी कम्पनीले आवेदन दिएका थिए । जसमध्ये समितिले प्रक्रिया पुर्याएर १० वटा कम्पनीलाई लाईसेन्स दिएको हो ।
लाईसेन्स पाउनेमा जेबी बोडा इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स, हब रि इन्स्योरेन्स ब्रोकर, एलियन्ट रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, ग्लोबल इन्योरेन्स एण्ड रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, ट्रष्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि, एसटिसी रिईन्स्योरेन्स ब्रोकर, शुभ रि इन्स्योरेन्स सर्भिसेज, एवान रि ईन्स्योरेन्स ब्रोकर रहेका छन् ।
बीमा समितिबाट जारी निर्देशिकामा पुनर्बीमा ब्रोकर कम्पनी सञ्चालन गर्न पाँच करोड रूपैयाँ चुक्ता पुँजी हुनुपर्ने उल्लेख छ । समितिका अनुसार गत असार महिनादेखि नै कम्पनीहरूलाई लाइसेन्स दिन थालिएको हो ।
७) मर्जरमा जाने कम्पनीको सेयर कारोबार १५ दिन मात्रै रोक्का हुने
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ। उक्त निर्देशिका अनुसार अब मर्जर तथा प्राप्तिमा जाने कम्पनीको सेयर कारोबार १५ दिन मात्रै रोक्का हुने भएको छ ।
कुनै कम्पनी वा संस्थाले एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्ने बोर्डले संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिका २०७९ को प्रारम्भिक मस्यौदामा उल्लेख गरेको छ ।
तर, संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको सेयर कारोबार रोक्का राख्नुपर्ने नपर्ने व्यवस्था कार्यविधिमा गरिएको निर्देशिकामा उल्लेख गरिएको छ ।
८) बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापालाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरबाट समेत गरी बैंकिङ कसूर तथा चेक अनादर मुद्दामा १ महिना १५ दिन कैद र ५८ लाख ९६ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भत्तलपुरमा पेश गरिएकोमा अदालतको आदेशले तोकिएको कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाण्डौंमा पठाइएको छ।
९) २४ घण्टामा थप ८१५ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४११ पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ एन्टिजेन परीक्षण गर्दा ३५० जना गरी थप ८११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ४७६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ८६९ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
१०) भारतको ५ वटा व्यवसायिक घरानाको कार्यालयमा छापा मार्दा ५८ करोड तथा ३२ केजी सुन जफत
भारतमा आयकर विभागले ५ वटा व्यवसायिक घरानाको कार्यालयमा छापा मारेको छ । छापा मार्दा आयकर विभागले ५ वटा व्यवसायिक घरानाबाट ५८ करोड (भारु) तथा ३२ केजी सुन जफत गरेको हो।
जफत गरिएको ५८ करोड (भारु) गिन्तीका लागि आयकर विभागले जफत गरिएको ५८ करोड भारु१३ घण्टा समय लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पैसा गन्ने क्रममा केही कर्मचारीहरु बिरामी समेत परेको जनाइएको छ ।
आयकर विभागको टीमको शुरुवाती जाँचमा केही पत्ता नलागे पनि पछि जालानाभन्दा १० किलोमिटरको दूरीमा रहेको व्यवसायीको फार्महाउसमा कारबाही गरिएको थियो ।
उक्त स्थानमा दराजको मुनी, बेडभित्र तथा तथा दराजभित्र थैलीमा राखिएको नोटका बण्डल भेटिएका थिए । कपडाका ३५ वटा थैलीमा रकम राखिएको थियो ।
विभागका अनुसार एसआरजे स्टील, कालिका स्टील, एक को कोअपरेटिभ बैंक, फाइनान्स विमल राज बोरा, डिलर प्रदीप बोराको फ्याक्ट्रि, घर तथा कार्यालयमा अगष्ट १ तारिखदेखि ७ तारिखसम्म छापा गरिएको थियो ।
यसका लागि २६० अफिसर तथा कर्मचारीहरु सहभागी थिए । उनीहरु १२० भन्दा बढी गाडीमा पुगेका थिए । यो अपरेसनमा एक समयमा पाँच फरक–फरक टीमले काम गरेका थिए । आयकर विभागले बरामत गरिएको पैसा कर चोरी गरिएको हुन सक्ने आशंका व्यक्त गरेको छ ।