१९ माघ, २०८१ शनिबार
01:41:41 AM
२५ साउन, २०७९
१) सेयर बजारमा झिनो अंकको गिरावट, कारोबार पनि घट्यो
सेयर बजारमा बुधबार सामान्य अंकको गिरावट आएको छ । सोमबारदेखि ओरालो लागेको सेयर बजार बुधबार एकल अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ५.११ ऋकंले घटेर नेप्से परिसूचक २ हजार ५७.६८ विन्दुमा बन्द भएको छ।
सेयर बजार ओरालो लाग्दा कारोबार रकम पनि ओरालो लागेको छ । आज सेयर बजारमा १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४७ रुपैयाँको कारोबार भएको छ भने ४६ लाख ४० हजार ८४४ कित्ता सेयर किनबेच भएका छन्।
यस्तै उपसूचकहरुमा ११ घटेका छन् भने दुई बढेका छन् । कम्पनीहरुमा हिमालयन हाइड्रोपावर ९.९७ प्रतिशत, युनिलिभर नेपाल ४.३० प्रतिशत । सिटिजन्स म्युचल फण्ड ४ प्रतिशतले बढेका छन् ।
२) शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा ओखलढुंगाका सव–इन्जिनियर यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगाका सव–इन्जिनियर रामबाबु यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले शैक्षिक प्रमाणपत्र नक्कली बनाई सरकारी सेवा सुविधा उपभोग गरेको आरोपमा उनी विरुद्ध विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले जारी विज्ञप्तीमा लेखिएको छ, ‘ओखलढुंगा खानेपानी तथा सरसफाई डिभिजन नम्बर द्द मा कार्यरत सव–इन्जिनियर रामबाबु यादवको योग्यता प्रमाण पत्र नक्कली रहेको भन्ने उजुरी निवेद सम्बन्धमा अनुसन्धान हुँदा निजले श्री सुनसरी टेक्निकल कलेज, धरानबाट उत्तीर्ण गरेको भनी डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रमाणपत्रहरु, र ट्रान्सक्रिप्ट नक्कली बनाई सरकारी लाभ वा सुविधा प्राप्त गर्ने उद्देश्यले तत्कालीन खानेपानी सरसफाई डिभिजन कार्यलयमा पेश गरी २०७६ भदौदेखि असार मसान्तसम्म बहाल रही लाभ र सुविधा लिएको देखिएको छ ।’
३) साउनको ३ सातामा बैंकिङ प्रणालीमा घट्यो १ खर्ब १६ अर्ब निक्षेप
साउन लागेपछि बैंकिङ प्रणालीमा अस्वाभाविकरुपमा निक्षेप घट्न थालेको छ । साउन लागेपछिको ३ सातामा बैंकिङ प्रणालीबाट १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप घटेको छ । राष्ट्र बैंकका अनुसार गत असार ३२ गते बैंकिङ प्रणालीमा ५१ खर्ब ५३ अर्ब १० करोड रुपैयाँ निक्षेप रहेको थियो ।
साउन २३ गतेसम्म आइपुग्दा बैंकिङ प्रणालीमा निक्षेप १ खर्ब १६ अर्ब रुपैयाँले घटेर ५० खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।
असार ३२ गते ४७ खर्ब ४० करोड रुपैयाँ रहेको कर्जा साउन २३ गतेसम्म आइपुग्दा करीब ८ अर्ब रुपैयाँले घटेर ४६ खर्ब ९२ अर्ब रुपैयाँमा सीमित रहेको छ । कर्जाको तुलनामा निक्षेप करिब १० गुणाले घटेकाले बैंकहरु झन् ठूलो तरलता (लगानी योग्य पुँजी) को अभावमा पर्न थालेका छन् । औषतमा बैंकिङ प्रणालीको सीडी रेसियो ८७.८६ प्रतिशत पुगेको छ । राष्ट्र बैंकको नियमअनुसार यस्तो रेसियो ९० प्रतिशतभन्दा कम हुनुपर्छ ।
गत आर्थिक वर्षको साउन महिनाभरीमा बैंकिङ प्रणालीबाट ७२ अर्ब रुपैयाँ निक्षेप घटेको थियो । असार मसान्तसम्म वाणिज्य बैंकले ४५ खर्ब ३९ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । साउन २३ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब १ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ३८ अर्ब रुपैयाँमा पुगेको छ ।
यस अवधिमा कर्जा भने ३ अर्ब रुपैयाँले मात्रै घटेको छ । असार मसान्तमा वाणिज्य बैंकहरुले ४१ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए भने साउन २३ गते ४१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा रहेको छ ।
गत असार मसान्तमा विकास बैंक र वित्त कम्पनीको निक्षेप ६ खर्ब १३ अर्ब रुपैयाँ थियो । साउन २३ गतेसम्म आइपुग्दा १४ अर्ब रुपैयाँले घटेर ५ खर्ब ९९ अर्ब रुपैयाँमा झरेको छ ।
असार मसान्तमा ४ खर्ब ९० अर्ब ९५ करोड रुपैयाँ रहेको कर्जा साउन २३ गतेसम्म आइपुग्दा २१ अर्ब ७५ करोड रुपैयाँले घटेर ४ खर्ब ६९ अर्ब २० करोड रुपैयाँमा झरेको छ ।
४) काठमाण्डौं महानगरले एक वर्षमा ७ अर्ब ३१ करोड ३५ लाख खर्च गर्यो
काठमाण्डौं महानगरले गत आर्थिक वर्ष २०७८÷०७९ मा ७ अर्व ३१ करोड ३५ लाख २९ हजार ४४२ रुपैयाँ ४७ पैसा खर्च गरेको छ । स्वीकृत १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार रुपैयाँको ४४.२४ प्रतिशत खर्च भएको हो ।
बुधबार राष्ट्रिय सभा गृहमा चलिरहेको वार्षिक समीक्षा बैठकमा वित्त विभागले यो अङ्क प्रस्तुत गरेको हो।
उहाँका अनुसार समीक्षाबाट प्राप्त भएको तथ्यका आधारमा सुधार गर्दै जानुपर्छ । विगतमा देखिएका कमजोरी दोहोरिन दिन नहुने उहाँले बताउनुभयो ।
गएको वर्ष स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्याङ्कनका लागि समीक्षा बैठक आयोजना गरिएको हो ।
बैठकमा योजना अनुगमन तथा मूल्याङ्कन एकाईका प्रमुख नरेन्द्र विलास बज्राचार्यले बताउनुभयो । बैठकमा विभाग, आयोजना, एकाई, सचिवालय गरी २४ क्षेत्रबाट प्रस्तुतिकरण हुनेछ ।
५) आइएफसीबाट सानिमा बैंकले लियो २ करोड अमेरिकी डलर ऋण
विश्व बैंक समूह अन्तर्गतको अन्तराष्टिय वित्त निगम (आइएफसी)बाट सानिमा बैंकले २ करोड अमेरिकी डलर विदेशी ऋण लिएको छ । तरलता अभावलाई मध्य नजर गरी बैंकले सो ऋणका लागि गत आर्थिक वर्षनै आइएफसीसँग सम्झौता गरेको थियो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पश्चात उक्त रकम यस आर्थिक वर्षमा बैंकले प्राप्त गरेको हो ।
सम्झौता अनुसार यो रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गरिनेछ । समावेशिता तथा दिगो विकासको सिद्धान्तमा आधारित रही बैंकले यो रकम उक्त क्षेत्रमा प्रवाह गर्नेछ ।
आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस. फइले सानिमा बैंकमा गरिएको यस लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको बताउनुभयो ।
उहाँले उनले लघु, साना तथा मझौला व्यवसायको लगानीले यस क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सक्षम बनाउने र नगद प्रवाहले नेपालको तरलता संकट तथा घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई कम गर्न पनि योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
आइएफसीले नेपालमा एसएमई इकोसिस्टमको विकास गर्न सानिमा बैंकको दृढ प्रतिबद्धताको कदर गर्दै दीर्घकालीन साझेदारीका लागि तत्पर रहने उल्लेख गरेका छन्।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले अहिलेको तरलताको असहज परिस्थितिमा पनि आइएफसीबाट प्राप्त रकमले अतयच मा कर्जा प्रवाह गर्न केहि सहजता हुने बताउनुभयो ।
६) ‘तथ्याङ्क विधेयक, २०७८’ प्रतिनिधिसभाबाट बहुमतले पारित
‘तथ्याङ्क विधेयक, २०७८’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रियसभाको सन्देश सहितको उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो ।
सो क्रममा गृहमन्त्री बालकृष्ण खाँणले ऐनलाई समय सान्दर्भिक बनाउन र तथ्याङ्कसम्बन्धी आवश्यकता पूरा गर्न विधेयक अघि बढाइएको जानकारी दिनुभयो ।
तथ्याङ्क सङ्कलन गर्नु सरकारको दायित्व रहेको र देशभरका हरेक विषयको तथ्याङ्क सङ्कलन र उपयोग गर्न पनि यसले सहयोग गर्ने उहाँको भनाइ छ ।
उहाँले तथ्याङ्क विभागको कार्यालय ३३ जिल्लामा रहेको र ७७ जिल्ला हेर्नुपर्ने हुँदा सबै जिल्लामा कार्यालय विस्तार गर्ने र कर्मचारीको क्षमता अभिवृद्धि गराउन आवश्यक हुने बताउनुभयो ।
त्यसअघि बैठकमा सांसदहरुले विधेयकले तथ्याङ्कको विश्वस्तरको मान्यता, शुद्धता, गोपनीयताको विषयलाई समेत ध्यान दिनुपर्ने धारणा राखेका थिए । त्यस्तै प्रतिनिधिसभा बैठकबाट सपथ सम्बन्धी बिधेयक २०७९ पनि पारित भएको छ ।
७) एकै दिन ९ अर्बले घट्यो बैंकहरुको निक्षेप
बैंक तथा वित्तीय संस्थाहरुमा एकै दिनमा ९ अर्ब निक्षेप बाहिरिएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै बैंकहरुमा निक्षेप बाहिरिएसँगै सीडी रेसियो बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार साउन २२ गतेसम्म बैंकहरूको निक्षेप ५० खर्ब ४६ अर्ब रूपैयाँ रहेको थियो ।
एकै दिनमा बैंक तथा वित्तिय संस्थाहरूको कुल निक्षेप ९ अर्बले घटेर साउन २३ गतेसम्म कुल ५० खर्ब ३७ अर्ब रुपैयाँ रहेको छ ।
यो अवधिमा वाणिज्य बैंकहरूको निक्षेप ८ अर्बले घटेर ४४ खर्ब ३८ अर्बमा पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४ अर्बले बढेर ४६ खर्ब ९२ अर्ब रूपैयाँ पुगेको छ ।
यसै अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह पनि ४ अर्बले बढेर ४१ खर्ब ६५ अर्ब पुगेको छ । यो अवधिमा बैंकहरूको सीडी रेसियो ८७.६५ प्रतिशतबाट बढेर ८७.८६ प्रतिशत पुगेको छ ।
८) स्वास्थ्य विमा कार्यक्रममा देखिएका जटिलता हटाउन सरकारको ध्यानाकर्षण
नेकपा एमालेका सांसद खगराज अधिकारीले स्वास्थ्य विमा कार्यक्रममा देखिएका जटिलता हटाएर यसलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा अधिकारीले स्वास्थ्य बिमा बापतको रकम उपलव्ध नगराएर सम्पुर्ण सरकारी अस्पताल र प्रतिष्ठानमा उक्त सेवा नै बन्द हुने अवस्थामा पुगेको भन्दै यससम्बन्धी जटिलता हटाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले स्वास्थ्य विमा कार्यक्रममा विमितहरुबाट ११ अर्ब संकलन भएपनि उक्त सेवालाई बन्द गराउने अवस्थामा सरकारले पुर्याएको जिकिर गर्नुभयो । अधिकारीले स्वास्थ्य बिमामा सरकारले हेलचेक्राई गरेर सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गर्न खोजिएको बताउनुभयो ।
९) नअनधिकृत रुपमा तथ्यांक तान्नेलाई कारबाही गर्ने नेप्सेको चेतावनी
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो वेबसाइट विभिन्न समुहहरुले विभिन्न कोड प्रयोग गरी अनाधिकृत रुपमा ठुलो संख्यामा डाटा तान्ने प्रयास भईरहेको जनाएको हो।
सोही कारण नेप्सेको वेबसाइटमा कारोबार विवरण ढिलो देखिने, निश्चित समयको लागि कारोबार विवरण नदेखिने समस्या भएको सूचना मार्फत जानकारी दिएको छ ।
नेप्सेले आफ्नो वेबसाइटबाट कोडिङ गरेर ब्लकमा डाटा तान्नेलाई कानूनी कारबाही गर्ने बताएको छ । आगामी दिनमा पनि अनधिकृत रुपमा तथ्यांक तान्ने कार्य जारी राखेकानुनी कारवाही प्रकृयामा जाने नेप्सेले चेतावनी दिएको हो ।
हाल नेप्सेले आधिकारीक रुपमा एपिआई मार्फत धितोपत्रको कारोबार राफसाफ तथा फछ्यौट प्रयोजनका लागि आफ्नो सहायक कम्पनी सिडिएससी लिमिटेडलाई मात्रै तथ्याङक उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।
१०) एलोन मस्कले बेचे टेस्लाको ६.९ अर्ब डलरको सेयर
विश्वका धनाड्य व्यक्ति एलोन मस्कले विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको ६.९ अर्ब डलरको सेयर बेच्नु भएको छ । यसअघि मस्कले अप्रिलमा ८.५ अर्ब डलरको सेयर बिक्रि गर्नुभएको थियो ।
सो समयमा उहाँले थप सेयर बेच्ने योजना नभएको बताउनुभएको थियो । यद्यपि, मस्कको नयाँ फाइलिङका अनुसार उहाँले अगस्ट ५ देखि ९ बीचमा टेस्लाका ७९.२ मिलियन सेयर बेच्नुभएको छ । अब उहाँसँग १५.५ करोड सेयर बाँकी छ।
यस्तै मस्कले गत १० महिनामा टेस्लाको करिब ३२ बिलियन डलरको सेयर बेच्नुभएको छ ।
एलोन मस्कले ट्विटरलाई ४४ अर्ब डलरमा किन्ने घोषणा गरेका थिए तर पछि उनले उक्त सम्झौता रद्द गगर्नुभएको थियो । मस्कका अनुसार यदि रद्द गरिएको सम्झौता बन्द गर्न बाध्य भयो र केही इक्विटी साझेदारहरू आएनन् भने नगदको आवश्यकता पर्नेछ ।