२३ बैशाख, २०८१ आइतबार

03:01:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लमजुङमा ८५ प्रतिशतले घट्यो अलैँची उत्पादन

२ माघ, २०७८

लमजुङमा ८५ प्रतिशतले घट्यो अलैँची उत्पादन

लमजुङ

लमजुङमा यसवर्ष अलैंची उत्पादनमा कमी आएको छ । आवश्यकता अनुसार समयमा पानी नपरेपछि मौसम अनुकूल नहुदा, बोटमा कीरा लाग्नु र  बोट सुक्नु लगायतका कारणले यो वर्ष अलैंची उत्पादनमा कमी आएको हो ।

गत वर्षको तुलनामा यो वर्ष करिब ८५ प्रतिशतले उत्पादनमा कमी आएको नेपाल अलैँची जोन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष जिल्लामा ४०० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । यस वर्ष अलैंचीको उत्पादन घटेर ३५ मेट्रिक टनमा सिमित भएको छ  । 

गत वर्ष अलैंचीको विक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका किसानले यो वर्ष  ३ करोड ५० लाख मात्र आम्दानी गरेका छन । यसवर्ष रोग प्रकोप, जलवायु परिवर्तन, सिँचाइको कमी लगायतका कारण अलैँची उत्पादनमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका संयोजक तथा जिल्ला अध्यक्ष अजय तामाङले बताउनुभयो । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अलैँची किसान समेत रहनुभएका संयोजक तामाङले गतवर्ष ४५० केजी अलैँची दाना उत्पादन भएकोमा यो वर्ष २०० केजी मात्र उत्पादन भएको बताउनुभयो । 

गतवर्ष ४५० किलो अलैंची दाना बिक्रीबाट दुई लाख ७० हजार आम्दानी गर्नुभएको छिनेखोलाका तामाङले यो वर्ष २०० किलो अलैँची दाना बिक्रीबाटै २ लाख २० हजार आम्दानी गर्नुभएको हो । गतवर्ष प्रतिकिलो  ५०० देखि ६०० मा अलैंचीको दाना बिक्री गरेका किसानले यो वर्ष  १ हजार ५० देखि १ हजार १०० सम्म बिक्री गरेका छन् ।

अलैंची जोन कार्यलयका अनुसार जिल्लामा गत वर्ष १ हजार ६५ हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार भएको थियो भने ४ सय ७९ हेक्टर जमिनमा मात्रै अलैंची उत्पादन भएकोे थियो । दशकअघि प्रतिकेजी २ हजार ५ सयसम्म रहेको अलैंचीको मूल्य अहिले प्रतिकिलो ८ सयदेखि ९ सयको हाराहारीमा  कारोबार भएको छ । वि.संं २०७६ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची दाना विक्री गरेर किसानले १२ करोड आम्दानी गरेका थिए ।

यसैगरी विसं २०७५ मा ७५० क्विन्टल अलैँची दानाको बिक्रीबाट  ५  करोड २५ लाख र विसं २०७४ मा ६०० क्विन्टल अलैँची दाना बिक्रीबाट ४ करोड ४८ लाख आम्दानी गरेको थियो । जिल्लामा हाल १ हजार ५०० हेक्टर क्षेत्रफल जमिनमा अलैँची खेती हुँदै आए पनि एक हजार २०० हेक्टर क्षेत्रफलमा मात्र उत्पादन हुँदै आएको छ ।  

परियोजनाले अलैंँची जोन पकेट क्षेत्रका रुपमा मस्र्यादी गाउँपालिका, बेँसीशहर नगरपालीका, क्व्होलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाइ  घोषणा गरिसकेको छ । सो क्षेत्रमा जिल्लाकै सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ । जिल्लाका किसानले कुनै बेला अलैँची दाना प्रतिकिलो २  हजार २०० सम्ममा विक्री गर्ने गरेका थिए ।

जिल्लामा ७०० मिटरदेखि १  हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही, १ हजार २०० मिटरदेखि १ हजार ६०० मिटर उचाईमा गोलशाही तथा १६ सयदेखि २२ सय मिटर उचाईमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएका छन् ।

जिल्लाका अधिकांश किसानहरूले सुकाएर मात्रै ग्रेडिङ गरी बिक्री गर्ने गरेका छन् । लमजुङको १२ सय मिटरभन्दा माथिल्लो भागमा व्यवसायिक अलैंची खेती हुने गरेको छ । जिल्लामा २० हजारभन्दा बढी कृषकले व्यवसायिक अलैंची खेती गर्दै आएका छन् । जिल्लामा लगाइएको अलैँचीका दानाको माग उच्च रहँदै आएको छ । जिल्लामा उत्पादित अलैँचीका दाना भारतहुँदै विभिन्न देशमा पुग्ने गरेको छ ।