१९ माघ, २०८१ शनिबार

01:56:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाण्डौं महानगरले एक वर्षमा ७ अर्ब ३१ करोड ३५ लाख खर्च गर्यो

Nepal Business

२५ साउन, २०७९

काठमाण्डौं महानगरले एक वर्षमा ७ अर्ब ३१ करोड ३५ लाख खर्च गर्यो

काठमाण्डौं । काठमाण्डौं महानगरले गत आर्थिक वर्ष २०७८÷०७९ मा  ७ अर्व ३१ करोड ३५ लाख २९ हजार ४४२ रुपैयाँ ४७ पैसा खर्च गरेको छ । स्वीकृत १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार रुपैयाँको ४४.२४ प्रतिशत खर्च भएको हो ।

बुधबार राष्ट्रिय सभा गृहमा चलिरहेको वार्षिक समीक्षा बैठकमा वित्त विभागले यो अङ्क प्रस्तुत गरेको हो । 

बैठकमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले समीक्षाबाट गएको बर्षमा भएका कामको तथ्य र तथ्याङ्कीय अवस्था प्राप्त हुने अपेक्षा गर्नुभयो । ‘यस्ता सूचनाबाट राम्रा कामलाई निरन्तरता दिन, कमजोरी सुधार गर्न तथा अभाव कम गराउन मद्दत हुनेछ । यसबाट चालु आर्थिक बर्षको कार्यक्रम कार्यान्वयनमा सहयोग हुनेछ,’ प्रमुख शाहले भन्नुभयो, ‘यस बर्ष स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गराउनुपर्छ ।’

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले, ‘प्रस्तुतिहरुमा समस्यासँगै समाधानका उपाय सुझावका रुपमा आउनु पर्ने औल्याउनुभयो ।’ 

उहाँका अनुसार समीक्षाबाट प्राप्त भएको तथ्यका आधारमा सुधार गर्दै जानुपर्छ । विगतमा देखिएका कमजोरी दोहोरिन दिन नहुने उहाँले बताउनुभयो । 

‘जनप्रतिनिधिले बनाएका नीतिहरु कर्मचारीहरुले प्रभावकारी कार्यान्वयन गराउनुपर्छ । महानगरलाई जनताले हेर्न, देख्न र महसुस गर्ने ठाउँ नै यही हो’, समीक्षामा महानगरका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नविन मानन्धरले, भन्नुभयो, ‘प्राथमिकता र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर चालु आर्थिक बर्षका कार्यक्रम सञ्चालन गर्नु पर्नेछ ।’

गएको वर्ष स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्याङ्कनका लागि समीक्षा बैठक आयोजना गरिएको हो ।

बैठकमा योजना अनुगमन तथा मूल्याङ्कन एकाईका प्रमुख नरेन्द्र विलास बज्राचार्यले बताउनुभयो । बैठकमा विभाग, आयोजना, एकाई, सचिवालय गरी २४ क्षेत्रबाट प्रस्तुतिकरण हुनेछ ।